दृष्‍टिकोण

बैंक दु:खको साथी, सुन्दर भविष्यको लागि बैंकिङ्ग शिक्षा   

नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय वित्तीय सेवा पुर्‍याउनु वित्तिय संस्थाको उद्देश्य हो । बैंकिङ्ग सेवामा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने नीति अनुरुप नेपालका बैंकहरुले वित्तीय शिक्षालाई समेत जोड दिँदैआएका छन् । बैंकहरुले एकातिर वित्तीय संस्थाहरुको सेवा विस्तारको साथै सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिएको पाइन्छ भने अर्कोतर्फ नागरिकमा वित्तीय साक्षरता लगायत वित्तीय सेवा उपयोग अभिवृद्धि गर्न जानकारीमूलक र चेतनामूलक कार्यक्रमहरु सञ्चालनमा ल्याएको देखिन्छ ।

डिसेम्वर, २०२२ को नेपाल राष्ट्रबैंकको सर्वे तथ्यांक अनुसार १८ देखि ३० वर्षको उमेरका व्यक्तिमा वित्तिय साक्षरता प्रतिशत ६३.२ छ भने ६० वर्षभन्दा माथिको मा २७.२ प्रतिशत बैंकिङ्ग साक्षरता देखिन्छ । तथापी तथ्यांकले सरदर कुल जनसंख्याको करिव ५८ प्रतिशतमा वित्तिय पहुंँच र साक्षरतासमेत  रहेको देखाएको छ भने कुल जनसंख्याको ४२ प्रतिशत जनतामा वित्तिय साक्षरताको अनुभुति छैन । महिलाभन्दा पुरुषमा बढि वित्तिय साक्षरता प्रतिशत देखिन्छ । नेपाल राष्ट्रबैंकलेसमेत यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थालाई आफ्नो एकिकृत निर्देशन नं २१ मार्फत वित्तिय साक्षरताको कार्यान्वयन गर्न सचेत गराउँदै निर्देशन जारी गरेको छ तापनि यदाकदा र्याली र सभा गर्नु बाहेक यसलाई बैंक तथा वित्तिय संस्थाले अभियानको रुपमा सुरु गर्नु पर्ने देखिन्छ ।  वित्तिय साक्षरता मा क्षेत्रगत सन्तुलनको अभाव छ तसर्थ क्षेत्रगत सन्तुलन विना आर्थिक तथा बैंकिङ्ग विकासको कल्पना अधुरो हुन जान्छ । हाल बैंकिङ्ग क्षेत्रप्रति अनर्गल प्रचार गर्ने र सोमा सहभागी हुनेको संख्या पनि कम साक्षर क्षेत्रबाट नै देखिन्छ तसर्थ यसको पहिचान गरि जहाँ बैंकिङ्ग शिक्षाको अभाव छ त्यही क्षेत्रलाई बढि लक्षित गरेर सुन्दर भविष्यको लागि बैंकिङ्ग शिक्षा भन्ने नाराका साथ बैंकिङ्ग शिक्षा दिनु जरुरी छ । तसर्थ वित्तिय शिक्षाको लागी मोबाईल बैंकिङ्ग अवधारणा लगायत डिजिटलाईजेसनलाई आत्मसाथ गर्दै देशको विभिन्न क्षेत्रको गाउँघर, टोलमा गई बैंकिङ्ग सेवा र यसको प्रयोग बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिनु पर्दछ ।

बैंकको कुनै एक सूचकमा देखिएको कमजोरीले बैंकनै डुब्छ भन्नुले सर्वत्र बैंकिङ्ग क्षेत्रको विश्वासनीयतामा कमी आउँछ । बैंक अर्थतन्त्रको पहरेदार भएको हुँदा यसबारेमा टिप्पणी गर्दा निकै संवेदनशिल हुनुपर्दछ । निक्षेप कर्ताको ६१ खर्व रकम बैंकिङ्ग क्षेत्रको निक्षेपमा रहेको छ । जसलाई प्रमुख स्रोतको रुपमा बैंकहरुले लिएका छन् । हाल विश्व आर्थिक मन्दीको कारण सबै क्षेत्रको मनोवलमा ह्रास देखिनु स्वभाविक मानिन्छ । एक बैंकमा केही समस्या देखिँदा अर्को बैंक खुशी हुने अवस्थालाई हेर्दा बैंकर्शहरुलाई पनि थप बैंकिङ्ग शिक्षाको अवश्यकता देखिएको छ । बैंकिङ्ग शिक्षा वा वित्तिय साक्षरण वा वित्तिय चेतनामार्फत  बैंक दुखको साथी हो भनेर सर्वसाधरणलाई व्यापक रुपमा बुझाउन ढीला भइसकेको देखिन्छ । पछिल्लो समय बैंकिङ्ग शिक्षाको कमीका कारण देशमा बैंकिङ्ग क्षेत्रप्रति भ्रम फैलाउनेको बिगबिगी बढेको छ ।

आर्थिक मन्दी मात्र कारण नभइ ग्राहकको परियोजनाको आवश्भयकता भन्दा बढि कर्जा प्रवाह, एक ग्राहकलाई धितो लिएर वा विनाधितो कर्जा बहुबैंकिङ्ग पद्धतिबाट गएको र एक उद्धेश्यको लागी कर्जा लिने खर्च अर्कोतर्फ गर्ने परिपाटीको कारण नै आज सहकारीमा र लघुवित्तमासमेत समस्या देखिएको छ । यसतर्फ पनि बैंकर्श थप तालिम तथा बैंकिङ्ग शिक्षा दिनुपर्ने देखिन्छ एकातर्फ भने अर्कोतर्फ ऋणीलाई पनि आवश्यकता भन्दा बढि कर्जा लिँदाको परिणामबारे बेलैमा बैंकिङ्ग शिक्षामार्फत चेतना दिनु पर्दछ । ग्रामीणस्तरमा गरिब न्युनीकरण, वित्तिय पहुँच विस्तार, महिला सशक्तिकरण, उद्याेगधन्दा र व्यापार व्यवसायको विस्तारको योगदान पुराईरहेको बैंकिङ्ग क्षेत्रमा केही समयदेखि समस्या देखिएको छ । नाफा केन्द्रित भएर महिला तथा गरिबलाई ऋणको पासोमा पार्यो भन्ने आवाज  उठेको छ । ऋण लिने बेलामा ऋणीले पनि पछि यो  तिर्नु पर्दछ भन्ने जानकारी हुनु पर्ने होइन र ? यस सम्बन्धि चेतना नभएकै हो त ? आफ्नो वित्तिय समस्या समाधानको लागि ऋण लिने अनि सरकारले तिरिदिने वा बैंकले मिनाहा गरिदिने यो कसरी संभव छ ? यस सम्बन्धमा ऋण लिनु र दिनुपूर्व, निक्षेप बैंकमा राख्नुपूर्व यसको समग्र कारण र परिणामको बारेमा ऋण वा निक्षेप दिने र लिने सबैलाई बैंकिङ्ग शिक्षाको जरुरी छ जसले भविष्यलाई सुन्दर बनाउने छ ।  त्यसो त बैंक दु:खको साथी हो यसबाट नै हामी आर्थिक संपन्नतामा पुग्यौँ । हाम्रो जीवनस्तर माथि गयो । बैंक भनेको त माईतिघर जस्तै हो । स्वेदशमै आफ्नो रुचि अनुसारको व्यावसाय गर्न पाईयो । बैंकप्रति आफुमा विस्वास हुनु पर्यो । बाेल्न र लेख्न यसैले सिकायो भनी बैंकहरुको प्रशंसा गर्नेहरुको संख्या हेर्ने हो भने करिब ८० भन्दा बढि छ । 

वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच सुनिश्चित गर्न वित्तीय समावेशीकरण एवम् वित्तीय साक्षरता कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै भुक्तानी प्रणालीमा प्रविधिको प्रयोगलाई बढावा दिने नीति हालको मौद्रिक नीतिले लिएको छ । संघीयताको प्रभावकारी कार्यान्वयनलाई वित्तीय पहुँच र समावेशिता मार्फत सहयोग पुर्‍याउनु पर्ने सन्दर्भमा राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थाहरुको कार्यक्षेत्रलाई प्रादेशिक संरचना अनुसार समायोजन गर्न नीतिगत व्यवस्था समेत गरिएको छ । यस व्यवस्थाले वित्तीय समावेशिता र पहुँच विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ । वित्तीय सेवामा नागरिकको पहुँच पुग्न वित्तीय संस्थाहरुको विस्तार हुनुको साथै वित्तीय उपकरणहरुको उपलब्धता हुनु आवश्यक छ । नागरिकमा वित्तीय सेवाको उपयोग गर्ने चाहना र आवश्यकता दुवै हुनु पर्दछ । अर्थात् वित्तीय पहुँच सुनिश्चित हुन वित्तीय सेवाको आपूर्ति र माग दुवै पक्ष सुदृढ हुन जरुरी छ । वित्तिय साक्षरता विनाको वित्तिय पहुँचले बैंक तथा वित्तिय संस्थाको खर्च बढाई निरन्तर घाटामा जाने प्रवृति देखा पर्ने लक्षणहरु देखिँदा आवश्यक नपर्ने शाखा बन्द गर्नुपर्ने आवाज पनि उठेको अवस्था छ ।  नेपालमा जनसंख्याको ठूलो हिस्सा औपचारिक वित्तियसेवाबाट बञ्चित देखिन्छ । मुलुकमा एक चौथाई जनसंख्या गरिबीको रेखा मुनी रहेको छ । यसलाई गरीबीबाट मुक्त गर्नको लागी र बेरोजगारी बढाउन बैंकिङ्ग शिक्षा  र चेतना अपरिहार्य भएको छ । दु:खको साथी बैंक नै हो भन्ने चेतना दिन ढीला गर्नु हुँदैन । उचित वित्तिय शिक्षाले मात्र उद्धम व्यवसायका संभावित जोखिमहरुलाई न्युनिकरण गर्न सकिन्छ । वित्तिय साक्षरता सम्बन्धि शिक्षा विद्यालय स्तरबाट नै बालबालिका तथा किशाेर किशाेरीहरुलाई लक्षित गरि  पाठ्यक्रम तयार गरि  शिक्षा प्रदानको सुरुआत गरिनुपर्दछ ।  

गाउँ घरको दैलोमा बैंक तथा वित्तीय संस्था आउनु भनेको आर्थिक क्रियाकलापमा वित्तीय स्रोतको आपूर्तिको हुनु हो । बैंकको उपस्थितिले अवसर नै अवसर ल्याउने भएको हुनाले त्यस्ता अवसरहरूको सदुपयोग हरेक व्यक्तिले गर्नु  पर्दछ । यसको लागी वित्तिय साक्षरता अति जरुरी छ  बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्परालाई निरुत्साहित गरी उत्पादनशील क्षेत्रमा कर्जा बढाउन र ग्रामीण क्षेत्रमा उपलव्ध उत्पादनको अवसरलाई प्रोत्साहन गर्न सहयोग पुराउछ । ऋण लिई विदेश जानुभन्दा स्वदेशमा नै उद्यमशीलता विकासका लागि लगानी बढाउँदै उत्पादनशील क्षेत्रमा लगानी बढाउनु आजको खाँचो हो । नेपालमा कृषि, पर्यटन, ऊजा, घरेलु तथा साना उद्योग लगायतको राम्रो संभाव्यता हुँदा हुँदै आसाशित  विकास नहुनु दुःख लाग्दो विषय हो तसर्थ बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा प्राप्त हुने कर्जा मार्फत आउँदा दिनमा आर्थिक उन्नति संभव छ । सर्वसाधारणको निक्षेपको सुरक्षामा ध्यान दिई बैंक तथा वित्तीय संस्थालाई अनुशासित, मितव्ययी बनाउन सञ्चालक, शेयरधनी तथा कर्मचारी सबैले संस्थागत सुशासनतर्फ विशेष ध्यान दिनु आजको पहिलो आवश्यकता हो ।

उत्पादनमूलक व्यवसायमा प्राथमिकताकासाथ लगानी गरी देशको आर्थिक अवस्थालाई उकास्न पहलीकदम चाल्न ढीला भइसकेको छ । नेपालमा लगानीको लागि प्रचूर मात्रामा संभावना रहेकोले अवसरहरुको सदुपयोग गर्न र दुर्गम तथा बैंकिङ्ग पहुँच नपुगेका बस्तिहरुमा बैंकिङ्ग सेवा विस्तार गरी लगानीको दायरा बढाउन ढीला भइसकेको छ । प्रचार प्रवसार मात्र भन्दा पनि जनताको घर दैलोमा बैंक पुगी कारोबार र प्रविधिको बारेमा व्यवहारिक ज्ञानदिन सकेको खण्डमा बैंक दु:खको साथी हो भन्ने कुराले सार्थकता पाउन सक्दछ । वित्तीय क्षेत्रका स्रोत साधन दीगो विकासलाई टेवा पुर्‍याउने क्षेत्रतर्फ निर्देशित गर्ने, वित्तीय उपकरण एवम् पूर्वाधारहरुको समयसापेक्ष विकास गर्ने र बैंकिङ्ग शिक्षा फैलाउनेतर्फ बैंकिङ्ग क्षेत्रले प्रयास गर्नु पर्दछ । यसबाट नै सुन्दर भविष्यको निर्माण संभव छ । संघीयता वित्तिय क्षेत्रको स्रोत परिचालनको अवसर पनि भएको हुँदा स्रोत साधनको विवेकपूर्ण उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न लक्षित बैंक तथा वित्तिय संस्थाहरुको  प्रयासमा सवैको सहयोग जरुरी छ यसबाट मात्र संघीय संरचनामा बैंक तथा वित्तिय संस्थाले भरपर्दो र  दिगो सेवा दिन सक्दछ र वित्तिय समावेशिता, साक्षरता र पहुँचबाट नै बैंकिङ्ग अपराध र जोखिम कम गर्न सकिने हुँदा वित्तिय शिक्षालाई आगामी दिनमा पाठ्यक्रमको रुपमा विकासको साथै यसतर्फ व्यापक सुधार ल्याइ जनसाधरणको भविष्य सुन्दर बनाउन बैंकिङ्ग क्षेत्र सक्षम हुने छ भन्ने कुरामा कसैको दुइमत नहोला । (लेखक वैक तथा वित्तिय संस्था सम्बन्धि विज्ञ हुन् ।)

डा. दिबाकर बशिष्ठ

तपाईँको मत