गाउँ सहर

सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?

सरस्वतीलाई पानीमा देखाइनुको पनि खास अर्थ छ । प्रथमतः सरस्वती नदीलाई नै ज्ञान रसको प्रवाहकी प्रतीक मान्दै जाँदा पछि उनकै गुणलाई मानवीय शरीरमा चित्रण गर्दै ज्ञानकी देवी सरस्वतीको प्रत्युत्पादन गरिएको हुन सक्छ । त्यो भन्दा मुख्य कुरा के हो भने पानी जडताको विपरीत तरलता र बहावको प्रतीक हो । त्यसमा पनि जमेको वा बगिरहेको पानी अविच्छिनताको प्रतीक पनि हो, किनकि तलाउ वा नदीको पानीमा छिन्नता (डिस्कन्टिन्युपिटि) हुँदैन, जस्तो झरनाको पानीमा हुन सक्छ । त्यसैले, ज्ञानको यात्राको निरन्तरता र अविच्छिन्नताको महत्वलाई दर्शाउन पानीको तलाउ वा नदीको प्रयोग गरिएको देखिन्छ ।

महाभारत आदि पर्वमा एउटा प्रसङ्ग आउँछ । कौरव र पाण्डवहरूले द्रोणाचार्यबाट धनर्विद्या सिकिरहेका थिए । एकसाँझ एउटा सानो घटना भयो । त्यो के भने, बत्तीको उज्यालोमा खाना खाइरहेका बेलामा हावा लागेर बत्ति निभ्यो, निष्पट अँध्यारो भयो । त्यस्तो अँध्यारोमा पनि अर्जनको हातबाट गाँसहरू सजिलै मुखमा गए । त्यसबाट अर्जुनलाई अचम्मको अनुभव भयो । उनले यसबारे मनमनै विचार गरे र निक्र्योल गरे कि यस्तो हुन अभ्यासले गर्दा सम्भव भयो । त्यसपछि उनी धनुर्विद्याको अभ्यासमा यस्तो गरेर लागे कि रातीमा पनि उनी धनुकै अभ्यासमा जुटिरहे । वर्षाैँ यस्तो गर्दै जाँदा उनी लोककै सर्वश्रेष्ठ धनुर्धर बनेर निस्के । यस्तो हुन्छ निरन्तरताको शक्ति । एउटै लक्ष्यमा निरन्तर लागिरहने र अविच्छिन्न रूपमा अभ्यास गरिरहँदा विद्या आर्जनमा नितान्त प्रभावकारी बन्दछ । त्यही निरन्तरताको प्रतीक हो - त्यो पानीको अविच्छिन्नता ।

पानीको अर्को अर्थ हुन्छ, रस-युक्तता र जीवन । अर्थात्, पानीको अभावमा जीवन हुँदैन । पानीले सबै जीवात्माको शरीरलाई सिञ्चन्छ, एउटा मरुभूमिलाई पनि हराभरा पार्छ । त्यस्ते हो ज्ञान । ज्ञानले मानिसको जीवनलाई रसयुक्त, शान्त र उर्वर पार्न सक्छ । यसरी भाैतिक शरीरमा पानीले जस्ताे काम गर्छ ।, चेतनाकाे क्षेत्रमा ज्ञानले त्यो भूमिका खेल्छ । तसर्थ, ज्ञान, अभ्यास, उपयाेग, रसमयता तथा निरन्तर पुरानाे स्थितिबाट नयाँ स्थितिमा पदार्पण गरिरहनु विद्याकाे उत्कर्षमा पुग्ने महत्वपूर्ण उपयाहरू हुन् ।

सरस्वतीलाई कमलको फूलमाथि नै देखाइनुको खास अर्थ छ

सरस्वतीलाई कमलहरूकाे बीचमा र कतिपय चित्रमा कमलको फूलमाथि नै देखाइनुको पनि खास अर्थ छ । कमल हिलो, मैलो र दूषित पानीमा हुर्कने र फूल्ने भएर पनि आफूले त्यो हिलो ग्रहण नगरेर सदा सफा रहिरहन सक्दछ । कमलको पात पानीमा भए पनि पानीको एक थोपा पनि कमलका पातमा अडिँदैन । फलस्वरूप, कमलको पात सधैँ ओभानो हुन्छ । त्यसैले, कमललाई कूटस्थ र तटस्थ साक्षी-मात्रको प्रतीकका रूपमा लिइन्छ ।

त्यसैले एउटा ज्ञानीमा पनि द्रष्टा भावको उचाइ हासिल हुँदै जाँदा ऊ एकदिन स्थितप्रज्ञ बन्छ, विषयको बासनाबाट असंलग्न बन्छ र आत्मभावमा नै स्थिर रहन सक्छ भनेर यसले जनाउँछ । कमलको फूल देवीदेवताहरूको आसन बनेको देखाइनुको सन्देश यही हो । कमलको फूललाई पवित्रता र प्रसन्नताको प्रतीक पनि मानिन्छ । जसले जनाउँछ कि, ज्ञानी मानिसहरु निष्कलङ्क, गुणी, उपकारी र सधैँ-प्रसन्न रहन्छन् ।

कमललाई प्राचीन हिन्दू र बौद्ध दार्शनिकहरूले सत्य-असत्य, साँचो-झूठो, पुण्य-पाप र राम्रो-नराम्रोको बीचबाट जे सत्य, साँचो, पुण्य र राम्रो हो त्यसलाई मात्रै ग्रहण गर्ने र असत्य, झूठो, पाप र नराम्रो बाट लिप्त नहुने क्षमता वा गुणको प्रतीकको रूपमा लिएका थिए । ज्ञानको एउटा यात्रीले यो विपरीतता, अन्तर्विरोध र असङ्गतिले भरिएको संसारमा सत्य र तथ्य को निरूपण गरेर प्रामाणिक सत्य मात्रै ग्रहण गर्नु पर्ने तथ्यको उजागर गर्न कमललाई प्रतीकका रूपमा लिएका थिए । प्रामाणिक तथ्यलाई मात्रै सत्यका रूपमा लिनु पर्ने कुराको महत्ता दर्शाउने प्रतीकका रूपमा पनि कमललाई लिएका थिए ।

वैदिक परम्परामा ब्रह्म अर्थात् सृष्टिको अनादि बीजलाई ॐ शब्दले जनाइन्छ, अनि सत्यलाई पद्म वा कमलले र शीर्षस्थ रत्नलाई मणिले जनाइन्छ । पाली ‘हुँ' शब्दले नेपाली 'हो' भन्ने अर्थ बोक्छ । त्यसैले, “ॐमणिपोहँ" अर्थात् “ब्रह्म नै सत्यको मणि हो” वा “ब्रह्म नै सबै सत्यको सारभूत तत्त्व हो” भन्ने बौद्ध मन्त्र सत्यभित्रको पनि सत्यको उपासना गर्ने भावलाई उठाउन उपयोगमा ल्याइन्छ । यहाँ कमललाई सत्यको प्रतीक र मणिलाई सारभूतको प्रतीकका मा लिइएको छ । यसरी, बौद्ध परम्परामा पनि सत्यको खोज र सारभूतको उपासनालाई उच्च महत्व दिएकाे देखिन्छ ।

सारमा भन्दा विद्यार्थी य ज्ञानकाे यात्रीले आफ्नाे उन्नयनका लागि सत्यकाे उपासना गर्नुपर्छ भन्ने सन्देश सरस्वतीकाे मूर्तिमा चित्रित कमलले बाेकेकाे हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत