गाउँ सहर

लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

काठमाडौं । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन् । 

२०७८ सालमा न्यौपानेसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र राम बहादुर थापाको इजलासले कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।

न्यौपानेविरुद्ध १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो। कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग थियो। 

उपेन्द्र गौतममाथि दुई करोड २९ लाख, लबराज भट्टराईविरुद्ध दुई करोड ७९ लाख र सूर्यबहादुर केसी (मृत्यु) विरुद्ध दुई करोड ३४ लाख, हरिप्रसाद पाण्डेविरुद्ध दुई करोड ४३ लाख र दीपक भट्टराई (मृत्यु) विरुद्ध ३६ लाख ५९ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग थियो।

त्यसबेला विभागले मृतक दुवैजनाको परिवारका सदस्यहरूलाई समेत विपक्षी बनाएर उनीहरूको सम्पत्ति जफत हुनुपर्ने माग गरेको थियो। 

कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा लम्बोदरविरुद्ध मुद्दा हालिएको थियो। न्यौपानेलाई ठगी मुद्दामा पनि चलेको थियो। 

न्यौपानेले दिएको घुस लिएपछि विवादमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए। 

गाउँ सहर संवाददाता

तपाईँको मत