अर्थतन्त्र

निर्माण व्यवसायी महासंघका अध्यक्ष विरुद्व अदालतमा मुद्दा दायर

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विरुद्व अदालतमा मुद्दा दायर गरिएको छ । लालबकैया नदी नियन्त्रण आयोजनामा तीन करोड रुपैयाँ भन्दा धेरै अनियमितता गरेको आरोपमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहं लगायत भ्रष्टाचार विरुद्ध मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना प्रमुख तथा ठेकदारविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनियर पाण्डव प्रसाद देव, महादेव खिम्ती निर्माण सेवा प्रालिका मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्ती र मैनाचुली जेभी का साझेदार मैनाचुली निर्माण सेवा प्रालिका मेनेजिङ्ग डाइरेक्टर मदन कुमार अधिकारी तथा महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) विरुद्ध आयोगले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । 

आयोजनाको स्डड निर्माणमा प्रयोग कम गुणस्तरको तार प्रयोग गरिएको अनियमिता भएको आयोगले जनाएको छ । रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका सातवटा बिलहरुको भुक्तानी गर्दा कुनै पनि परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको भनि प्रतिवेदन दिएर भुक्तानी दिइएको थियो । इन्जिनियर पाण्डव प्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बील स्वीकृत गरी भुक्तानी दिएको आयोगले ठहर छ ।

आयोजनामा तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ । महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) ले भुक्तानी लिएकाले उनलाई पनि प्रतिवादी बनाइएको आयोगले भनाइ छ । सबैलाई तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत