कृषि

कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती

लेखनाथ । शुक्लागण्डकी नगरपालिका वडा नं-२ स्थित एक्ले खेतमा ॐ कृषि फर्मका सञ्चालक कविराज खनालको कुरिलो तथा सिप्लीकान खेती अन्य कृषकहरूका लागि पाठशाला बन्न थालेको छ । असारमासको टन्टलापुर घाममा पनि महिला उद्यमी संघ नेपाल, तनहुँको शुक्लागण्डकी नगरपालिका नगर इकाईको टोली अवलोकनका लागि पुग्दा खनाल बिरुवा गोडमेलमा व्यस्त थिए ।

कुरिलो र सिप्लीकान खेतीबारे स्थलगत रुपमा नै जान्न र बुझ्न पुगेको महिला उद्यमी संघ नेपाल तनहुँ शुक्लागण्डकी नगर इकाईका अध्यक्ष तुलसी शाह नेतृत्वको टोलीलाई खनालले यस खेतीका फाइदा, लगाउने तरिकाका साथै विद्यमान बजार समेतको जानकारी गराए ।

स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश समाजमा फैलाउने उद्देश्य राखेका खनालको फर्म उद्यमशिलताको विकासमा लागेका संघ संस्थादेखि कृषिमा लागेका व्यक्ति विशेषका लागि पनि  पाठशाला बन्दै गएको छ ।

खनालले शुक्लागण्डकी नगरपालिका वडा नं १, २ का साथै पोखरानगरपालिका वडा नं ३२ मा पनि  फलफूल, कागती, तरकारी, नर्सरी उत्पादनसँगै बिक्री केन्द्र पनि सञ्चाचन गरेका छन् । आफ्नो फर्ममा कुरिलो, सिप्लीकान, कागती माछाका साथै विभिन्न प्रजातिका फलफूल तरकारीसमेत उपलब्ध रहेको उनले बताए  ।

फर्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लीकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरण लगायतका विषयमा जानकारी गराउँदै आएका खनालले व्यवसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेशालाई सँगसँगै अघि बढाएका  छन् । 

अरुका लागि पनि अनुकरणीय बनेका खनाल रेडियो नेपाल र आदर्शसमाज राष्ट्रिय दैनिकका संवाददाताका रुपमा पनि रहेका  छन् ।

हाल लेखनाथ पत्रकार मञ्चको अध्यक्ष रहेका उनको बहुआयामिक व्यक्तित्व देखेर फर्म अध्ययन गर्न आउनेहरु तारिफ गरिरहेका देखिन्छन् ।

विगत चार वर्षदेखि  शुक्लागण्डकी नगरपालिका वडा नं २ एक्लेखेतका साथै तार्कुडाँडामा कुरिलो खेतीका साथै सिप्लीकान खेती गरिरहेका खनालको फर्ममा नौ सय बेर्ना कुरिलो लगाइएकोमा आठ सय बेर्नाबाट उत्पादन सुरु भैसकेको छ ।

कुरिलो खेतीबाट वार्षिक चार लाख रुपैयाँ आम्दानी गरिरहेको उनको दाबी छ । उनको फर्ममा  सुरुमा एक हजारको संख्यामा सिप्लीकान लगाएपनि डढेलोजन्य प्रकोपका कारण हाल आठ सयको संख्यामा बोटहरू रहेका छन् ।

कुरिलो र सिप्लीकान दुवैको बजारका लागि समस्या नरहेको बताउँदै उनले कुरिलो प्रतिकिलोे एक हजार रुपैयाँसम्म बिक्री भइरहेको बताए । नेपालका अधिकांश भु-भागमा लगाउन सकिने कुरिलो बहुपोषणयुक्तऔषधीय गुण भएको बहुवर्षीय वनस्पति हो ।

स्वास्थ्यका लागि धेरै उपयोगी कुरिलोको टुसालाई तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिक तत्व पाइने र बच्चादेखि बृद्धसम्म सबैका लागि यो अत्यन्त उपयोगी रहेको खनालको भनाइ रहेको छ ।

सिप्लीकान विशेषत नेपालको पहाडी भागमा पाईने अर्को औषधीजन्य वनस्पति सिप्लीकान स्वादमा केही तीतो हुने भएकोले तरकारी या अचारको रुपमा विभिन्न किसिमको परिकार बनाएर खाने प्रचलन रहेको छ । उच्च रक्तचापको समस्याका साथै मृगौला एवम् ज्वरोजन्य समस्यामा यसको उपयोगिता रहने उनले बताए  ।

खनालका अनुसार सिप्लीकानको गुन्द्रुक धेरै महत्वको मानिन्छ । यसको गुन्द्रुक प्रतिकिलो चारदेखि पाँच हजार रुपैयाँ सम्ममा बिक्री गर्न सकिन्छ ।

उत्पादन गर्न सकेमा बजारको कुनै समस्या नरहेको बताउँदै उनले यसतर्फ आम सर्वसाधारणलाई आकिर्षित गर्न सकेमा त्यसबाट रोजगारी अभिबृद्धि गर्न सकिने धेरै सम्भावना देख्छन् ।

रोजगारीको खोजीमा धेरै नेपाली युवाहरू विदेशिएका अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लीकान जस्ता खेतीतर्फ अभिप्ररित गरी उनीहरूलाई यहीँ नै बस्न सक्ने वातावारण बनाउन सकिन्छ भन्दै वास्तविक कृषकको पहिचान गरी उनीहरूलाई प्रोत्साहित बन्ने वातावारण राज्यले तयार गर्न सकेमा कृषितर्फको आकर्षण बढेर जाने र त्यसले बढ्दो युुवा पलायन रोक्दै उनीहरूलाई यही नै केही गरौं भन्ने भावनाको विकास गराउने धारणा उनको छ ।

बहुपोषण र औषधीयुक्त कुरिलो तथा सिप्लीकान खेती घरघरमा गरिएमा त्यसले सर्वसाधारणको स्वास्थ्य रक्षामा पनि योगदान पुग्ने बताउँदै आफूले प्राप्त गरेको ज्ञान तथा अनुभव समाज तथा राष्ट्रमा बाँड्न पाएकामा खुशी व्यक्त गर्दै खनालले फर्ममार्फत कुरिलो तथा सिप्लीकानका बेर्नाका साथै निबुवा, कागती आदिका बिरुवा तयार गरी बेच्दै आएकोसमेत सुनाए ।

फर्ममार्फत माछा पालन पनि सञ्चालन  गरेका उनले पछिल्लो समयमा मत्स्य अनुसन्धान केन्द्र, बेगनासको अनुसन्धानबाट प्रमाणित भई पोखरा र आसपासमा धेरै सम्भावना देखिएको सिपीमा मोती खेती गर्नेतर्फ पनि आफ्नो सोच रहेको र राज्यले चाहेमा पाँच वर्ष भित्रमा बाख्रा पैँचो कार्यक्रम र जिल्लाका बाँझो जमिनलाई कुरिलो र सिप्लीकान खेतीले हराभरा बनाउने लक्ष्मका साथ अगाडि बढेको बताए । 

तपाईँको मत