राजनीति

राप्रपाकाे ३१औँ स्थापना दिवसः लम्पसारवाद स्वीकार्दैनाैँ, जातियता र क्षेत्रवादमा विश्वास राख्दैनौँ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे ३१औँ स्थापना दिवस पारेर साे पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले देश, विदेशमा रहेका राप्रपाका कार्यकर्ता तथा समर्थकलाई राष्ट्रवादी अभिवादन गरेका छन् ।

जारी सन्देशमा उनले पार्टी स्थापनामा सक्रिय रहेका दिवंगत सबै नेता तथा कार्यकर्ताहरुमा श्रद्धाञ्जली अर्पण गरेका छन् । 

उनले राप्रपा नेपाली माटोमा जन्मिएको र हुर्किएको राष्ट्रवादी-प्रजातन्त्रवादी-उदारवादी दल भएकाे र नेपालको पहिचान हिन्दूराष्ट्र हुनुपर्ने, नेपालमा संविधान भित्रको राजसंस्था कायम हुनुपर्ने तथा राज्यको शक्ति तल्लो राजनीतिक इकाइसम्म हस्तान्तरण हुनुपर्ने एजेन्डा आत्मसाथ गरेकाे बताएका छन् ।

अध्यक्ष लाेहनीले भनेका छन्, "हामी लम्पसारवाद स्वीकार गर्दैनौँ । जातियता र क्षेत्रवादमा विश्वास राख्दैनौँ । हामी कुनै पनि धर्मको अनादार गर्दैनौँ बरु सबैको सम्मान गर्छौं तर आफ्नो धर्म र संस्कृतिमाथिको प्रहारलाई कदापि स्वीकार गर्दैनौँ ।"

"हामी भ्रष्टाचारविरुद्द निरन्तर संघर्ष गर्नेछौँ । नेपाली समाजमा पछाडि परेका र पारिएका सबैको स्वाभिमान र सम्मान कायम गर्दै देशको उन्नति र प्रगतिमा समानुपातिक र समावेशी सिद्धान्त बमोजिम अगाडि बढन प्रतिवद्ध छौँ । मेचिदेखि माहाकाली, हिमाल-पहाड-तराइ (मधेस) सबै क्षेत्रका नेपालीहरुको हित, प्रजातान्त्रिक अधिकार तथा न्याय र समानताको उज्यालो मसाल बाेकेर अगाडि बढन प्रतिवद्ध छौँ" उनले भनेका छन् ।

उनले संस्कृति र सभ्यतामा निहित समतामुलक, मानवतावादी परम्परा र एक्काइसौं शताव्दी अनुकूल विज्ञान, प्रविधि, पूँजी र श्रमको समायोजनमा निहित निरन्तरता सहितको गतिशीलताको दृष्टिकोणलाई आत्मसाथ गरेर नेपाल राष्ट्रलाई विश्वमा उज्यालो ताराको रुपमा खडा गर्न अनुराेध गरेका छन् । 

जारी सन्देशमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरिका लाखाैँ युवाहरुको राजनैतिक आस्था र भविश्यप्रतिको सुरक्षा र विश्वास बाेकेको भन्दै यथार्थतालाई मनन गरेर युवालाई पार्टीभित्र सजग र सक्रिय गराउँदै विभिन्न तहका नेतृत्वमा प्रोत्साहन र स्थापित गराउन प्रयास रहने बताएका छन् ।

उनले भनेका छन्, "भविष्यमा हामीले यो देशको नवजागरण र नवनिर्माणमा ठूलो भूमिका खेल्न सक्नु पर्छ । यो चुनौतीलाई सम्झिएर पार्टीको संगठन विस्तार गर्दै पार्टीको माध्यम राष्ट्र निर्माणको माहाअभियानमा एकतावद्ध भएर जुटने अठोट गरौँ । यहि हाम्रो मातृभूमि प्रतिको समर्पण हुनेछ । महान दिनको अवसरमा पुनः एकपटक सबैमा राष्ट्रवादी अभिवादन व्यक्त गर्दछु ।"

गाउँ सहर संवाददाता

तपाईँको मत