पर्यटन

 चिडियाखाना अवलोकनका लागि अनलाइनबाटै टिकट लिन सकिने

काठमाडाैँ । कोरोना महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबार (२५) देखि खुल्ने भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ ।  चिडियाखानामा प्रवेशका लागि  प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने छ ।  

चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । भिडभाड व्यवस्थापन गर्न एक पटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेललेउनले बताएका छन् ।

चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ । यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु रहेका छन् ।  अवलोकन गर्न विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत