वातावरण

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, भोलि पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत