गाउँ सहर

मधेश प्रदेशकै पहिलो चिडियाखाना शिलान्यास, विकासमा थप टेवा पुग्ने मन्त्री यादवकाे भनाइ

काठमाडाैं । पर्साकाे वीरगञ्ज महानगरपालिका ३२ रामवनमा निर्माण गरिने प्राणी उद्यान सदर चिडियाखानाकाे शिलान्यास गरिएकाे छ । आज बिहीवार वन तथा वातावरण मन्त्री प्रदीप यादवले चिडियाखानाकाे शिलान्यास गरेका हुन् । 

शिलान्यास कार्यक्रममा बाेल्दै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीय स्थल नभएको र अब निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले समृद्धि र विकास ल्याउने बताए । उनले भने, पर्सामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि र यहाँको समृद्धिसहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गरेको छु, अब यहाँ पर्यटकको सङ्ख्या बढ्नुका साथै यहाँको विकासमा थप टेवा पुग्ने छ । 

मन्त्री यादवले आफू मन्त्री बनेदेखि पर्सामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर त्याे काम सफल भएको बताए । पर्सावासीको आर्यस्तर वृद्धि गर्न तथा पर्यटन प्रवर्द्धनका लागि वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षाैँदेखिकाे सपना साकार भएको उनकाे भनाइ छ ।  

यहाँ निर्माण गरिन लागिएकाे चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले यहाँको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धि हुने अपेक्षा लिइएको छ । मन्त्री यादवकै पहलमा पर्सामा चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस भएको थियो । मन्त्री यादवले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमति दिएपछि आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो । 

या चिडियाखाना एक अर्ब एक करोड सात लाख रुपैयाँमा निर्माण गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । उनका अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ को सोलखपुर वडा नं. ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने छ । चिडियाखानाको क्षेत्रफलभित्र पर्ने तीन दशमलव एक हेक्टर क्षेत्रफलकाे अतिक्रमण हटाइ त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरिने भएको छ । 

यस क्षेत्रमा बाघ, चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल लगायतका वन्यजुन्तुका साथै अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने गरेकाले यस ठाउँमा चिडियाखाना बनाउन उपयुक्त हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक अजय कार्कीले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत