गाउँ सहर

‘कोरोना जीतेपछिको विश्व’- मलामी गएको बेलामा पनि व्यापार गर्नेहरूले के सिक्ने ? सिक्दैनन्

काठमाडौँ । २१ औँ शताब्दिमा विश्व त्राहि बनाउँदै चीनको हुवावे प्रान्तको वुहान शहरबाट सार्स-कोभ-२, अर्थात कोरोनाभाइरस अर्थात ‘कोभिड-१९’ को जन्म भयो । सुरुवातमा वुहान शहरसँगै चीनका केही अन्य प्रान्तमा यो भाइरसले उत्पात मच्चाउँदा विश्व लगभग अन्जान नै थियो । कसैले सोचेका पनि थिएनन् कि यो भाइरसले विश्व हल्लाउँछ भनेर । आज यसैको चपेटामा वैश्विक असन्तुलित अवस्थासँग जुधिरहेका छौँ ।

नयाँ भाइरसको नाम सुन्नेबित्तिकै थोरैमात्र देशले सावधानीको बाटोतर्फ सोचे र लागे तर, अधिकांशत राष्ट्रले वास्ता गरेनन् । यतिसम्म कि पछिसम्म पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी २० को मिटिङमा चीनीयाँ भाइरसको नाम पारित गर्नुपर्छ भन्ने आवाज उठाएका थिए ।

दिन दुइगुणा रात चौगुणा प्रगतिमा प्रयोग हुने शब्दजस्तै महिनाभरमै भाइरसले वैश्विक स्थानमा कब्जा जमायो । अहिले भाइरसले २०९ मुलुक र २ अन्तर्राष्ट्रिय ढुवानीमा अधिपत्य जमाइसकेको छ । अहिलेसम्म भाइरसका कारण १३ लाख बढी संक्रमित र ७६ हजार बढीको मृत्यु भइसकेको छ । यसबाट निको हुनेको पछिल्लो तथ्यांक ३ लाखको नजिक पुगेको छ ।

भाइरसको कुनै औषधि या निको हुने खोप बनेको छैन । भाइरसलाई कमजोर पार्ने र प्रभाव शरीरभित्र फैलन कम गर्ने र शारीरिक प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने केही औषधिहरुको प्रयोग विरामीलाई गरिँदै आइएको छ । यदी बैज्ञानिक तथा चिकित्सकले परीक्षण गरेको खोपले सफलता हासिल गरेको खण्डमा पनि १२ महिनादेखि १८ महिनामा भ्याक्सिन बन्ने दावी गरिएको छ ।

विकसित राष्ट्रमा महामारीको रुपलाई नियन्त्रण गर्न यति कठिन परिस्थितिमा विकासोन्मुख देशमा झनै ठूलो चुनौति देखा परेको छ । यहि चुनौतिलाई थोरै भएपनि कम गर्न यी देशहरु प्रायः सबै लकडाउनमा छन्— ताकि भाइरसको संक्रमण नफैलियोस् । र संक्रमण देखिएकालाई पनि तत्काल उपचार गर्न सकियोस् ।

औषधि वा भ्याक्सिन नबन्दासम्म चुनौतिको रुपमा रहेको भाइरस प्रकोपले यहि गतिलाई निरन्तरता दिएको खण्डमा थप लाखौँको ज्यान र वैश्विक अर्थतन्त्र डामाडोल हुने आंकलन गर्न सहजै सकिन्छ ।

यहि भएरपनि अहिले जनजनको वहसमा आएको छ— कोरोना जीतेपछिको विश्व कस्तो होला भनेर ! चिकित्सक, बैज्ञानिक, अर्थशास्त्री, नेता तथा जनताहरुका अभिमतहरु सार्वजनिक भएका छन् । अधिकांशतले मानिसको बानी-व्यवहारमा परिवर्तन हुने बताएका छन् । उनीहरुले मानिसहरु क्रमशः प्रकृतितर्फ फर्कने, दूरी कायम गर्ने, बिग्रिएको जीवनशैलीमा थोरै भएपनि सुधार हुने, अध्यात्मिक यात्रा, खानपिन, गरिबी बढ्ने तर सहयोगी भावनाको विकासजस्ता विविध पक्षहरुमा परिवर्तन हुनसक्ने बताएका छन् ।

तर प्रश्न उठ्नसक्छ के यी सब कुराहरुमा परिवर्तन देखिएला ?

१. अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले सञ्जालमार्फत कोरोना आतंकले हाम्रो जीवनशैली असामान्य बनाएर आर्थिक क्षतिमा वृद्धि गरेको त छँदैछ यसले इमिसन्स, रासायनिक पदार्थ, धूलो धुँवा जस्ता वातावरण प्रदुषित गर्ने तत्वहरुमा कमी ल्याएको स्वीकारेका छन् । भारतीय बजारमा कण्डम र प्रजनन् रोक्ने साधनको बिक्री बढेको चर्चा गर्दै अर्थशास्त्री प्याकुरेलले महामारीले खुसी र दुःख मनाउने परम्परा र सोचमा परिवर्तन ल्याएको उल्लेख गरेका छन् । उनको यी शब्दमा कोरोना जीतपति मानिस एक्लो हुँदा र हुनसक्ने कुरालाई नजरअन्दाज र खुसी हुनसक्ने वातावरणको खोजीमा लिन हुने र समयको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित हुने र अन्य विकल्प खोज्न लागिपर्ने साथै संस्कृतितर्फ मानिस ढल्कने उनको अभिव्यक्तिबाट प्रष्ट्याउँछ ।

२. प्राध्यापक प्रदिपकुमार खड्काले भने, ‘कोरोनापछि अवश्य पनि परिवर्तनहरु देखिनेछन् किनकी यी सामान्य बानीमा सुधार गर्दा व्यापक परिवर्तन पनि हुने र खतरा टर्छ भने मानिस परिवर्तन हुन्छ नै । तर  अर्थतन्त्रको यो कालो धब्बा पार गर्न भने विश्वले धेरै पापड बेल्नुपर्ने हुनसक्छ ।’ 

३. प्राध्यापक भरत पोखरेलले पनि आफ्नो लेखमार्फत कोरोनापछि मन्दीभन्दा त्यसको असर भयावय हुने संकेत गरेका छन् । थप आंकलनहरु आँधी चलेको बेला समीक्षा गर्न नसकिने उनको लेखबाट स्पष्ट हुन्छ ।

४. अर्थशास्त्री डा. रघुबिर विष्टका अनुसार— कोभिड-१९ पछि मानिसले चिकित्सा विज्ञानसँग सम्बन्धित थप र नविन प्रविधिलाई आत्मसात गर्नेछन् र  अर्को तहको मानव सभ्यतालाई हुनसक्ने अनावश्यक खतरालाई सूचित गर्दै विश्वको आर्थिक आदेश, सामूहिकता, सहयोग र देशको संसाधन विनियोजन ढाँचामा परिवर्तन ल्याउनेछन् ।

५. चिकित्सा मानवशास्त्री डा. सचिन घिमिरेले भने, ‘नजिर हेर्ने हो भने केही सिकाउँदैन । सामुदायिक स्वास्थ्यमा केही सिकीएला त्यो फरक कुरा हो । तर नेतृत्वपंक्ति नै खराब भएका कारणले उनीहरुले राजनीति र विज्ञान जोड्न सिक्दैनन् । मलामी गएको बेलामा पनि व्यापार गर्नेहरूले के सिक्ने ? सिक्दैनन् ।’

६. यसै सन्दर्भमा  अर्थशास्त्री मित्र भट्टराई भन्छन्- मानिसहरू अध्यात्मिक रेखातिर प्रवेश गर्नेछन, प्राचिन समयदेखि मानिआएकाे अन्तिम सत्य मृत्युमा केन्द्रित हुनेछन् । थाेरै परिवर्तन समाजमा देखिने छ । साेचाई/ग्रहणमा परिवर्तन देखिने छ ।

७. साहित्यकार महेश पाैड्यालका अनुसार, कोरोनाको समयपछि मलाई लाग्छ, अल्पविकशित देशबाट विकशित देश, विशेष गरेर पश्चिमतिरको आप्रवासन घट्ने छ । कृषि र पारम्परिक उत्पादन प्रविधिमा बढी आधारित भएका अर्थतन्त्र बढी स्थिर हुने छन्, तर उद्योग र प्रविधिमा आधारित अर्थतन्त्र खस्किने छन् । फलस्वरूप, एउटा लामो र नराम्रो आर्थिक मन्दीले विश्व आक्रान्त हुन सक्छ । विश्वको बौद्धिक नेतृत्व युरोप, चीन वा अमेरिका भन्दा तेस्रो विश्वका देशितिरबाट हुने सम्भावन देखिन्छ । केही दशक मूद्रास्फिति र बेरोजगारीको दौर अतिशय उच्च हुने देखिन्छ ।

८. समाजशास्त्री मदन खरेल भन्छन्— विश्वको अर्थतन्त्रमा महारथीहरुको अवस्था परिवर्तन हुन सक्छ । अब अर्थतन्त्रले राजनीतिलाई गाइड गर्छ । सेयर बजार र व्यापारका कुराहरुमा ह्रास आउँछ । जनसँख्या बढ्नेछ । वातावरण सन्तुलनको अवस्थामा आउँछ । ज्ञानको हिसावले पूर्वतयारी कार्यक्रम तथा सचेतना बढ्ने देखिन्छ । सरकारहरु न्यूनिकरणमा केन्द्रित हुन सक्छन् ।

सामाजिक दूरी बढ्ने छ । सामुदायिक भावनाको विकास गराउनेछ । भेलाहरुमा कमी अवश्य ल्याउने छ । निजीकरणका कुराहरु कम हुने र सरकारको भूमिका बढ्ने देखिन्छ । बसाइँसराइ घट्न सक्छ र वैदेशिक यात्रा कम हुन सक्छ । स्वदेशको माया बढ्ने देखिन्छ । पारिवारिक आत्मीयताले प्रश्रय पाउने देखिन्छ । गाउँ र सहरकाे दूरी कम हुने देखिन्छ । भैपरीमा काेष चाहिनेरहेछ भन्ने कुराहरूमा स्तर बढ्ने समाजशास्त्री खरेल बताउँछन् ।

खरेललका अनुसार शिक्षा, राजनीति, अर्थतन्त्र, स्वास्थ्य, अध्यात्म जस्ता पक्षहरुमा परिवर्तन देखिने छ ।

९. शिक्षक सरोज बरालले भने, ‘कोरोनापछि आर्थिक मन्दी निकै ठूलो समस्यामा पार्न सक्छ । चेतनाको विकास गराउने छ । तर केहीसमयमा विर्सन्छन् । विफरको महामारी पनि देखेको थिएँ, तर मानिसले विर्सिँदारहेछन् । संघर्षले गर्दा मान्छेले विर्सनेछन् । भोकोे पेटले राष्ट्रियता देख्दैन भनेजस्तै हुन्छ । त्यति ठूलो परिवर्तन देखिन्छ भन्ने कुरामा म आशावादी छैन ।’

हुन त बैज्ञानिकहरुले महामारीका कारण सामाजिक दूरी बढिरहेको बताउँदै समाजबाट हात मिलाउने, अंगालो हाल्ने जस्ता सामाजिक परम्परा लोप हुनसक्ने चेतावनी पनि नदिएका होइनन् । उनीहरुले कारोनापछि यस्ता व्यवहारहरुमा परिवर्तन ल्याउने सम्भावना रहेको कुरालाई जोड दिएका छन् ।

अहिले पुरा विश्व कोरोनाभाइरसको महामारीबाट अक्रान्त छ । यस्तो बेला कसले प्राथमिकता पाउनुपर्छ— अर्थतन्त्रले कि जनताले ? धेरै सरकारहरु अहिले यो द्विविधामा परेको बीबीसीले बताएको छ ।

यही विषयमा केही समय अगाडि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कोभिड-१९ का कारण लगभग २.५ करोड जनताको काम अर्थात नोकरी खतरामा रहेको बताएको थियो । यसले करोडौँ मानिसहरु वेरोजगार हुन सक्ने विज्ञप्ति निकालेको थियो ।

अधिकांशतले कोभिड-१९ पछि जनसंख्यामा वृद्धि हुने, आर्थिक क्षेत्र डामाडोल हुने, बसाइँसराई घट्ने, सम्बन्ध सुध्रने, सामाजिकता बढ्ने बताइरहेका छन् । उनीहरुले गरिब झनै गरिब हुने र धनी झनै धनी हुने आशंका पनि व्यक्त गर्दछन् ।

जोन नग, बेलायती रिजर्भ बैंकका पूर्व वरिष्ठ व्यवस्थापक हुन्, उनले निम्न तीन कुराहरुमा परिवर्तन देखिने बताएका छन् ।

१) राज्यको भूमिका हरेक क्षेत्रमा बढ्नेछ,
२) अन्तर्राष्ट्रिय व्यापारको आकारमा परिवर्तन देखिनेछ, र
३) तेस्रो परिवर्तन समाजको आकारमा हुनेछ ।

यसरी हेर्दा विश्वमा कोरोना महामारी पछाडि मन्दी होला तर यो जन र धनको क्षतिले वैश्विक व्यवहारहरु परिवर्तन गर्नेछन, सम्बन्धहरुमा सुधार ल्याउने छ र मानिस प्राकृतिक हुन थाल्नेछन् । आशा गरौँ पैसाभन्दा ठूलो कुराको खोजी हुनेछ र समानताकाे झिल्कोले विश्व चम्कने छ ।
 

रूद्रप्रसाद भट्टराई

तपाईँको मत