गाउँ सहर

आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो

काठमाडौं । आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ । नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार, माटोको निःशुल्क जाँच शिविर, माटोको महत्वबारे बहसलगायतका कार्यक्रम गरिरहेको छ ।

माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषयलाई विश्वस्तरमै एकताबद्ध रुपमा सम्बोधन गर्ने र व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन मनाउने गरिन्छ ।

खाद्य तथा कृषि संगठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ का दिन काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक शुरुवात गरी विश्व माटो दिवस मनाउन शुरु गरिएको हो ।

माटो र पानी जीवनका अति उपयोगी र अनिवार्य स्रोत भएकाले जोगाउनुपर्नेमा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले जोड दिए । रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको विज्ञले बताएका छन् ।

उत्पादनका मुख्य आधारहरु माटो, पानी र मौसम हुन् । कुनै एक आधारमा फेरबदल हुँदा समग्र उत्पादन नै प्रभावित हुने नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.नविन रावल बताउनुहुन्छ । भूक्षय तथा वर्षाको पानीले माटो बगाएर लैजाने गरेको छ । नेपालको अनुमानित वार्षिक १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । जसमध्ये पहाडी क्षेत्रबाटै २० देखि ३० टन माटो बग्ने गरेको छ ।

पानीको शुद्धीकरण र भण्डारणमा माटो महत्वपूर्ण हुन्छ । एक हेक्टर माटोले एक लाख ५० हजार लिटर पानी वहन गर्ने क्षमता राख्छ । दिवसका अवसरमा केन्द्रले खेतबारीको माटोको अवस्था स्वच्छ राख्ने उत्कृष्ट दुई किसानलाई पुरस्कृत गर्ने भएको छ ।

नेपालका विभिन्न ठाउँबाट सङ्कलित ३ हजार ४ सयभन्दा बढी कृषि माटोको नमूनामध्ये स्वच्छ माटो कायम गरेका दुई जना किसानलाई नगद १० हजारसहित सम्मान गर्न लागिएको हो ।

माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता बढेको हो। नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको छ। जथाभावी रासयनिक मलको प्रयोगका कारण माटोको उर्वरा शक्ति ह्रास हुँदै गएको छ।

नेपाली माटोमा प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको देखिन्छ । दस वर्षअघि माटोमा अम्लीयपन ६३ प्रतिशत रहेकोमा अहिले ६९ प्रतिशत पुगेको छ। अम्लीयपन बढ्दा प्राङ्गारिक पदार्थ घट्छ र उर्वराशक्ति पनि कमजोर हुन्छ। खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउन थालेको हो। हुन त माटोसँग पनि केहि मात्रामा भएको प्रदुषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सिमित छ। माटोको उर्वराशक्ति घट्न पुग्दा उत्पादनमा नकरात्मक असर पर्दछ।

माटो खाद्यतत्वको भण्डार पनि हो। यो भण्डारलाई राम्ररी व्यवस्थापन गर्न सकेन भने खाद्यतत्वको मात्रा रित्तिदै जान्छ र उत्पादन घट्दै जान्छ। नेपालले केही वर्ष अघि खाद्यान्न निकासी गर्दथ्यो। आज आएर आयत गर्न थालेको छ। यसको मुख्य कारण भनेकै माटोको उर्वरशक्ति घट्नु नै हो। उत्पादन लिनको लागि माटो मलिलो हुनुपर्दछ। वीउ उन्नत तथा शुद्ध हुनु पर्दछ। उन्नत प्रविधिको प्रयोग गरेर खेती लगाउनु पर्दछ। बिरुवाको आवश्यक्ता अनुकुल खाद्यतत्वको प्रयोग हुनुपर्दछ। आवश्यक्ता अनुसार सिंचाइको व्यबस्थापन गर्नुपर्दछ। रोग कीरा नियन्त्रणदेखि सबै प्रकारको क्षतिबाट बालीको संरक्षण गर्न सके मात्र यसको मात्र र गुणस्तर उत्पादन गर्न सकिन्छ।

वर्षायामको पानीले नेपालबाट वर्षेनी २४ करोड घनमिटर माटो बगेर खेर गइरहेको अनुमान गरिन्छ। खेतीयोग्य जमीनमा हरेक वर्ष धान, धान पछि गहु, त्यसपछि मकै र फेरि उही धानको खेती चक्रीय रूपमा हुने गरेका कारणले नेपालको माटोको उर्वरा शक्ति हेरक क्रमशः वर्ष घट्दै गइरहेको छ। यसप्रकारले लामो समय लागेर बनेको माटो खेर गयो वा बिग्रियो भने फेरि त्यस्तै माटो बन्न वर्षौं वर्ष लाग्ने भएकाले माटोलाई जोगाउन जरुरी छ।

एकातिर माटो हाम्रो जीवनको आधार हो, गुणस्तरीय माटो बिना यस धर्तीमा जीवन सम्भव छैन भन्ने देखाउँदछ । अर्कोतिर, वैज्ञानिक तथ्यहरूले विश्‍वको सबैतिरको माटो धैरै मात्रामा गुणस्तरहीन बनिसकेको र भोलिका दिनमा अझै कामै नलाग्ने बन्दै जाने स्पष्ट संकेत देखिइरहको छ। यसर्थ यस्तो महत्वपूर्ण माटोलाई कसरी जोगाउने वा यसको गुणस्तर नाश हुनबाट कसरी बचाउने भन्नेतिर आजैदेखि हामी सबैको ध्यानाकर्षण हुन जरुरी छ।

गाउँ सहर डेस्क

तपाईँको मत