किन भनिन्छ शिवलाई “भोले” ? शिवको उत्पति र आधुनिक सन्दर्भमा सन्देश
- शिवराज खड्का
- ३ फाल्गुण आइतबार, २०८२ | ०७:५०:०० मा प्रकाशित
भस्मासुरको कथा
हिमालयको काखमा, शान्त समाधिमा लीन एक महायोगी-जटा जटिल, शरीरभरि भस्म, गलामा नाग, हातमा त्रिशूल। ती हुन् -शिव । जसलाई संसारले प्रेमपूर्वक “भोलेनाथ” भन्छन् ।एक समय भस्मासुर नामका असुरले कठोर तपस्या गर्यो। वर्षौँसम्म उपवास, ध्यान र एकाग्र साधनापछि शिव प्रसन्न भए। “वर माग,” महादेवले भने।
असुरले चालाखीपूर्ण वर माग्यो-“जसको टाउकोमा म हात राखूँ, ऊ तुरुन्तै भस्म होस्।”
भोलेनाथले बिना छलकपट त्यो वरदान दिए।
तर वरदान पाउँदा पाउँदै भस्मासुरको मनमा अहंकार जाग्यो। उसले स्वयं शिवमाथि नै त्यो शक्ति प्रयोग गर्न खोज्यो। संकट आयो। देवगण आत्तिए। अन्ततः विष्णुले मोहिनी रूप धारण गरी असुरलाई नाच्न लगाए। मोहिनीले टाउकोमा हात राख्ने मुद्रासहित नाचिन्, भस्मासुरले त्यही दोहोर्यायो र आफ्नै टाउकोमा हात राख्दै भस्म भयो।
यो कथा केवल पौराणिक रोचकता होइन; यो दार्शनिक सन्देश हो। शिवको भोलोपन दया हो, तर शक्तिको दुरुपयोग अन्ततः आत्मविनाशको कारण बन्छ। महाशिवरात्रिको दिन यो कथा स्मरण गर्नुको अर्थ हो—शक्ति पाउँदा विवेक चाहिन्छ, भक्ति पाउँदा विनम्रता चाहिन्छ।
यो कथाले देखाउँछ- शिव दयालु र निष्कपट थिए । उनी भक्तको तपस्या र भक्ति हेरेर वरदान दिन्छन्, तर दुरुपयोग अन्ततः स्वयं नाशको कारण बन्छ।
महाशिवरात्रि पर्व
आज महाशिवरात्रि पर्व । पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ ।
शिवको अर्थ हुन्छ– कल्याण । भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ । त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन् । जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि ।
शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ । यसै दिन शिव पार्वतीको विवाह भएको थियो । यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए ।
शिवको एक गहिरो अर्थ छ, जो केवल खोजी गर्नेहरुको लागी उपलब्ध छ । धेरै आख्यान र दन्त्यकथा आध्यात्मिक संस्कृति, महादेव शिवको सबैभन्दा महत्त्वपूर्ण देवताको बारेमा धार्मिक व्यक्तिहरू हिन्दू संस्कृतिमा शिवको एक गहिरो रहेकाे बताउँछन । जो केवल सत्यको खोजमा रहेकाहरुको लागि उपलब्ध छन् ।
भगवान शिवको उत्पति
भगवान शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ । तर पुराणहरुमा भगवान शिवको उत्पत्ति बारेको प्रसंगहरु पाइन्छ ।
हिन्दू धर्मग्रन्थ विष्णु पुराणका अनुसार भगवान ब्रह्मा, भगवान विष्णुको नाभि(नाइटो) कमलबाट उत्पत्ति भएका हुन् भने भगवान शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् ।
विष्णु पुराणका अनुसार शिरको तेजबाट उत्पन्न भएका कारण शिव सधै योगमुद्रामा रहन्छन् ।
श्रीमद् भागवतका अनुसार एक पटक जब भगवान विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान शिव प्रकट भएका थिए ।
विष्णु पुराणमा वर्णन गरिए अनुसार शिवलाई आफ्नो जन्मबारे आफैंलाई मात्र थाहा छ ।
तर यसमा एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको जरुरत थियो । यसका लागि उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए ।
रुँदै गरेका बालकलाई भगवान ब्रह्माले रुनुको कारणबारे सोधे । तब त्यो बालकले आफ्नो नाम नभएका कारण रुनुपरेको बताए ।
त्यसपछि भगवान शिवले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । शिव त्यसपछि पनि चुप लागेनन् । यसपछि ब्रह्माले फेरि अर्को नाम दिए तर पनि शिव भगवान रुन छोडेनन् । आजित भएका ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव यी ८ नाम बह्माले राखे । शिव पुराणका अनुसार यो नाम पृथ्वीमा लेखिएको थियो ।
शिवले ब्रह्माको पुत्रको रुपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव वाहेक अरु कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटो(नाभी)बाट कमलको डाठमा ब्रह्मा जी प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए । ब्रह्माले उनलाई चिन्न इन्कार गरे । तब शिव रिसाउने डरले विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए ।
ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रुपमा जन्म लिने आशिर्वाद माग्न थाले । जब ब्रह्माले सृष्टिको रचना शुरु गर्न थाले तब उनलाई एक बच्चाको जरुरत पर्यो तब उनले भगवान शिवले दिएको आशिर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रुपमा आफ्नो काखमा पाए ।
‘शिव’ को अर्थ
″शिव” को शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ । अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो । त्यसमा भएका आकाशगंगाहरू सानातिना गतिविधिहरू मात्र हुन्- छिटाहरू जस्तै । बाँकी सबै विशाल खालीपन हो, जसलाई ″शि–व″ भनिन्छ । शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छ; शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोस्दछ । सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन् ।
के हो शिव स्वरुपको अर्थ ?
शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ । आखिर शिव भगवानलाई यस्तो रुप दिनुको के अर्थ होला ?
शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो ।
त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।
शिव : विनाशका देवता कि पुनर्सृजनाका आधार?
हिन्दु दर्शनमा त्रिमूर्ति अवधारणा छ-ब्रह्मा (सृष्टि), विष्णु (स्थिति), शिव (संहार)। तर “संहार” शब्दले मात्र नकारात्मक अर्थ दिनु हुँदैन। शिवको विनाश पुरानो, जर्जर र अन्यायपूर्ण संरचनाको अन्त्य हो, ताकि नयाँ सृजनाको मार्ग खुलोस्।
शिव ताण्डव नाच्दा त्यो केवल प्रलयको संकेत होइन; त्यो सृष्टि–स्थिति–संहारको चक्र हो। विनाश र सृजनाको अनवरत प्रवाह।
उहाँको शरीरमा लगाइने भस्म नश्वरताको स्मरण हो। आज जे छ, भोलि भस्म हुन्छ। त्यसैले अहंकार किन? यही दर्शनले शिवलाई अन्य देवताभन्दा अलग बनाउँछ—उहाँ शक्ति र शून्यता दुवैका प्रतीक हुन्।
भोलेनाथ : सरलता र करुणाको प्रतीक
शिवलाई “भोलेनाथ” किन भनिन्छ?
पहिलो कारण: उहाँ छिट्टै प्रसन्न हुन्छन् । सानो बेलपत्र, एक लोटा जल, सच्चा मनको जप-यति भए पुग्छ। कुनै भव्य यज्ञ, महँगो चढावा अनिवार्य छैन।
दोस्रो: उनी भेदभाव गर्दैनन्। देव, दानव, मानव-सबैको तपस्यामा समान प्रतिक्रिया। भस्मासुरको कथा यसैको उदाहरण हो।
तेस्रो: उनी त्यागी योगी हुन्। हिमालयमा बस्ने, भौतिक वैभवबाट टाढा रहने, साधारण जीवन जिउने।
यो भोलोपन मूर्खता होइन; यो अहंकाररहित करुणा हो। आजको प्रतिस्पर्धात्मक समाजमा जहाँ चातुर्य र स्वार्थले सम्बन्ध निर्धारण गर्छ, शिवको भोलोपन मानवताको स्मरण हो।
शिव–पार्वती : शक्ति र चेतनाको मिलन
शिव बिना शक्ति अधूरा, शक्ति बिना शिव निष्क्रिय। पार्वती शक्ति हुन्—ऊर्जा, सृजनाशीलता, मातृत्व। शिव चेतना, ध्यान, स्थिरता।
महाशिवरात्रिलाई शिव–पार्वती विवाह दिवसका रूपमा पनि मानिन्छ। यसको सांकेतिक अर्थ हो—चेतना र शक्तिको मिलन। जीवनमा ध्यान र कर्म, भावना र विवेक, शक्ति र संयम यी सबै सन्तुलित हुँदा मात्र पूर्णता सम्भव हुन्छ।
नेपाल र पशुपतिनाथ : आस्थाको महासागर
नेपाल शिवभूमि मानिन्छ। यहाँको धार्मिक–सांस्कृतिक जीवनमा शिवको विशेष स्थान छ। त्यसको केन्द्र हो- पशुपतिनाथ मन्दिर
बागमती नदीको किनारमा अवस्थित यो विश्वसम्पदा सूचीमा सूचीकृत मन्दिर केवल वास्तुकला होइन; यो आस्थाको धड्कन हो।
महाशिवरात्रिको दिन यहाँ लाखौं श्रद्धालुहरू भेला हुन्छन्। नेपालका कुनाकाप्चाबाट मात्र होइन, भारत र अन्य देशबाट समेत साधु–सन्त, नागा बाबा, तीर्थयात्री आउँछन्।
मन्दिर परिसरमा बिहानैदेखि लामो लाइन लाग्छ। घुइँचो, सुरक्षा व्यवस्था, स्वयंसेवकको सक्रियता सबै मिलेर एउटा जीवित उत्सवको दृश्य सिर्जना गर्छ।
धूप–दीपको सुगन्ध, “हर हर महादेव” को घोष, ढोल–नगाडाको ताल, आरतीको उज्यालो यी सबैले वातावरण आध्यात्मिक बनाउँछन्।
पशुपतिनाथमा लागेको घुइँचो केवल धार्मिक भीड होइन; त्यो सामूहिक आस्थाको ऊर्जा हो। अपरिचित मानिसहरू एक–अर्कालाई सहयोग गर्दै लाइनमा उभिन्छन्। भक्ति मानिसलाई क्षणभरका लागि बराबरी बनाउँछ त्यहाँ न धनी–गरिबको भेद, न पद–प्रतिष्ठाको।
पशुपति नाथकै दर्शन किन गर्ने त ? चार धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउँछन् । पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ । पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले मानिसहरु पशुपति नाथको दर्शन गर्छन् ।
फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान पशुपतिनाथकै प्रिय दिन, व्रतहरुको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्वपूर्ण दिनका रुपमा लिन्छन् ।
पूजा गर्ने विधि
भगवानको दर्शन कामना लिएर मात्र गरिन्न । व्रत अपेक्षासाथ गरिएको छ भने साधकले विहान उठेर नुहाउनुपर्छ । सकिन्छ निराहार सकिँदैन फलाहार गरेर षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ । शिवस्त्रोत्र पाठ, ध्यान, जप, शिवकिर्तन, महिमागान गर्ने वा ‘नमः शिवाय’ नामक पञ्चाक्षरी मन्त्र मात्रको जपले पनि शिव प्रसन्न हुनुहने र इच्छित कामना पूर्ण हुने उपप्राध्यापक पौडेलले बताए ।
पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिंगोद्भव मूर्तिलाई महले र तत्पुरुष मूर्तिलाई शर्कराले स्नान गराइन्छ । मध्यरात शिवधुनी जगाइन्छ ।
शिवधुनी नै किन ?
शिवरात्रिका दिन शिवधुनीमा साधकहरु मन्त्रमुग्ध हुन्छन् । व्रतालुले रातभर जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ । व्रत बस्नेले राति जाग्राम बसेपछि मात्र व्रत पूर्ण हुने भएकाले साधक रातभर जाग्राम बस्नुपर्ने उपप्राध्यापक पौडेले बताए । शिवरात्रिको दिन कम्तीमा तीन प्रहरसम्म शिवको पूजा गरिछ । ४–४ घण्टाको फरकमा पूजा गर्ने शास्त्रीय विधि छ । शास्त्रमा यस्तो लेखिएको छ–
फाल्गुणे कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ । तर रात्रिमा जाग्राम बस्ने नाममा विष, भांग धतुरो खाएर लट्ठ हुने बानी भने धर्मका नाममा भित्रिएको विकृति हो ।
यसरी भयो प्रारम्भ
पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो ? भन्ने विषयमा विवाद भयो । विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे । त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रुपमा प्रकट भए । पुराणमा भनिएको छ– ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः ।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए । यो लिंग निराकार ब्रह्मको प्रतीक हो ।
दुवैले त्यस लिंगको पूजा गरीसकेपछि भने– ‘हे भगवान, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरुले पूजा कसरी गर्नेछन् ? यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रुपमा विभक्त भए । त्यसदिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रुपमा चल्दै आएको छ ।
पशुपतिनाथ त हरेक हिन्दुले एक पटक दर्शनको कामना गरेरै विश्वबजारबाट आउने गरेको डा. टण्डनले स्पष्ट पारे । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन् । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । भगवान शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।
साधु–संन्यासी र शिवरात्रिको रंग
शिवरात्रिमा पशुपतिनाथ परिसर साधु–संन्यासीले भरिन्छ। शरीरभरि भस्म, जटाधारी, रुद्राक्षमाला धारण गरेका नागा बाबा शिवकै प्रतिरूपझैँ देखिन्छन्।
उनीहरूको उपस्थितिले शिवको तपस्वी रूप सम्झाइदिन्छ। यद्यपि आधुनिक समाजमा कतिपय विकृत अभ्यासहरू पनि देखिन्छन्, तर समग्रमा साधु परम्परा शिव–भक्तिको ऐतिहासिक निरन्तरता हो।
सामाजिक–आर्थिक आयाम
महाशिवरात्रि केवल आध्यात्मिक पर्व मात्र होइन; यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउँछ।
फूल, बेलपत्र, धूप, प्रसाद बेच्ने साना व्यापारीहरूको आम्दानी बढ्छ। होटल, यातायात, हस्तकला बजार सक्रिय हुन्छ। धार्मिक पर्यटनको महत्त्व यस दिन प्रस्ट देखिन्छ।
तर भीड व्यवस्थापन, सरसफाइ, सुरक्षा चुनौती पनि उत्तिकै गम्भीर हुन्छ। बागमती किनारको फोहोर व्यवस्थापन, ट्राफिक जाम, अत्यधिक भीड—यी प्रश्नले प्रशासन र समाज दुवैलाई जिम्मेवार बनाउँछन्।
आधुनिक सन्दर्भमा शिवको सन्देश
आजको युग प्रविधि, उपभोग र प्रतिस्पर्धाको युग हो। मानिस तनाव, असन्तुलन र अहंकारको शिकार हुँदैछ।
शिवको ध्यानमग्न मुद्रा भन्छ-“भित्र फर्क।”
भस्मले सम्झाउँछ-सबै अस्थायी छ।
त्रिशूलले देखाउँछ-इच्छा, क्रोध र मोहलाई नियन्त्रण गर।
महाशिवरात्रि आत्मपरिवर्तनको अवसर हुनुपर्छ, केवल एकदिनको अनुष्ठान होइन। भोलेनाथको सरलता, करुणा र ध्यानमय जीवनशैली हाम्रो जीवनमा उतार्न सकौं। (विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे)
हर हर महादेव!
शिवराज खड्का
खड्का गाउँ सहर डटकमका सम्पादक हुन् ।
- रामेछापको समाज, राजनीति र इतिहास बुझाउने पुस्तक : ‘आनन्द बजारका घोडा’
- केही मान्छे भेटिएर पनि जीवनभर सम्झना बन्छन्
- पुष्पलालको नाममा राजनीति, विचारलाई बिर्सने कम्युनिस्टहरू
- राष्ट्र बैंकमाथि प्रश्न : कसको पहुँचमा छ वित्तीय सेवा?
- सांसदको स्वकीय सचिव : आवश्यकता कि राजनीतिक भर्ती?
- नीति–कार्यक्रमको यथार्थ : पुरानै थेगोको निरन्तरता
- मे दिवसको अर्थ : श्रमिकको पसिना, अधिकार र नेपालको अपूरो प्रतिबद्धता
- आँसुबाट आशासम्म: नयाँ वर्ष २०८३ को उज्यालो यात्रा
- विकासको हुटहुटी: नारा, संरचना र यथार्थबीचको द्वन्द्व
- प्रजातन्त्र दिवस : ऐतिहासिक उपलब्धि र वर्तमान प्रश्न
प्रतिकृया दिनुहोस