पुष्पलालको नाममा राजनीति, विचारलाई बिर्सने कम्युनिस्टहरू
- शिवराज खड्का
- ७ श्रावण बिहीबार, २०८३ | ०८:१५:०० मा प्रकाशित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव, नेपाली कम्युनिस्ट आन्दोलनका वैचारिक शिल्पी तथा दूरदर्शी राजनीतिज्ञ पुष्पलाल श्रेष्ठको जन्म विक्रम संवत् १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा भएको थियो। पिता भक्तलाल श्रेष्ठ र माता तुलसीकुमारी श्रेष्ठका माहिला पुत्र पुष्पलालले राणा शासनको निरङ्कुशताविरुद्ध संघर्ष गर्दै आफ्नो सम्पूर्ण जीवन राष्ट्र, लोकतन्त्र र समाजवादी आन्दोलनका लागि समर्पित गरे।
अमर शहीद गंगालाल श्रेष्ठका भाइसमेत रहेका पुष्पलालले दाजुको बलिदानबाट प्रेरणा लिएर राजनीतिमा प्रवेश गरेका थिए। उनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गरे, नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गरे र २००६ साल वैशाख १० गते भारतको कोलकातास्थित श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको जग बसाले। त्यसैले उनलाई नेपालका सबैजसो कम्युनिस्ट पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक, वैचारिक पथप्रदर्शक र प्रेरणास्रोतका रूपमा स्वीकार गर्छन्।
हरेक वर्ष साउन ७ गते पुष्पलालको स्मृति दिवस मनाइन्छ। विभिन्न कम्युनिस्ट दलहरूले उनको तस्बिरमा माल्यार्पण गर्छन्, श्रद्धाञ्जली सभा आयोजना गर्छन्, विचार गोष्ठी सञ्चालन गर्छन् र उनको योगदानको चर्चा गर्छन्। तर यति धेरै सम्मान र स्मरणका बीच एउटा गम्भीर प्रश्न भने सधैँ अनुत्तरित रहन्छ-के आजका नेपाली कम्युनिस्टहरूले साँच्चै पुष्पलालको विचारलाई आत्मसात् गरेका छन्, वा उनको नामलाई मात्र राजनीतिक वैधताको आधार बनाएका छन्?
पुष्पलालको राजनीतिक जीवन सत्ता प्राप्तिको यात्राभन्दा पनि विचार निर्माणको यात्रा थियो। उनले राजनीतिलाई पद, प्रतिष्ठा वा व्यक्तिगत उन्नतिको माध्यम कहिल्यै मानेनन्। उनका लागि कम्युनिस्ट आन्दोलन भनेको वर्गीय शोषणको अन्त्य, सामाजिक न्यायको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक अधिकारको सुनिश्चितता र वैज्ञानिक समाजवादतर्फ अग्रसर हुने ऐतिहासिक अभियान थियो।
उनले नेपाली समाजको वस्तुगत अवस्थाको अध्ययन गरेर नौलो जनवादी क्रान्तिको अवधारणा अघि सारे। विदेशी सिद्धान्तलाई जस्ताको तस्तै नक्कल गर्नुको सट्टा नेपालको सामाजिक यथार्थअनुसार क्रान्तिको मार्ग तय गर्नुपर्ने उनको स्पष्ट धारणा थियो। यही कारण पुष्पलाल केवल कम्युनिस्ट पार्टीका संस्थापक होइनन्, नेपाली वाम आन्दोलनका मौलिक चिन्तक पनि हुन्।
पुष्पलालको अर्को महत्वपूर्ण विशेषता उनको राजनीतिक दूरदृष्टि थियो। २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार अपदस्त गरी पञ्चायती व्यवस्था लागू गरेपछि उनले लोकतान्त्रिक शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको निष्कर्ष निकाले। कम्युनिस्ट र नेपाली कांग्रेस मिलेर निरङ्कुश शासनविरुद्ध संघर्ष गर्नुपर्ने उनको प्रस्तावलाई त्यसबेला आफ्नै सहकर्मीहरूले दक्षिणपन्थी, संशोधनवादी र गद्दारसम्मको आरोप लगाएर अस्वीकार गरे। तर समयले पुष्पलाललाई नै सही सावित गर्यो।
२०४६ सालको जनआन्दोलनमा कांग्रेस र कम्युनिस्टहरू एउटै मोर्चामा उभिए, पञ्चायती व्यवस्था समाप्त भयो र बहुदलीय लोकतन्त्र पुनःस्थापित भयो। इतिहासले पुष्पलालको दूरदृष्टिलाई प्रमाणित गरिदियो, तर विडम्बना के रह्यो भने उनलाई जीवनकालमै त्यो सम्मान प्राप्त भएन।
पुष्पलालले देखेको कम्युनिस्ट आन्दोलन र आजको कम्युनिस्ट आन्दोलनबीचको दूरी भने दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। उनले विचारलाई केन्द्रमा राखेर संगठन निर्माण गरे, तर आज व्यक्तिलाई केन्द्रमा राखेर पार्टी सञ्चालन गर्ने प्रवृत्ति बलियो बनेको छ। उनले सिद्धान्तलाई सर्वोच्च माने, आज सत्ता र पद सिद्धान्तभन्दा माथि पुगेका छन्। उनले गुटबन्दीभन्दा संगठनलाई महत्व दिए, आज संगठनभन्दा गुट बलिया भएका छन्। उनले जनतालाई राजनीतिको केन्द्रमा राखे, आज धेरैजसो कम्युनिस्ट दलहरू जनताभन्दा सत्ता समीकरणमा बढी केन्द्रित देखिन्छन्। यही कारण कम्युनिस्ट आन्दोलनमाथि वैचारिक विचलन, नैतिक पतन र जनविश्वास गुमाउँदै गएको आरोप बढ्दो छ।
नेपाली कम्युनिस्ट आन्दोलनले सात दशकभन्दा बढीको यात्रामा ऐतिहासिक उपलब्धिहरू पनि हासिल गरेको छ। जनआन्दोलन, गणतन्त्र, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र झण्डै दुईतिहाइ जनमत प्राप्त गर्नु सामान्य उपलब्धि थिएन। तर यति ठूलो जनविश्वासलाई दीर्घकालीन राजनीतिक उपलब्धिमा रूपान्तरण गर्न भने आन्दोलन असफल देखियो। दुईतिहाइ जनमत प्राप्त गरेपछि जनताले स्थिर सरकार, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र समाजवादी दिशामा ठोस कदमको अपेक्षा गरेका थिए। तर त्यसको सट्टा पार्टीभित्रको शक्ति संघर्ष, नेतृत्वको टकराव, गुटबन्दी, विभाजन र संसद् विघटनजस्ता घटनाले जनताको भरोसामाथि गम्भीर चोट पुर्यायो। कम्युनिस्ट आन्दोलनले आफ्नै उपलब्धिलाई आफ्नै हातले कमजोर बनाएको यथार्थबाट इन्कार गर्न सकिँदैन।
आज एमाले, नेपाली कम्यनिष्ट पार्टी (माओवादी केन्द्र-एकीकृत समाजवादी) नेपाल कम्युनिस्ट पार्टीलगायत सबै कम्युनिस्ट धारहरूले पुष्पलाललाई आफ्नो वैचारिक प्रेरणाको स्रोत मान्छन्। तर यदि सबै पुष्पलालका अनुयायी हुन् भने आन्दोलन यति धेरै किन विभाजित छ? यदि सबैले उनको विचारलाई स्वीकार गरेका छन् भने सिद्धान्तभन्दा सत्ता, संगठनभन्दा व्यक्ति र जनताभन्दा पद किन महत्वपूर्ण बन्दै गएको छ? यी प्रश्नहरूबाट भागेर होइन, इमानदार आत्मसमीक्षाबाट मात्र नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो विश्वसनीयता पुनः प्राप्त गर्न सक्छ।
पुष्पलाललाई सच्चा श्रद्धाञ्जली उनको तस्बिरमा फूल चढाएर मात्र हुँदैन। उनको सम्मान तब हुन्छ, जब राजनीति पुनः विचारमा फर्किन्छ, संगठन गुटभन्दा माथि उठ्छ, नेतृत्व नैतिक बन्छ, सत्ता साधन बन्छ र जनता पुनः राजनीतिका केन्द्रमा स्थापित हुन्छन्। अन्यथा, पुष्पलालको नाम जति धेरै उच्चारण गरिए पनि उनको सपना अधुरै रहनेछ। इतिहासले आन्दोलनलाई एउटा अवसर दिएको थियो, जनताले विश्वास दिएका थिए, तर त्यो विश्वास जोगाउने जिम्मेवारी आन्दोलनले पूरा गर्न सकेन।
यतिबेला कम्युनिस्टका नाममा दर्जनौँ राजनीतिक दल अस्तित्वमा छन्। सबैले आफूलाई पुष्पलालको विचारको उत्तराधिकारी र सच्चा कम्युनिस्ट भएको दाबी गर्छन्। तर व्यवहारमा भने विचारभन्दा व्यक्ति, सिद्धान्तभन्दा सत्ता, संगठनभन्दा गुट र जनताभन्दा पदलाई प्राथमिकता दिने प्रवृत्ति हावी भएको देखिन्छ। यही कारण नेपाली कम्युनिस्ट आन्दोलन आज आफ्नो इतिहासकै सबैभन्दा ठूलो वैचारिक संकटबाट गुज्रिरहेको छ।
आज नेपाली कम्युनिस्ट आन्दोलन एउटा गम्भीर आत्मसमीक्षाको मोडमा उभिएको छ। पुष्पलालले देखेको विचार, नैतिकता, त्याग, जनपक्षीय राजनीति र संगठनात्मक अनुशासनको स्थान आज गुटबन्दी, व्यक्तिपूजा, सत्तामोह र अवसरवादले लिँदै गएको आरोप व्यापक रूपमा सुनिन थालेको छ। हरेक वर्ष पुष्पलालको तस्बिरमा माल्यार्पण गरिन्छ, उनका विचारको प्रशंसा गरिन्छ, तर व्यवहारमा भने उनैले देखाएको मार्गबाट आन्दोलन क्रमशः टाढिँदै गएको अनुभूति जनताले गरिरहेका छन्। यदि कम्युनिस्ट आन्दोलनले अब पनि आफ्नो विगतबाट पाठ सिक्दै विचारलाई केन्द्रमा राखेर आत्मसमीक्षा गर्न सकेन भने पुष्पलालको सपना मात्र अधुरो रहने छैन, नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विश्वसनीयता पनि गम्भीर संकटमा पर्नेछ। आखिर, पुष्पलालको नाम दोहोर्याएर मात्र पुग्छ, कि उनको विचारलाई व्यवहारमा उतार्ने बेला अब पनि आएन र?
शिवराज खड्का
खड्का गाउँ सहर डटकमका सम्पादक हुन् ।
- रामेछापको समाज, राजनीति र इतिहास बुझाउने पुस्तक : ‘आनन्द बजारका घोडा’
- केही मान्छे भेटिएर पनि जीवनभर सम्झना बन्छन्
- राष्ट्र बैंकमाथि प्रश्न : कसको पहुँचमा छ वित्तीय सेवा?
- सांसदको स्वकीय सचिव : आवश्यकता कि राजनीतिक भर्ती?
- नीति–कार्यक्रमको यथार्थ : पुरानै थेगोको निरन्तरता
- मे दिवसको अर्थ : श्रमिकको पसिना, अधिकार र नेपालको अपूरो प्रतिबद्धता
- आँसुबाट आशासम्म: नयाँ वर्ष २०८३ को उज्यालो यात्रा
- विकासको हुटहुटी: नारा, संरचना र यथार्थबीचको द्वन्द्व
- प्रजातन्त्र दिवस : ऐतिहासिक उपलब्धि र वर्तमान प्रश्न
- किन भनिन्छ शिवलाई “भोले” ? शिवको उत्पति र आधुनिक सन्दर्भमा सन्देश
प्रतिकृया दिनुहोस