सेवा

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट

काठमाडौँ। नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले इन्टरनेट, मोबाइल डाटा, भ्वाइस तथा एसएमएस सेवामा विभिन्न छुट र सहुलियतसहितका प्याकेज उपलब्ध गराउने जनाएको छ।

नेपाल टेलिकमको सूचना तथा प्रकाशन शाखाका अनुसार अफर आगामी असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।

अफरअन्तर्गत नयाँ एफटीटीएच (FTTH) प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्कमा ५०० रुपैयाँ छुट दिइनेछ। त्यसैगरी, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा प्राप्त गर्नेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि एक हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ। यो सुविधा पनि अफरअन्तर्गत उपलब्ध हुनेछ।

मोबाइल सेवातर्फ जीएसएम प्रयोगकर्ताका लागि ४९९ रुपैयाँमा ५ जीबी र ६९९ रुपैयाँमा १० जीबी डाटासहितका फेस्टिभल अनलिमिटेड तथा फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज उपलब्ध हुनेछन्।

फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले दैनिक पाँच जीबी डाटा भोल्युम प्रयोग गरेपछि बाँकी अवधिमा दुई एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी, फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गरेपछि बाँकी अवधिमा तीन एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, २५० रुपैयाँमा एक हजार मिनेट अन–नेट भ्वाइस सुविधासहितको जोडी मिनेट्स प्याकेज र ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधासहितको फेस्टिभ म्यासेज प्याकेज पनि उपलब्ध हुनेछन्। यी प्याकेज प्रयोगकर्ताले खरिद गरेको मितिदेखि ३० दिनसम्म प्रयोग गर्न सक्नेछन्।

नेपाल टेलिकमका अनुसार ग्राहकले असोज ३० देखि कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गरी अफरको लाभ लिन सक्नेछन्। प्याकेज खरिद गर्न मोबाइलबाट 141511# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सकिनेछ।

कम्पनीले चाडपर्वको अवसरमा ग्राहकलाई सञ्चार सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले विभिन्न प्याकेज सार्वजनिक गरेको जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत