दृष्‍टिकोण

कोरोना कहरमा घरभित्र थुन्ने शासकले नपढेका ‘अमर्त्य सेन र रोबर्ट चेम्बर्स’

[गरिबलाई माछा खान भन्दापनि माछा मार्न सिकाऊ]

विश्व अहिले कोरोनाभाइरसको कहरमा छ । जान्ने तथा नजान्ने सबै यहि विषयमा केन्द्रित हुनु परेको छ । यसले विश्वलाई महामारीमा पटक-पटक सुध्रने र सकिएपछि पुनः बिग्रने मानवीय क्षणिकपनालाई न्यून गर्ला कि नगर्ला भन्ने सोच र चिन्तनमा पुगेका छौँ । अघिल्ला महामारीले विश्वका केहि मुलुकमा राम्रो शिक्षा दिएपनि अधिकांशतले वास्ता नगरेका कारण जनसँगै धनको क्षति थामिनसक्नु देखिएको छ । 

यहि कहरमा दुई चिन्तकलाई नसम्झिइरहन सकिएन ।

सम्झनलायक पहिलो चिन्तक रोबर्ट जोन हेलक चेम्बर्स अर्थात छोटकरीमा रोबर्ट चेम्बर्स सायद नाम नसुनेका हामी कोहिपनि छैनौँ । उनी ब्रिटिस नागरिक हुन र विकासका चिन्तक पनि हुन् । उनले लेखेको पुस्तक “रुरल डेभलपमेन्टः पुटिङ्ग द लास्ट फस्ट” अर्थात्ः ग्रामीण विकासः पुच्छारकालाई पहिला राख । संसारभर सबैभन्दा लोकप्रिय विकासे पुस्तक मानिन्छ । यो पुस्तक १९५९ मा पहिलोपटक प्रकाशित भएको थियो । ग्रामीण गरिबी दुर गर्दै ग्रामीण विकास गर्नको लागि सबैभन्दा पहिले ‘लिस्ट, लास्ट, लोएस्ट र लस्ट’ अर्थात्ः केही, पुच्छारका, न्यून र हराएका जनतालाई समेटनुपर्ने कुरा समेटिएको छ । पुच्छारमा रहेका जनताको जबसम्म जीवनस्तरमा सुधार ल्याउन सकिँदैन तबसम्म देश विकास हुनै सक्दैन भन्ने यो पुस्तकको मुख्य पाटो हो । उनले ति जनतलाई अवसर, सशक्तिकरण सुरक्षा दिनुपर्ने बताएका छन् ।

यो त एउटा पुस्तक मात्र भयो जसको प्रकाशन भएपनि हाम्रोजस्तो मुलुकमा ग्रामीण जनता जो पुच्छारमा छन तिनलाई प्रथमत व्यवहार दिइएन र त्यसकै लागि आज लडिरहनुपरेको छ । शासकले यो पुस्तक पढेर साँच्चैको सिंहदरबार गाउँमा पुर्याएको थिए भने ए पढेका रहेछन भन्नु हुन्थ्यो तर विडम्बना पढेनछन् । यहि भएर सामन्ती सोच र व्यवहारमा परिवर्तन अहिलेसम्म आएन, यी देखिएका दृश्यहरु केवल सो केश मात्र हुन् । कोरोनाको यो महामारीमा झनै खुलस्त भएको छ, कसलाई प्राथमिकतामा राख्यो सरकारले र गरिब जनताको हविगत के हुँदैछ ? छर्लङ्गै भएको छ । विकासको नारालाई केवल डोजरमा सीमित गरियो ।

यस्तै अर्का चिन्तक, अमर्त्य कुमार सेन एउटा भारतीय अर्थशास्त्री तथा दार्शनिक हुन् जो सन् १९७२ देखि संयुक्त राज्य अमेरिका तथा संयुक्त अधिराज्यका विभिन्न विश्वविद्यालयमा पढाउने कार्य गर्दै आएका छन् । उनलाई सन् १९९८ मा अर्थशास्त्रमा योगदानको लागि अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो । 

उनले लेखेको पुस्तक “डेभलपमेन्ट एज फ्रिडम” जसमा विकासको लागि स्वतन्त्रताको वकालत गरे । उनले आधारभूत आवश्यकताको पूर्ति, आत्मसम्मान र स्वतन्त्रतालाई विकासको कडि मानेका छन् । उनको यहि पुस्तकलाई मन्त्र मानेर विश्व अगाडि बढेको छ तर विकासोन्मुख देश त्यसमा पनि हामी जनतालाई कोठामा थुनेर विकास भन्ने शब्दको उच्चारण गर्दै हिँडेका छौँ ।

आज यो कोरोनाले प्रताडित बनाएको समयमा सेनलाई नसम्झने विकासप्रेमी सायदै नहोलान् । उनले लेखेको त्यो स्वतन्त्रता त्यसै लेखेका थिएनन होला, घरभित्र बसेर रोगसँग लड्नुपर्ने दिनमा यो स्वतन्त्रताको उत्तिकै अभाव खड्किएको छ । रोग, भोक, अभावले जकेडिएको र बन्द कोठाबाट अहिले हामी कोरोनासँग लडिरहेका छौँ । के यो सम्भव छ ? यसले के नतिजा ल्याउला ? सोच्दापनि टाउको फुट्ला जस्तै हुन्छ ।

वैश्विक आंकडाले आठ लाखको ज्यान कोरोनाको नाममा दर्ज गराइसकेको छ । नेपालमा मात्रै पछिल्लो तथ्यांक अनुसार ३१२ जनाको नाम दर्ता भएको छ । कोरोनाको कहर जति बढ्दैछ उति नै अन्य रोगी र आत्महत्याको दरपनि बढ्दै गएको छ । विकासोन्मुख देशमा साँच्चैको कहर नै देखिएको छ । हामी यो बेलामा निकै आत्तिएका छौँ किनकी हामी संरचनागत रुपमा धेरै पछि छौँ । हरेक क्षेत्रमा बढेको अनियमितता र बेथितिले संरचनागत विकासमा कहिल्यै ध्यान दिएका छैनौँ र आत्तिनुपरेको छ । विपत्तमा सरकारको तयारीलाई लिएर अनेक गुनासाका चाङ थुप्रिएका छन् तर गरेँ भन्न छाड्दैनन् त्यहिपनि जनतालाई घरमा थुनेर ।

६ महिनादेखि जनताका क्रियाकलाप प्रायः ठप्प छन्, यो बेला पनि सरकारको राजश्व वृद्धि थामिनसक्नु छ । हार गुहारमा जनता छन्, हरेक पक्षको चिन्ता थपिएको छ तर कोरोनासँग अब खुलेर वा नियम पालना गरेर लड्ने भन्ने क्षमता सरकारले देखाउन सकेको छैन । अथवा घरमा जनता बस म पुर्याउँछु पनि भन्न सकेको छैन सरकारले । अब भन्नुहोस् के खाएर, के तिरेर, के गरेर जनताले कोरोनासँग भिड्ने ? यो अवस्थामा कोरोना जसरी पनि मान्छेको अगाडि हुन्छ र जनताले कुनैपनि हालतमा उसँग लड्ने क्षमताको विकास गर्न सक्दैन ।

यहि भएरपनि कोरोना कहरले सबैलाई यी दुई चिन्तकहरुलाई सम्झने पुनः मौका दिएको छ । यदि उनीहरुले भनेजस्तै पुच्छारका व्यक्तिलाई हामीले उत्थान, अवसर र सुरक्षा दिन सकिएको भए आज यो विषम अवस्था आउँदैनथियो । जनताले खुट्टा टेकिसकेका हुने थिए । सरकारको आशा गरेर बस्दैनथे । तर हेर्नुहोस त आज हरेक गाउँ र सहरमा भोकमरीको अवस्था आइसकेको छ । तथ्यांकले पनि करिब ७ खर्बको नोक्सानी बेहोरिसकेको छ । यसको असर अब कति समयसम्म लम्बिने हो र चिन्ताले कतिको ज्यान जाने हो तपाईं हाम्रो अनुमानभन्दा बाहिर छ ।

यस्ता महामारी त आइनैरहने हो भनेर विश्व स्वास्थ्य संगठनले पटक पटक चेतावनी दिइसकेको छ र उसले संरचनागत सुधारमा व्यापक लगानी गर्न सम्पूर्ण देशहरुलाई आह्वानसमेत गरिसकेको यो परिस्थितिमा हामीले तयार गर्नुपर्ने कुराहरु त धेरै छन् । अहिलेसम्मको हेलचेक्राइँले यो विषम समयमा जनताले धेरै आफैँलाई धिक्कारेका छन् । यो अवस्था यसकारण आइरहेको छ कि शासकको शासन गत्तिलो र दिगो देखिएन र भएन ।

हे शासकहरुको हो अब त सुध्र, रोगसँग लुकेर वा बन्द कोठाबाट होइन गरिबलाई बलियो बनाऊ, संरचनागत विकास गर, अवसर पैदा गराउ अनिमात्र लड्न सहज हुन्छ । सम्पूर्ण पक्षहरु नियममा रहेर खुला गर ।

अहिलेसम्म तिमीले गरिबलाई कहिलेकाहिँको माछा खाने बनायौ तर तिमीले माछा मार्न सिकाएका छैनौ जुन अपरिहार्य थियो र भविश्यको लागि थियो । घरभित्र कोचेर होइन, भिड्नसक्ने बनाऊ । कोरोनाबाट केहि सिक, यो मौका हो र पढेका छौ दुई विद्वानको कुरा मनन गर र कार्यान्वयन गर । यदि पुस्तक पढेका छैनौ भने पढ र स्थलमा निस्क । जीत सुनिश्चित छ, कोरोनामात्र होइन हरेक रोग, भोक र अभाव परास्त गर्न सक्छौँ, सबैमा शुभकामना ।

रूद्रप्रसाद भट्टराई

तपाईँको मत