गाउँ सहर

पोखरामा नागरिक सम्मान

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २९ ले वडा भित्र रहेका १० जना उत्कृष्ट समाजिक ब्यत्तित्वहरुलाई नागरिक सम्मान गरेको छ ।

पञ्चायतकालदेखि वर्तमान अवस्थासम्म वडाको विकासको लागि विभिन्न क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरुको योगदानका आधारमा मुल्याङकन गरी शुक्रवार नागरिक सम्मान गरेको हो ।

विगतमा गरेका सामाजिक सेवाको मूल्याङकन गरेर वडा नं २९ ले भावी पुस्तालाई समाजसेवा तर्फ अग्रसर हुने प्रेरणा मिलोस भन्ने उदेस्यले वडा भित्र रहेका करीव १४ हजार जनसख्याको माझवाट कार्यविधी वनाएर छनोटमा परेका १० जनालाई विभिन्न विधामा सम्मान गरेको हो ।

समग्र वडाको क्षेत्राधिकार भित्र रहेर खानेपानी,विद्यालय,वाटो,कुल कुलेसा र सामाजिक अभियान्ताका रुपमा परिचय बनाएका ब्यक्तिहरुको कामको मुल्याङ्कन गरी एक जनालाई श्री गौरव पदक, दुई जनालाई श्री रत्न पदक र सात जनालाई श्री गरिमा पदक प्रदान गरिएको हो ।

वडाको सर्वोत्कृष्ट सम्मानको रुपमा रहेको गौरव पदक लेखनाथ नगरपालिका सस्थापक मेयर शालिकग्राम पौडेललाई प्रदान गरिएको छ । पौडेलले नगरपालिकाको दिर्घकालिक विकासमा खेलेको भूमिका र लेखनाथ क्षेत्रमा खानेपानीको ब्यवस्था मिलाउदा गरेको कामको उच्च मूल्याङ्कन गरी श्री गौरव पदकबाट सम्मान गरिएको हो । पौडेल विदेशमा रहेकाले उनलाई आधा तोला सुनको तक्मा, सम्मान पत्र र दोसल्ला प्रदान गरिने भएको छ ।

यसैगरी उत्कृष्ट सम्मानको रुपमा रहेको श्री रत्न पदकबाट भोजराज भण्डारी र स्वर्गीय अनरेरी क्याप्टेन तीर्थ वहादुर गुरुङलाई सम्मान गरिएको छ । भण्डारीले स्थानीय रुपमा जग्गा संरक्षण,खानेपानी र शैक्षिक बिकासमा गरेको योगदान र गुरुङलाई गाउ पञ्चायतको जनप्रतिनिधी र भूपू खानेपानी योजना संचालन गरी समाजमा गरेको योगदानका आधारमा उनका श्रीमती हरिमाया गुरुङ र सीता देवी गुरुङलाई सम्मान गरिएको हो । श्री रत्न पदकमा तीन तोला चाँदीको तक्मा र सम्मान पत्र रहेको छ ।

यता श्री गरिमा पदकबाट यम कुमारी मगर,स्वर्गीय केर वहादुर कुमालकी श्रीमती विष्णुमाया कुमाल,श्रीभद्र भण्डारी,मेजर रामप्रसाद गुरुङ,मोतीलाल सुनार,ऋषिराम भण्डारी र क्याप्टेन चन्द्रवहादुर गुरुङ सम्मानित  भए । उनीहरुले वडा भित्र खानेपानी, विद्यालय,मठमन्दिर,बन क्षेत्र देखि सार्वजानिक जग्गा संरक्षण र समाजमा केही गर्नु पर्छ भन्ने प्ररणदायी भूमिका निर्व ाह गरेको भन्दै सम्मान गरिएको हो ।  सम्मानमा एक तोला चाँदीको तक्मा, सम्मान पत्र र दोसल्ला रहेको थियो ।

पोखरा महानगरपालिकामा नै पहिलो पटक गरिएको सम्मान कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजनितीक अस्थिरताका कारण जनमानसमा समाजिक कामप्रति कम चासो देखिरहेको अवस्थामा भावी पुस्तालाई समाजसेवातर्फ अग्रसर गराउन यस प्रकारका कार्यक्रमले थप प्रेरणा प्रदान  गर्ने विश्वास दिलाएका थिए ।

कार्यक्रममा वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले ‘सामाजिक योगदानको उच्च मुल्याङ्कन गर्दै भविष्यका लागि पनि महत्वपूर्ण भुमिका खेल्न सक्ने जनशत्ति निर्माण तथा समाज ,देश र भावी पुस्तालाई सिकाउनका लागि पनि यस प्रकारको कार्यक्रम राखेको बताएका थिए ।

सोही अवसरमा नागरिक सम्मान छनौट समितिका संयोजक ठाकुर प्रसाद घिमीरेले छनोटको कार्यविधी र सम्मानीत ब्यत्तिहरुका वारेमा परिचय गराएका थिए ।

कार्यक्रममा सम्मानित ब्यक्तिहरुको तर्फबाट भोजराज भण्डारी, सम्पूर्ण महिलाहरुको तर्फबाट काशिमाया गुरुङ,कार्यविधि निर्माण समितिका संयोजक माधव शरण उपाध्याय, छनोट समितिका सदस्य जंग बहादुर गुरुङ लगयतले वडाले गरेको सम्मान एउटा ऐतिहासिक र अनुपम कार्य भएको धारणा राखेका थिए ।

वडा सचिव दुर्गा न्यौपानेले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वडा सदस्य क्षेत्र बहादुर गुरुङले गरेका थिए ।

विष्णुहरि पाैडेल

तपाईँको मत