रामेछाप प्रतिनिधिसभा निर्वाचन : माधवप्रसाद ढुंगेलको पहिलो जनपरीक्षा
- शिवराज खड्का
- २१ माघ बुधबार, २०८२ | १५:५२:०० मा प्रकाशित
काठमाडाैं । माधवप्रसाद ढुंगेलको राजनीतिक यात्रा पद र अवसरको आकस्मिक उचाइ होइन, निरन्तरता, संगठन र विचारको संयोजन हो । २०३४ साल असोज ५ गते रामेछाप जिल्लामै जन्मिएका ढुंगेलको बाल्यकाल पारिवारिक संस्कार, सामाजिक चेतना र राजनीतिक परिवेशमै बित्यो । पिता वोधराज ढुंगेलबाट प्राप्त अनुशासन, जिम्मेवारीबोध र नैतिक मूल्यले उनको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ । सरिता ढुंगेलसँगको पारिवारिक जीवनले उनलाई थप स्थिर, संयमी र जिम्मेवार बनाएको उनीसँग नजिक रहेकाहरू बताउँछन् ।
.jpg)
राजनीतितर्फको प्रारम्भिक झुकाव
ढुंगेल सानै उमेरदेखि सामाजिक र राजनीतिक गतिविधिमा चासो राख्ने व्यक्ति थिए । २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि उनले रामेछापबाटै नेकपा एमालेमा संगठित राजनीतिक यात्रा सुरु गरे । सक्रियता, अनुशासन र संगठनप्रतिको प्रतिबद्धताका कारण उनी २०५३ सालमै अनेरास्ववियुको जिल्ला अध्यक्ष बन्न सफल भए । यो जिम्मेवारीले उनलाई विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिक नेतृत्वतर्फ अघि बढ्ने आधार तयार गर्यो ।
जिल्ला तहमा नेतृत्व सम्हाल्दै अध्ययनका लागि काठमाडौं पुगेका ढुंगेल क्रमशः केन्द्रको राजनीतिमा स्थापित हुँदै गए । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका उनले कानून विषयमा एलएलबी अध्ययनसमेत सम्पन्न गरे । हाल उनी विद्यावारिधी (पीएचडी) का लागि अनुसन्धानरत छन् । अध्ययन र संगठनलाई सँगसँगै अघि बढाएको अनुभवले उनलाई नीति, कानून र शासनप्रणालीबारे प्रष्ट दृष्टिकोण भएको नेताका रूपमा चिनाएको छ ।
.jpg)
संगठनमा उकालो यात्रा
रामेछाप भौगोलिक रूपमा जनकपुर अञ्चलमा रहे पनि एमालेको संगठनात्मक संरचना बागमती अञ्चलसँग जोडिएकाले जिल्ला अध्यक्षपछि ढुंगेल बागमती अञ्चल कमिटी अध्यक्ष बने । यही कालखण्डमा उनी अनेरास्ववियुको केन्द्रीय सचिव, महासचिव हुँदै अध्यक्षमा निर्वाचित भए । जनकपुर महाधिवेशनमा पार्टी संस्थापनको समर्थन पाएका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष बन्नु एमालेको विद्यार्थी राजनीतिमा दुर्लभ मानिने घटना थियो ।
ढुंगेलको राजनीतिक यात्राको अर्को महत्वपूर्ण मोड एमालेको २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशन हो । यही महाधिवेशनबाट उनी वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भए । २०७५ मा नेकपा एकतापछि पूर्ण केन्द्रीय सदस्य बनेका उनी २०७९ को दशौँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य निर्वाचित हुँदै संगठन विभागको सचिवको जिम्मेवारीमा पुगे । पार्टीभित्र उनी गुटभन्दा संगठनलाई प्राथमिकता दिने ‘संगठन म्यान’ का रूपमा परिचित छन् ।
.jpg)
राज्य संयन्त्रको कार्यशैली बुझ्ने अवसर
ढुंगेल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षका रूपमा दुईपटक नियुक्त भए । युवासम्बन्धी नीति, कार्यक्रम र राज्य संयन्त्रको कार्यशैली बुझ्ने अवसर उनले यही भूमिकामा पाए । दोस्रो कार्यकाल पूरा नहुँदै संसद विघटनपछि सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनले पदबाट राजीनामा दिए । यस कदमलाई उनका समर्थकहरूले राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धताको उदाहरणका रूपमा व्याख्या गर्छन् ।
ढुंगेल जनताबीचको प्रत्यक्ष संसदीय चुनावी मैदानमा पहिलोपटक उत्रिँदैछन् । तर पार्टी र संगठनभित्रका प्रतिस्पर्धामा उनी निरन्तर सफल हुँदै आएका छन् । अनेरास्ववियुको चितवन महाधिवेशनमा सचिव पदमा जित, पोखरा महाधिवेशनमा महासचिव पदमा सफलता र जनकपुर महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित हुनु उनको संगठनात्मक क्षमताको प्रमाणका रूपमा लिइन्छ । आन्तरिक निर्वाचनमा उम्मेदवार भएर हारेको इतिहास उनीसँग छैन ।
.jpg)
अखिल जिल्ला अध्यक्षपछिका करिब तीन दशक ढुंगेल अञ्चल र केन्द्रको राजनीतिमा सक्रिय रहे । यी वर्षहरूमा उनले एमालेबाहेक अन्य कुनै राजनीतिक धार रोजेनन् । यही कारण उनीमाथि ‘जिल्लाबाट उठे, केन्द्रमा जमे’ भन्ने टिप्पणी पनि हुने गरेको छ ।
यसपटक भने उनी संघीय संसदको उम्मेदवारका रूपमा जिल्लामा फर्किएका छन् । पार्टीले उनलाई केन्द्रीय सदस्यसँगै रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएको केही दिनमै संघीय संसदको टिकटसहित जिल्लामा सक्रिय देखिएका ढुंगेलका लागि यो चुनाव अवसरसँगै सबैभन्दा ठूलो परीक्षा पनि हो ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष हुँदा ढुङ्गेलले श्रीलंकामा 2nd South Asian Youth Summit-2018 मा 'World youth prize 2018' बाट श्रीलंकामा सम्मानित भएका थिए । नेपाल सरकार र राष्ट्रिय युवा परिषदले युवा विकासका लागि अघि सारेका युवा लक्षित कार्यक्रम र यसका सकारात्मक गन्तव्य एवं दिशानिर्देशलाई विश्व समुदायले सम्मान गरेकाे थियाे ।
.jpg)
उनकाे कार्यकालमा शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, एक गाउँ, पाँच युवा एक उधमशिल कार्यक्रम, राष्ट्रपति महिला उधम कार्यक्रम मार्फत नेपाली युवा उधमशिलताको विकास, नमुना युवा संसद, युवा वैज्ञानिक सम्मेलन, Vision Compitition कार्यक्रम मार्फत युवा नेतृत्व विकास, शैक्षिक सम्मेलन र विज्ञहरुसँग छलफल कार्यक्रम मार्फत शैक्षिक क्षेत्रको गुणस्तर सुधार र प्रदेश सरकार, महानगरपालिका, नगरपालिका र गाउँपालीका सगको सहकार्यमा युथ भिजन -२०२५ र युवा नीति २०७२ कार्यन्यण मार्फत नेपाली युवाहरुको विकासमा राष्ट्रिय युवा परिषद पुराएको योग्दानको कदर गरी सम्मानित गरिएको थियाे ।
प्रतिस्पर्धी, मत गणित र संगठन
ढुंगेलका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र खड्का, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ (कुशल) र राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरी बुढाथोकी हुन् । खड्का र श्रेष्ठ संसदीय चुनावी अनुभव बोकेका उम्मेदवार मानिन्छन् । रास्वपाको देशव्यापी प्रभाव भए पनि रामेछापमा त्यसको असर सीमित देखिन्छ । बुढाठाेकी भरखर नेपाल बैंककाे जागिर पूरा गरेर राजनीतिमा हाेमिएकाे नयाँ अनुहार हुन् ।

२०७९ को समानुपातिक निर्वाचनमा एमालेले २८ हजार १५० मत ल्याउँदै जिल्लामा पहिलो स्थान बनाएको थियो । कांग्रेसले २४ हजार १०१, माओवादी केन्द्रले २१ हजार ०५४ मत पाएका थिए । स्थानीय तहमा एमालेले ८ मध्ये ३ पालिकामा प्रमुख, ३ उपप्रमुखसहित २५ वडा जितेको छ । एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार बलियो संगठन र अन्तर्घातको न्यून सम्भावनाले ढुंगेललाई तुलनात्मक रूपमा सहज स्थितिमा राखेको छ ।
समग्रमा, रामेछापको प्रतिनिधिसभा निर्वाचन अनुभवी, परीक्षित उम्मेदवारहरू र संगठनात्मक राजनीतिबाट आएको नयाँ संसदीय उम्मेदवारबीचको प्रतिस्पर्धा बनेको छ । केन्द्रमा लामो समय बसेर नीति, संगठन र प्रशासन बुझिसकेका ढुंगेलकाे पनि परिक्षणकाे समय आएको छ।
रामेछापका मतदाताले यसपटक नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिन्छन् कि, पुरानै अनुहारलाई दोहोर्याउँछन्-त्यही निर्णयले ढुंगेलको संगठनात्मक यात्राले संसदीय राजनीतिमा प्रवेश पाउँछ कि पाउँदैन भन्ने टुंगो लगाउनेछ ।
शिवराज खड्का
खड्का गाउँ सहर डटकमका सम्पादक हुन् ।
- कथा, संस्कृति र प्रकृतिले सजिएको सुनापति
- अर्बपति विनोद चौधरीले कांग्रेसलाई आर्थिक समृद्धिको बाटो देखाउन सक्लान्?
- नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित, उनका चार प्रमुख चुनौती
- जेन–जीको रगतले जन्माएको सरकारसँग अब जनताको प्रश्न
- रामेछापको समाज, राजनीति र इतिहास बुझाउने पुस्तक : ‘आनन्द बजारका घोडा’
- केही मान्छे भेटिएर पनि जीवनभर सम्झना बन्छन्
- पुष्पलालको नाममा राजनीति, विचारलाई बिर्सने कम्युनिस्टहरू
- राष्ट्र बैंकमाथि प्रश्न : कसको पहुँचमा छ वित्तीय सेवा?
- सांसदको स्वकीय सचिव : आवश्यकता कि राजनीतिक भर्ती?
- नीति–कार्यक्रमको यथार्थ : पुरानै थेगोको निरन्तरता
प्रतिकृया दिनुहोस