गाउँ सहर

काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’

काठमाडाैं । मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा सङ्घको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि काठमाडाैं उपत्यकाका विभिन्न ठाउँहरूमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा सङ्घको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । सो दिन नेकपा एमाले निकट युवा विद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन गर्ने र झडपको सम्भावना देखिएको थियो । स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।

स्थानीय प्रशासनका अनुसार निषेधित क्षेत्रमा पद्यमोदयमोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर तथा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोकसम्मलाई निषेधित क्षेत्र तोकिएको छ । निषेधित क्षेत्र घोषणा भएपछि आन्दोलनको केन्द्र बन्ने गरेको माइतीघर यति बेला सुनसान बनेको छ ।

पछिल्लो समय आन्दोलन गर्ने, प्रदर्शन गर्ने ठाउँका रूपमा परिचित माइतीघर क्षेत्र आजबाट सुनसान देखिएकाे छ । सधै जसो केही न केही आन्दोलन र प्रदर्शन गर्ने स्थान बनिसकेको माइतीघर निषेधाज्ञाका कारण फेरि सामान्य अवस्थामा आएको छ । माइतीघरको मुख्य सडक सँगैको लेन सात-आठ महिनादेखि ठप्प थियो । त्यहाँ अनशन बस्ने कोही न कोही कहिल्यै छुट्दैनथे । सरकारकाे विराेध गर्नेहरू, सरकारसँग माग राख्नेहरू जम्मा हुने भएकाले त्यहाँ दैनिक चहलपहल भइरहन्थ्याे । तर  जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सोमबार एक सूचना जारी गरी माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेपछि भने त्यहाँकाे परिस्थिति फेरिएको हाे । ठप्प लेनमा गाडी गुड्न थालेको छ । पैदलयात्रीबाहेक कुनै प्रदर्शनकारी त्यहाँ देखिन्नन् ।  

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवासकाे चार दिशा तोकेर ३० दिनसम्म निषेधित क्षेत्र घोषणा

 जिल्ला प्रशानस कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेध आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, सो निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने आज जारी निषेध आदेशमा उल्लेख छ । 

शितलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकेको हो ।

यस्तै, बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

ललितपुरमा पनि निषेधाज्ञा

ललितपुरका केही स्थानमा पनि निषेध आदेश जारी गरिएको छ । ललितपुरका सीडीओ रुद्रप्रसाद पण्डितले एक आदेशमार्फत आजदेखि ६ महिनासम्मका लागि निषेधादेश जारी गरेका हुन् ।

ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी ६ महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन, नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रमलाई निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

ती क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेध क्षेत्र घोषणा गरिएको हो ।

काठमाडाैंसँग जोडिएका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ

काठमाडाैंसँग जोडिएका मुख्य नाकामा सुरक्षा निकायले जाँचमा कडाइ गर्न थालेका छन् । भोलि एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडाैं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो । ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा गाडीमा विशेष जाँच गर्न थालेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गाडीमा चेकजाँचसहित आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरिएको बताए ।

मुख्य नाका थानकोटसहित फर्पिङ, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीलगायतका क्षेत्रमा गाडी रोकेर जाँच हुँदै आएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार आवश्यक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । यसअघि काठमाडाैं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर प्रदर्शनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था तयार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले दुई पक्षबीच मुठभेड र झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी जुलुस, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश नै जारी गरेको छ । साथै नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्ण भेला हुन पाउने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको रक्षा गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको पनि जनाएको छ ।

मंसिर ७ गते दुर्गा प्रसाईं समूहको प्रदर्शन काठमाडौंको बल्खु चोकमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको प्रदर्शनका लागि काठमाडौँको  बल्खु चोकलाई केन्द्र तोकेका छन्। 

सो कार्यक्रमका लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा संगठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले उक्त दिन बल्खु चोकमा प्रदर्शन गर्ने गरी कार्यक्रम बनाइएको जानकारी दिएका हुन् । 

प्रसाईंले बैंक, सहकारी र लघुवित्तका ऋणीहरूलाई ऋणमुक्त गराउने, हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापना गराउने भन्दै अलग्गै प्रदर्शनको तयारी गरिरहेका छन् । दुवै पक्षले प्रचारलाई तीव्रता दिइरहेका छन् । 

युवा संघले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने 

सरकारले माइतीघरमण्डलादेखि बानेश्वरको मीनभवन पुलसम्म एक महिनासम्म निषेधाज्ञा जारी गरेपछि एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले ७ मंसिरमा कोटेश्वरस्थित तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । प्रशासनको निर्णयलाई साथ दिँदै वैकल्पिक क्षेत्रमा प्रदर्शनको तयारी सुरु गरेको संघले जनाएको छ । 

जिल्ला प्रशासनले दुवै पक्षलाई बालाजु, तीनकुने, कीर्तिपुर, महाराजगन्जको नारायणचौरमा प्रदर्शनका लागि विकल्प दिएकोमा सोमबारै संघले प्रशासनलाई विकल्प दिएको हो । संघ र दुर्गा प्रसाईं समूहको आमने–सामने प्रदर्शनका कारण शान्ति सुव्यवस्था खलबलिने सम्भावना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबारबाटै लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

संघले प्रदर्शन सरकारको अकर्मण्यताविरुद्ध केन्द्रित रहने जनाएको छ । प्रदर्शन भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध केन्द्रित हुने जनाएको छ ।

‘भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध मंसिर ७, युवा विद्यार्थीको साथ’ नारा दिएर संघले काठमाडौं उपत्यका र बागमती आसपासबाट अनेरास्ववियुसहित पार्टीसम्बद्ध अन्य जनसंगठनको सहयोगमा प्रदर्शनको तयारी गरिरहेको छ । प्रदर्शनको स्वामित्व लिँदै एमालेले पनि कार्यक्रममा सहभागी हुन अपिल गरेको छ । संघका प्रवक्ता पौडेलले ५० हजार नागरिक उतार्ने गरी तयारी भइरहेको बताए । 

प्रदर्शनको प्रचारका लागि संघले बुधबार साँझ काठमाडौं उपत्यकाका ४० भन्दा बढी स्थानमा मसाल जुलुुस तथा दिउँसो ५ हजार स्वयंसेवकलाई मार्च पास गराउने तयारी गरेको छ । प्रदर्शन क्षेत्र परिवर्तन भएपछि पूर्वी बागमतीको जुलुस भक्तपुर क्षेत्रबाट, पश्चिम बागमतीको बालाजु र कलंकी हुँदै ललितपुर क्षेत्रबाट कोटेश्वरमा जम्मा गराएर कम्तीमा ४ घण्टा प्रदर्शन गराउने संघको तयारी छ । प्रदर्शनकारीहरूलाई कम्तीमा २५ हजार रातो टोपी बाँड्ने गरी छपाइएको संघका प्रवक्ता पौडेलले बताए । दुर्गा प्रसाईंले अराजकता फैलाएर गणतन्त्रविरोधी गतिविधि गरिरहेकाले राजद्रोहको मुद्दा लगाउन युवा संघको माग छ । 

गाउँ सहर डेस्क

तपाईँको मत