कृषि

गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा

पोखरा । विभिन्न समूह बनाएर अगाडि बढिरहेका र आफनै बारीमा फलेका गोलभेडा,घिरौला,लौका,करेला लगायतका मौसमीदेखि बेमौसमी तरकारीहरु बेचेर मनग्य आम्दानी गर्दै सबै प्रकारका तरकारी, माछा, कुखुरा, बंगुर र पशुपालनको पकेट क्षेत्र बनाउने उद्देश्य राखेका पोखरा महानगरपालिका अन्तरगत वडा नं. २७ लामातरा जलजलेका किसानहरु यतिबेला भने मर्कामा परेका छन् । वर्षाको समयमा गोडभेडाले राम्रो बजार पाउने आशामा टनेल निर्माण गरी गोलभेडा खेती गर्दै आएका किसानका बारीमा यो वर्ष टुटा किराले गोलभेडाको पात, फूल र फलमा नै क्षेती पु¥याउन थालेपछि किसानहरु  चिन्तित भएका हुन् ।

किसानले लगाएका गोलभेडा खेतीमा टुटा किराको विगविगीले किसानको लाखौँको लगानी खेर जाने अवस्थामा पुगेको छ । लेखनाथका अन्य क्षेत्रमा यसको प्रभाव बढ्दै गएको छ । गोलभेडा लगाएको दुई महिना पुग्दा नपुग्दै टुटा किराको प्रकोप बढेपछि बारीमा लगाएका विरुवा दिन प्रतिदिन बढ्नुको सट्टा विरुवाको लाली घट्दै जाँदा विरुवा उखेलेर फाल्नु बाहेक अन्य उपाय नभएको पोखरा महानगरपालिका वडा नं २७ जलजलेका किसान ख्यामबहादुर भुजेल बताउँछन् ।

रोगको प्रकोप नियन्त्रणका लागि घरेलु विधि अपनाउदा पनि कुनै कमी नभएको र पछिल्लो समय बारीमा एलो ट्याव (पहेलो प्लेट जहाँ किरा सहजै टासिन्छन्) राखेर किरा नियन्त्रणको प्रयास गरिएको गोलभेडा उत्पादक कृषक भुजेलको भनाई रहेको छ ।

बारीमा लगाएका गोलभेडामा परजिवी किरा टुटाको प्रकोप बढ्न थालेपछि आफनो लाखौँको लगानी खेर जाने हो की भन्ने चिन्ताले कृषि कार्यालयहरुमा जानकारी गराए पनि हालसम्म प्रकोप नियन्त्रणका लागि कुनै चासो नदेखाएको भुजेलको गुनासो रहेको छ ।

आफूसँग भएका १८ वटा टनेल निर्माणमा करीव नौ लाख भन्दा बढी खर्च हुँदा राज्यको तर्फबाट ५० प्रतिशत अनुदान रहेकाले उत्पादन हुने समयमा देखिएको यो रोगको प्रकोप नियन्त्रणका लागि पनि राज्यको तर्फबाट प्राविधिक सरसल्लाहको अपेक्षा आफूहरुले चाहेको भुजेलको भनाई रहेको छ ।

वि.सं. २०४१ सालमा स्याङजाको पुतली बजार नगरपालिका सतौं पिपलडालीबाट लेखनाथमा आएर कृषि पेशा अँगाल्दा अगाल्दै विदेशी भूमिमा सात वर्ष वसेर थप सीप र प्रविधि सिकेर पुन नेपालमा नै केही गर्ने सोंचका साथ २०५७ सालदेखि तरकारी खेतीलाई प्रथामिकता दिएका भुजेलले श्रीमती, तीन छोरा बुहारी र नाती नातीनाको सहयोगमा परिवारको खर्च कटाएर बार्षिक दुईलाख भन्दा बढी बचत गर्न सकेको बताए । टनेल निर्माण गरेर वार्षिक रुपमा तरकारी खेती गर्दै आएका यस क्षेत्रका किसानहरुले मेहनत गर्ने हो भने अरवको खाडीमा पुगेर कमाउने भन्दा दोव्वर पैसा स्वदेशमा आफनो परिवारसगै बसेर कमाउन सकिने बलियो उदाहरण प्रस्तुत गरिसकेका छन् ।

कृषि पेशालाई ब्यवसायिक बनाउनुपर्छ भन्ने सन्देश दिदै सोही ठाँउका राजु भुजेलले लेखनाथको लामातरालाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने विचार राखे । यहाँको माटो ,सिंचाईको सुविधा र जमिनको भौगोेलिक बनोटका कारण यो क्षेत्रमा जुनसुकै तरकारी पनि उत्पादन गर्न सक्ने हो भने बजारीकरणको कुनै समस्या नरहेको उनले बताए ।

कृषि पेशालाई ब्यवसायिक बनाउनका लागि यहाँका किसानहरु संगठित भएर लामातरा ताजा तरकारी कृषक समुह, कालीमाटी जलजले माछापालन कृषक समूह र गोलपाटन ताजा तरकारी उत्पादक कृषक समूह गठन गरी कृषक अगाडि बढिरहेका बेला कृषि कार्यालय तथा महानगर कृषिमहाशाखाले टुटा किराको विगविगी हटाउन पहल गरिदिए आफूहरुको उत्साहमा कमि हुने थिएन भन्ने उनको आशा रहेको पाइन्छ ।

विष्णुहरि पाैडेल

तपाईँको मत