अर्थतन्त्र

नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार

काठमाडौँ । नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार छन् । राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको ‘पपुलेसन कम्पोजिसन अफ नेपाल’ ले यस्तो देखाएको हो ।

उक्त तथ्यांकनुसार देशको अति उच्च जीवनस्तर बिताउने ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बस्ने गरेको देखिएको छ । तथ्यांक सार्वजनिक गर्दै कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले सबैभन्दा कुलिन वर्गको बसोबास बागमतीमा प्रदेशमा रहेको बताए ।

कार्यालयले १७ वटा सूचकका आधारमा परिवारको सम्पन्नता वर्गीकरण गरेको छ ।

 तथ्यांकअनुसार नेपालभर रहेका ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये अति उच्च जीवनस्तर बिताउने जनसंख्या बागमतीमा ३८ प्रतिशत रहेको देखिन्छ । सबैभन्दा कम ४.२ प्रतिशत अर्थात् ३ लाख ३७ परिवार कर्णालीमा प्रदेशमा बसोबास गरेका छन् । बस्ने घर संरचना, घरको भित्ता, जग, छाना, खानेपानी, इन्धन, बत्तीको स्रोत, शौचालय तथा इन्धनको स्रोत, टेलिफोन, टेलिभिजन, स्मार्टफोन, कम्प्यूटर, ल्यापटप, कार, इन्टरनेट, रेफ्रिजेरेटर र वासिङ मेसिन तथा जनजीवनमा उपयोग गरेको सेवा सुविधाका आधारमा सूचकको मापन गरिएको हो ।

यस्तै अति न्यून, न्यून मध्यम, उच्च र अति उच्च गरी पञ्चम सम्पन्नता सूचकअनुसार बसोबासको स्थिति मापन गरिएको प्रतिवेदनमा उल्लेख छ । कार्यालयले पञ्चम सम्पन्नता सूचकअनुसार बागमती प्रदेशमा अति उच्चमा ३८ प्रतिशत, दोश्रोमा गण्डकी प्रदेशमा २५.६ प्रतिशत, कोशीमा १७.६ प्रतिशत, लुम्बिनीमा १७ प्रतिशत, मधेशमा ८.६ प्रतिशत, सुदूरपश्चिममा ८.४ प्रतिशत र कर्णालीमा ४.२ प्रतिशत अति उच्च जनसंख्या बसोबास रहेको देखाएको छ । कर्णालीपछि न्यून जीवनस्तर धेरै रहेको प्रदेश सुदूरपश्चिम र मधेश छन् ।

सूचकअनुसार नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार छन् । उच्च परिवार पनि २० प्रतिशत र मध्यम परिवार २० प्रतिशत रहेको देखाएको छ । अति न्यून २०.३ प्रतिशत र न्यून परिवार १९.७ प्रतिशत छन् । घरको संरचना र घरको वस्तुस्थितीको सेवासुविधाको आधारमा यो सूचक तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।

कर्णाली प्रदेशमा अति न्यून वर्गको बसोबास रहेको छ भने अति उच्च वर्ग ४१ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बसोबास गरेको देखिन्छ । कार्यालयका अनुसार सम्पन्नताको सूचकलाई पाँच वर्गमा मापन गरिएको छ । अति, न्यून वर्ग, निम्न, मध्यम, वर्ग, उच्च वर्ग र अति उच्च वर्ग गरेर वर्गीकरण गरिएको छ । अति न्यूनतर्फ कर्णालीमा ५२.३ प्रतिशत कमजोर वर्गमा रहेका छन् ।

यस्तै कर्णालीमा २८.९ प्रतिशत निम्न वर्ग छन् भने ९.३ प्रतिशत मध्यम वर्ग रहेका छन् । उच्च वर्ग ५.५ प्रतिशत छ भने ४ प्रतिशतमात्र अति उच्च वर्गको बसोबास रहेको देखाएको छ । यसको ठिक विपरीत बागमती प्रदेशमा ४१ प्रतिशत अति उच्च वर्गको बसोबास छ । उच्च वर्गमा पर्ने जनसंख्या २३.६ प्रतिशत, मध्यमका १६.५ प्रतिशत, निम्न वर्गमा १०.८ प्रतिशत र अति न्यूनमा ८.१ प्रतिशत बागमती प्रदेशमा बसोबास रहेको देखाएको छ ।

दोस्रोमा गण्डकी प्रदेशमा अति उच्च वर्गमा २७.८ प्रतिशत, उच्चमा २०.६ प्रतिशत, मध्यममा २०.१ प्रतिशत, निम्नमा २०.१ र अति निम्नमा ११.३ प्रतिशत जनसांख्यिक वितरण अनुसार बसोबास रहेको छ । तेस्रोमा कोशीमा अति उच्च वर्गको जनसांख्यिक १८.५ प्रतिशत,उच्चमा १९ प्रतिशत, मध्यमा २०.३ प्रतिशत, निम्नमा २२.८ प्रतिशत र अति निम्नमा १९.३ प्रतिशत बसोबास रहेको छ ।

लुम्बिनी प्रदेशमा अति उच्च वर्ग १४.४ प्रतिशत, उच्च १९.८ प्रतिशत, मध्यम २४.२ प्रतिशत, निम्न २२.१ प्रतिशत र अति निम्न १६.५ प्रशितशत जनसांख्यिक बसोबास रहेको पाइएको छ । मधेश प्रदेशमा अति उच्च वर्गका ९.२ प्रतिशत, उच्च वर्गमा १९.२ प्रतिशत, मध्यममा २६.४ प्रतिशत, निम्नमा २१.५ प्रतिशत अति निम्नमा २३.७ प्रतिशत जनसांख्यिक वितरण रहेको पाइएको छ । सुदू्रपश्चिममा अति उच्च वर्ग ८.७ प्रतिशत, उच्च वर्ग १२.७ प्रतिशत, मध्ययम वर्ग १८.७ प्रतिशत, निम्न वर्ग २७.१ प्रतिशत र अति निम्न वर्ग ३२.८ प्रतिशत जनसांख्यिक बसोबास रहेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत