अर्थतन्त्र

दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार

काठमाडौँ। यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा करिब ९७ करोड रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ । दसैँको एक साताको अवधिमा उपत्यकाका विभिन्न बजारमा ४० हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको चौपाया खरिदबिक्री सङ्घले जनाएको छ ।

सङ्घका अनुसार गत वर्षको दसैँमा एक अर्ब १६ करोड रुपियाँ बराबरको कारोबार भएको थियो । तर, यस वर्ष बजारमा माग घटेसँगै खसीबोका तथा च्याङ्ग्राको बिक्री र कारोबार रकमसमेत घटेको हो ।

सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार गत वर्षको तुलनामा यस वर्ष १५ हजारले खसीबोका तथा च्याङ्ग्राको बिक्री घटेको छ । गत वर्षको दसैँमा ५५ हजार सङ्ख्यामा बिक्री भएकोमा यस वर्ष ४० हजारमा सीमित भएको उनले बताए।

कलङ्कीस्थित खसीबजारमा पनि यस वर्ष बिक्री घटेको छ । अघिल्लो वर्षको दसैँमा उक्त बजारबाट २४ हजार खसीबोका बिक्री भएकामा यस वर्ष १७ हजार मात्रै बिक्री भएका छन् । अन्य बजारबाट २३ हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको सङ्घले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष बिक्री सङ्ख्या र कारोबार रकम दुवै घट्नुले दसैँका लागि खसीबोका तथा च्याङ्ग्राको बजार माग कमजोर भएको देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत