रामेछापको समाज, राजनीति र इतिहास बुझाउने पुस्तक : ‘आनन्द बजारका घोडा’
- शिवराज खड्का
- ३० श्रावण शनिबार, २०८३ | ०९:३६:०० मा प्रकाशित
काठमाडाैं । देवशंकर पौडेलको ‘आनन्द बजारका घोडा’ केवल आत्मसंस्मरण होइन, रामेछापको सामाजिक, राजनीतिक र सांस्कृतिक इतिहासलाई व्यक्तिगत भोगाइसँग जोडेर अक्षरमा उन्ने प्रयास हो। लेखकका जीवनका आरोह-अवरोह, राजनीतिक यात्रा, गाउँघरका घटना, सामाजिक विभेद, पञ्चायतकालीन प्रशासनका व्यवहारदेखि गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनसम्मका अनेकौँ प्रसङ्ग यस कृतिमा उनिएका छन्।
प्रहरी प्रशासनले ढाक्रेसँग गरेको अनधिकृत कर असुलीविरुद्धको ‘ढाक्रे विद्रोह’, २००८ सालमा युवाब्राह्मणले हलो जोतेको क्रान्ति, स्थानीय विपत्ति तथा गाउँघरका अनेकौँ घटना पुस्तकका उल्लेखनीय प्रसङ्ग हुन्। लेखकले आफूले देखेका, सुनेका र भोगेका कुरालाई मसिनो गरी अक्षरमा उनेका छन्। त्यसैले पुस्तक पढ्दा पाठक घटनाको साक्षी बनेर लेखकसँगै गाउँका बाटाघाटा, चौतारा, बस्ती र राजनीतिक गतिविधिबीच यात्रा गरिरहेको अनुभूति हुन्छ।
कृतिको सुन्दर पक्ष घटना मात्र होइन, घटनासँग जोडिएको समाज हो। विभिन्न रीतिरिवाज, परम्परा, संस्कृति, सामाजिक सम्बन्ध र स्थानीय जीवनशैलीलाई लेखकले संस्मरणका प्रसङ्गसँगै उजागर गरेका छन्। तत्कालीन समयमा राज्य वा प्रशासनबाट समाधान खोज्न कठिन हुने अवस्थामा स्थानीय सामाजिक तथा सांस्कृतिक परम्पराले कसरी समाजलाई भरथेग गर्थ्यो र मानिसमा आत्मविश्वास जगाउँथ्यो भन्ने पक्ष पनि पुस्तकमा देखिन्छ। यसरी हेर्दा लेखकले आफ्नो समयको समाजको ऐना पाठकसामु राखेका छन्।
रामेछापमा कम्युनिष्ट संगठन विस्तारका क्रममा जिल्लाका टोल–टोलसम्म पुगेको आफ्नो अनुभवलाई लेखकले पुस्तकमा महत्त्वका साथ समेटेका छन्। त्यस क्रममा भेटिएका मानिस, भएका कुराकानी, घटेका घटना र स्थानलाई नाम तथा मितिसहित प्रस्तुत गर्नु कृतिको बलियो पक्ष हो। यसले पुस्तकलाई व्यक्तिगत संस्मरणभन्दा केही पर लैजान्छ। गाउँका मानिसका बोली, भोगाइ र सम्झनालाई अभिलेख गरिएकाले ‘आनन्द बजारका घोडा’ रामेछापका थातथलाका कथाहरूको दस्तावेज पनि बनेको छ।
इतिहासलाई खोतल्ने क्रममा लेखकले कतिपय महत्त्वपूर्ण प्रसङ्ग उठाएका छन्। आफू उपप्रधानपञ्च भएको प्रसङ्गलाई पर्याप्त तथ्य र प्रमाणका साथ पुष्टि गर्न नसकेको महसुस पाठकलाई हुन सक्छ। तर पञ्चायतकालीन मञ्चलाई नै प्रयोग गरेर पञ्चायती व्यवस्थाको कमजोरी उजागर गर्ने रणनीति तत्कालीन नेकपा (माले) ले लिएको थियो भन्ने लेखकको तर्कले त्यस समयको राजनीतिक अभ्यास बुझ्ने एउटा दृष्टिकोण भने दिन्छ।
रामेछापको सैपुका पण्डित पौडेलहरूले ‘जयतु संस्कृतम्’ आन्दोलनमा खेलेको भूमिकाको प्रसङ्ग पनि कृतिमा आएको छ। यो विषय थप खोज र अनुसन्धानका लागि महत्त्वपूर्ण सामग्री बन्न सक्छ। यस्ता प्रसङ्गले स्थानीय इतिहास राष्ट्रिय राजनीतिक घटनासँग कसरी जोडिन्छ भन्ने देखाउँछन्।
अगुवा तथा शिक्षकहरूले बालमस्तिष्कमा रोपेको चेतना र क्रान्तिको बीउले मानिसलाई कसरी राजनीतिक यात्रातर्फ डोर्याउँछ भन्ने कुरा लेखकको आफ्नै जीवनकथाबाट प्रस्ट हुन्छ। विद्यार्थी जीवनमा भोगेका दुःख, झमेला र पञ्चायत प्रशासनबाट पाएका दुःखका प्रसङ्गले संस्मरणलाई थप जीवन्त बनाएका छन्। नेविसंघको सदस्य बन्नै लाग्दा भएको एउटा घटनापछि अनेरास्ववियूतर्फ आकर्षित हुँदै कम्युनिष्ट राजनीतिमा जोडिएको प्रसङ्ग रोचक छ। साथीभाइको लहैलहैमा चुरोटको अम्मली बनेको प्रसङ्गदेखि जीवनका अन्य साना–ठूला अनुभवलाई पनि लेखकले लुकाएका छैनन्।
लेखकको राजनीतिक यात्रामा २०५१ सालको मध्यावधि निर्वाचन एउटा महत्त्वपूर्ण मोड बनेर आएको छ। नेकपा एमालेबाट रामेछापमा निर्वाचित भएर संसद् प्रवेश गर्दाको प्रसङ्ग, पहिलोपटक सांसद बनेपछि औपचारिक पोशाक किन्न अरूले गरेको सहयोगलाई समेत लेखकले खुलेर उल्लेख गरेका छन्। यस्ता प्रसङ्गले राजनीतिक जीवनका औपचारिक घटनाभन्दा बाहिरको मानवीय पक्ष उजागर गर्छन्।
दोलखाको च्छोरोल्पा तालसँग जोडिएको जोखिमपूर्ण घटना संसद्मा पहिलोपटक प्रवेश गराएकाे प्रसङ्ग र २०५२ सालमा वीपी राजमार्ग निर्माणका विषयमा संसद्मा गराएको ध्यानाकर्षणसम्मका राजनीतिक गतिविधि पनि कृतिमा समेटिएका छन्। यसले लेखकको व्यक्तिगत राजनीतिक यात्रासँगै रामेछाप र आसपासका क्षेत्रका विकास तथा पूर्वाधारका सवाललाई समेत जोडेको छ।
कृतिको अर्को महत्त्वपूर्ण पाटो तत्कालीन सामाजिक विभेदको चित्रण हो। जातीय विभेद, छुवाछुत, भात पकाउँदा पकाउँदै भाँडा लुकाउनुपर्ने बाध्यता र समाजमा प्रचलित छुवाछुतका अनेकौँ नियमलाई लेखकले स्मरण गरेका छन्। आजका पुस्ताका लागि असहज र अविश्वसनीय लाग्न सक्ने त्यस्ता सामाजिक व्यवहार तत्कालीन समाजको कठोर यथार्थ थिए भन्ने कुरा यस्ता प्रसङ्गले देखाउँछन्।
यद्यपि कृति पढ्दा लेखक पौडेल परिवार र लेखककै वरिपरि कथा बढी घुमेको महसुस पाठकलाई हुन सक्छ। विषयवस्तु उठान फरक ढंगको भए पनि कतिपय ठाउँमा लेखक आफ्नै अनुभव र जीवनकथामा बढी केन्द्रित भएका देखिन्छन्। संस्मरण विधाको स्वभाव नै आत्मकेन्द्रित हुने भएकाले यसलाई पूर्ण कमजोरी भने मान्न सकिँदैन। बरु लेखकले आफ्नै जीवनलाई माध्यम बनाएर एउटा समय र समाजलाई सम्झने प्रयास गरेका छन्।
‘आनन्द बजारका घोडा’को सबैभन्दा उल्लेखनीय पक्ष भनेको इतिहासका सम्झनालाई यति मसिनोसँग अक्षरमा उन्ने प्रयास हो। इतिहास ठूला राजनीतिक घटना र चर्चित पात्रमा मात्र सीमित हुँदैन। गाउँका सामान्य मानिस, उनीहरूका दुःख–सुख, सामाजिक व्यवहार, राजनीतिक चेतना, स्थानीय विद्रोह र व्यक्तिगत स्मृतिमा पनि इतिहास बाँचेको हुन्छ। पौडेलले त्यही स्थानीय इतिहासलाई आफ्नो जीवनयात्रासँग जोडेर लेखेका छन्।
रामेछापको भूगोलमा बामपन्थी राजनीतिले कसरी संगठनको आकार लियो, पञ्चायतकालीन समाजले कस्ता राजनीतिक र सामाजिक बाछिटा भोग्यो र ती अनुभव हुँदै गणतन्त्र स्थापनाको आन्दोलनसम्म समाज कसरी आइपुग्यो भन्ने यात्रालाई संस्मरणका माध्यमबाट लिपिबद्ध गर्नु ‘आनन्द बजारका घोडा’को मूल उपलब्धि हो।
देवशंकर पौडेलको यो चौथो कृति हो। २४३ पृष्ठको पुस्तकको मूल्य ७ सय रुपैयाँ तोकिएको छ भने नेपाल सम्पलायर्स मिडिया प्रालि प्रकाशक रहेको छ। पुस्तकमा लेखकको जीवनकथा मात्रै छैन; एउटा पुस्ताले भोगेको समय, एउटा भूगोलले देखेको राजनीति र एउटा समाजले बेहोरेको परिवर्तनको स्मृति पनि छ। त्यसैले ‘आनन्द बजारका घोडा’लाई रामेछापको स्थानीय इतिहास, सामाजिक परिवर्तन र बामपन्थी राजनीतिक यात्राको संस्मरणात्मक दस्तावेजका रूपमा पढ्न सकिन्छ। यस अर्थमा ‘आनन्द बजारका घोडा’ रामेछापका लागि विशेष पुस्तक हो-किनकि यसमा रामेछापको इतिहास ठूला घटनामा मात्र होइन, गाउँका मानिसका स्मृति, भोगाइ, संस्कार, संघर्ष र राजनीतिक यात्रामा खोजिएको छ। (लेखक पाैडेल नेपाली कम्युनिष्ट पार्टीका ......समेत हुन् ।)
शिवराज खड्का
खड्का गाउँ सहर डटकमका सम्पादक हुन् ।
- केही मान्छे भेटिएर पनि जीवनभर सम्झना बन्छन्
- पुष्पलालको नाममा राजनीति, विचारलाई बिर्सने कम्युनिस्टहरू
- राष्ट्र बैंकमाथि प्रश्न : कसको पहुँचमा छ वित्तीय सेवा?
- सांसदको स्वकीय सचिव : आवश्यकता कि राजनीतिक भर्ती?
- नीति–कार्यक्रमको यथार्थ : पुरानै थेगोको निरन्तरता
- मे दिवसको अर्थ : श्रमिकको पसिना, अधिकार र नेपालको अपूरो प्रतिबद्धता
- आँसुबाट आशासम्म: नयाँ वर्ष २०८३ को उज्यालो यात्रा
- विकासको हुटहुटी: नारा, संरचना र यथार्थबीचको द्वन्द्व
- प्रजातन्त्र दिवस : ऐतिहासिक उपलब्धि र वर्तमान प्रश्न
- किन भनिन्छ शिवलाई “भोले” ? शिवको उत्पति र आधुनिक सन्दर्भमा सन्देश
प्रतिकृया दिनुहोस