आँसुबाट आशासम्म: नयाँ वर्ष २०८३ को उज्यालो यात्रा
- शिवराज खड्का
- १ बैशाख मंगलबार, २०८३ | ०८:०२:०० मा प्रकाशित
विक्रम संवत् २०८२ हाम्रो देशका लागि केवल समयको एक अध्याय मात्र थिएन, त्यो पीडा, आक्रोश र आत्ममन्थनको वर्ष थियो। सडकमा उत्रिएको जनआक्रोश, भत्किएका संरचना मात्र होइन-त्यो भत्किएको विश्वासको प्रतीक थियो। भदौ २३ र २४ का दिनहरूले हामीलाई एउटा कठोर यथार्थ देखाए । जब राज्य र जनताबीच दूरी बढ्छ, त्यसको परिणाम कति भयावह हुन सक्छ।
तर, यही अँध्यारोबीच एउटा सानो उज्यालो पनि देखियो। संकटपछि देश फेरि उठ्ने प्रयासमा लाग्यो। निर्वाचन भयो, नयाँ अनुहारहरू उदाए, युवाको आवाज संसद्सम्म पुग्यो। त्यो केवल राजनीतिक परिवर्तन मात्र थिएन, त्यो आशाको पुनर्जन्म थियो। जनताले देखाए-अझै पनि उनीहरू विश्वास गर्न चाहन्छन्, परिवर्तन सम्भव छ भन्नेमा उनीहरू आस्थावान छन्।
अब, नयाँ वर्ष २०८३ हाम्रो ढोकामा आएको छ- नयाँ सुरुवातको सन्देश लिएर। यो वर्ष हामीलाई केवल खुशी साट्ने अवसर होइन, आफैँलाई सोध्ने समय पनि हो । के हामीले विगतबाट केही सिक्यौँ? के अब हामीले सही दिशामा पाइला चाल्न सक्छौँ?
आज देशका लाखौँ युवाका आँखामा सपना छन्, तर ती सपना धेरैपटक बाध्यता र निराशाबीच हराइरहेका छन्। विदेश जाने बाटो मात्र विकल्प बनेको यथार्थले हामी सबैलाई चिमोटिरहेको छ। तर, अब समय आएको छ- देशमै अवसर सिर्जना गर्ने, आफ्नै माटोमा पसिना बगाउने र भविष्य निर्माण गर्ने। युवाको ऊर्जा, सोच र साहसलाई सही दिशा दिन सके, यही देश सम्भावनाको केन्द्र बन्न सक्छ।
हाम्रो देश विविधताले भरिएको छ- हिमालको चिसो हावा, पहाडको संघर्ष र तराईको उर्वरता सबैको आफ्नै कथा छ। त्यसैले विकास पनि एउटै ढाँचामा सम्भव छैन। जनताको वास्तविक आवश्यकतामा आधारित योजना र स्थानीय सहभागिता नै समृद्धिको बाटो हो।
महिलाको आवाज, जो वर्षौंदेखि दबिएको छ, अब नेतृत्वमा रूपान्तरण हुनुपर्छ। जब घरभित्र सीमित शक्ति समाज र राष्ट्र निर्माणमा प्रयोग हुन्छ, तब मात्र साँचो विकास सम्भव हुन्छ।
तर, यी सबै सम्भावनाबीच एउटा तीतो यथार्थ पनि छ- भ्रष्टाचार। यसले केवल स्रोतसाधन मात्र होइन, विश्वास पनि चोर्छ। त्यसैले अबको यात्रा इमानदारी, पारदर्शिता र उत्तरदायित्वको हुनुपर्छ।
सञ्चार क्षेत्र, जसले सधैं सत्यको पक्ष लिन्छ, आज आफैं संकटमा छ। तर, यिनै चुनौतीबीच पनि सत्य बोल्ने हिम्मत हराउनु हुँदैन।
गाउँसहर डटकम सधैंझैँ नागरिकको पक्षमा उभिनेछ, आवाजविहीनहरूको आवाज बन्नेछ र सत्यको बाटोबाट कहिल्यै विचलित हुने छैन।
नयाँ वर्ष २०८३ केवल पात्रो फेरिने दिन होइन । यो आशा पुनर्जीवित गर्ने क्षण हो। यो हामी सबैलाई सम्झाउने अवसर हो । परिवर्तन अरूले होइन, हामी आफैंले ल्याउने हो। साना प्रयासहरूबाट ठूलो परिवर्तन सम्भव हुन्छ।
आउनुहोस्, यो वर्षलाई केवल कामनामा सीमित नराखौँ। यसलाई कर्म, प्रतिबद्धता र सकारात्मक सोचको वर्ष बनाऔँ।
अन्ततः, नयाँ वर्ष २०८३ ले प्रत्येक नेपालीको जीवनमा उज्यालो ल्याओस्, निराशालाई आशामा बदलोस् र देशलाई स्थिरता, सुशासन र समृद्धिको मार्गमा अघि बढाओस्।
सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनी, पाठक, शुभेच्छुक र विज्ञापनदातामा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
सम्पादक
शिवराज खड्का
गाउँसहर डटकम
शिवराज खड्का
खड्का गाउँ सहर डटकमका सम्पादक हुन् ।
- नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित, उनका चार प्रमुख चुनौती
- जेन–जीको रगतले जन्माएको सरकारसँग अब जनताको प्रश्न
- रामेछापको समाज, राजनीति र इतिहास बुझाउने पुस्तक : ‘आनन्द बजारका घोडा’
- केही मान्छे भेटिएर पनि जीवनभर सम्झना बन्छन्
- पुष्पलालको नाममा राजनीति, विचारलाई बिर्सने कम्युनिस्टहरू
- राष्ट्र बैंकमाथि प्रश्न : कसको पहुँचमा छ वित्तीय सेवा?
- सांसदको स्वकीय सचिव : आवश्यकता कि राजनीतिक भर्ती?
- नीति–कार्यक्रमको यथार्थ : पुरानै थेगोको निरन्तरता
- मे दिवसको अर्थ : श्रमिकको पसिना, अधिकार र नेपालको अपूरो प्रतिबद्धता
- विकासको हुटहुटी: नारा, संरचना र यथार्थबीचको द्वन्द्व
प्रतिकृया दिनुहोस