गाउँ सहर

पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। साउन, भदौ र असोज महिनामा पाथीभराको दर्शन गर्न पुगेका भक्तजनले स्वेच्छाले चढाएको नगद भेटीबाट ३३ लाख २६ हजार ६५० रुपैयाँ संकलन भएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार उक्त अवधिमा २० हजार ५२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।

समितिका अनुसार साउन महिनामा दुई हजार ४६९ जना भक्तजनले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको थियो। त्यस्तै, भदौमा छ हजार १२३ जना भक्तजनले दर्शन गरेका थिए भने उक्त महिनामा २३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको विवरण छ। असोज महिनामा ११ हजार ९३० जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए। सो महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ।

३ हजार ७९४ मिटर उचाइमा पाथीभरा धाम

समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्गको मार्ग प्रयोग गर्न सकिन्छ। सुकेटारसम्म पक्की सडक भए पनि काफ्लेपाटीसम्मको कच्ची सडकका कारण यात्रामा चुनौती हुने गरेको छ। काठमाडौं–सुकेटार हवाईमार्गबाट समेत पाथीभरा क्षेत्र पुग्न सकिन्छ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म करिब पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ। यात्रालाई सहज बनाउन पैदल मार्गका विभिन्न स्थानमा पानी र हिउँबाट जोगिन फाइबरका छाना राखिएका छन्।

धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित पाथीभरामा दर्शन गर्न विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन्। पछिल्लो तीन महिनाको तथ्यांकले असोज महिनामा दर्शनार्थीको संख्या सबैभन्दा बढी रहेको देखाउँछ।

गाउँ सहर संवाददाता

तपाईँको मत