ब्लग

परीक्षामा सफलताका सुत्रहरु

श्रीमदभागवत गीताको अध्याय १४ मा भनिएको छ- "सोच र जीवनशैलीमा एकरुपता ल्याउने व्यक्ति नै सफल व्यक्ति हो' भनेझैँ सफलताको लागी कुनै पनि व्यक्तिमा समर्पण अथवा उत्सर्ग, भक्तिभाव वा उपासन, अनुशासनजस्ता पक्षहरुको जरुरी छ ।

हाल हजारौं युवाहरु रोजगारीको लागि विदेश गइरहेको अवस्था छ । सीप, जाँगर हुने हो भने स्वदेशमा प्रशस्त रोजगारीका अवसरहरु नभएका होइनन् तर रोजगारीको नाममा शौखिन जीवन स्वतन्त्रतापूर्वक बिताउन विदेश जाने चलन वृद्धि भएको छ भन्नेहरु पनि मनग्य छन् । त्यसो त नेपालमा बेरोजगारीको अवस्था कहाली लाग्दो छ । हामी कुनै पनि विषयमा अध्ययनको निश्चित डिग्री प्राप्त गरेपछि कार्यालयको घुम्ने कुर्सी वा अन्य कुर्सीमै बसेर जागिर खाने सोचमा हुन्छौं तर हामी प्रविणता प्रमाणपत्र तह, स्नातक वा स्नातोकत्तर गरेर के पानी पुरी बेच्न, मम बनाउन, शैलुनमा काम गर्न वा अन्य व्यवसायिक क्षेत्रमा कामगर्न, मन पराउछौं ?

त्यसो त डिग्री सकेर यस्ता कार्यहरु गर्ने व्यक्ति नभएका त कहाँ हुन् र भैसीँ पालन र गाईपालन लगायत कृषि पेशा गर्नेहरु पिएचडि र मास्टर डिग्री होल्डर समेत छन् उनीहरुले मनग्य अर्थोपार्जन गरेका धेरै उदाहरणहरु पाईन्छ ।  अध्ययन सकेपश्चात जेसुकै कार्य गरे पनि अर्थोपार्जन पनि हुन्छ र देशको अर्थतन्त्रमा योगदान गर्न सकिन्छ भन्ने सोच हामीमा नभएकै कारण पनि नेपालमा रोजगारीको संभावना कम भएको देखिन्छ । कार्यालयमा नै काम गर्नको लागि लोकसेवा आयोगद्वारा लिईने लिखित र अन्तरवार्ता जस्ता परीक्षाहरुमा उत्कृष्ट अंकका साथ प्रतिस्पर्धात्मक रुपमा उतिर्ण हुनु अनिवार्य छ ।

विद्यार्थीमा हुनुपर्ने पाँच गुणको सम्बन्धमा एउटा श्लाेक छ काम चेष्टा, बको ध्यानं, स्वान निद्रा तथैव च स्वल्पहारी, गृहत्यागी विद्यार्थी पंच लक्षणं । कागजस्तै चतुर, वकुल्ला जस्तो ध्यान, स्वान जस्तै कम निद्रा र कम खाना जस्ता लक्षण सफलताको लागी आवश्यक पर्दछ भनिए जस्तै विद्यार्थीमा मात्र नभइ लोकसेवा लगायतबाट लिईने परीक्षाको सफलतामा उपरोक्त गुणहरु उपयोगी हुन सक्छ । संस्कृतमा एक स्लोक छ उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः । न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः ।। काम गर्दा र मेहनत गर्दा नै सफलता हात लाग्ने हो मस्त निन्द्रामा सुतेको सिंहको मुखमा हरिणा आफैँ पस्छ र ? भने जस्तै मेहनत र श्रम नगरि परीक्षामा सफल पनि त हुन सकिँदैन नि । 

आज धेरै लोकसेवा आयोगबाट लिईने बैंकिङ्ग होस् वा निजामती सेवा वा अन्य क्षेत्रको तयारी गरिरहेका परीक्षार्थीहरुको मुखबाट शिक्षकलाई प्रश्न गरेको सुन्ने गरिन्छ, १० नम्बर ल्याउनको लागि कति पन्ना लेख्नु पर्ला सर ? जति पढ्दा पनि भएन पास गर्न के गर्नु पर्ला सर ? हामी सुन्ने गर्दछौँ । म त ६ महिना मात्रै तयारी गरेको  शाखा अधिकृतमा उतिर्ण भएँ, म त बैंकको अधिकृत वा सहायकमा नाम निकाल्न सफल भए आदी । कसरी त भन्ने कौतुहलता हामी सबैको मनमा आउनु स्वभाविक हो । एकातर्फ हेर्दा प्लस टु पास वा स्नातक पास गर्दा वित्तिकै विदेश जानेको ओइरो लागेको छ अर्कोतर्फ हेर्दा मास्टर एमबिएस वा एमबिए वा एमएको परीक्षा सक्दा बित्तिकै लोकसेवाबाट लिईने परीक्षा कसरी उतिर्ण गर्ने भनेर घरमै बसेर अध्ययन गर्ने एकथरी छन् भने अर्कोथरी असंख्य च्याउ जस्तै खुलेका सयौँ तयारी कक्षा संचालनको नाममा खोलिएका संस्थाहरुमा तयारी कक्षामा सहभागि हुन बिहानै देखि ट्राफिक जाम हुने गरि परीक्षार्थीहरुको बाक्लो जमघट देखिन्छ ।

परीक्षा पास गर्नको लागी त्यस्ता संस्थाहरुमा मोटो रकम खर्चेर पढ्नै पर्दछ भन्ने हुँदैन । घरमै लगनशील भइ अध्ययन गर्नेहरु पनि उतिर्ण भएकै छन् । हामी कुनै संघ संस्थामा वा निजामती सेवाको लागि पदको विज्ञापन हुँनासाथ कस्सिएर पढ्ने बानी एकातर्फ देखिन्छ अर्कोतर्फ परीक्षाको तालिका प्रकाशन भएपछि मात्र बढि मिहेनत गर्ने बानीले मात्र यस्ता खालका परिक्षा उतिर्ण हुन कठिनाई हुने हुँदा पदको विज्ञापन होस् वा नहोस , परीक्षाको तालिका प्रकाशन होस् वा नहोस् सम्बन्धित विषयवस्तुको नियमित अध्ययन गर्ने बानी हुनु पर्दछ जसको उतिर्ण दर करिब ८० प्रतिशत भन्दा बढि रहेको पाईन्छ । 

तसर्थ, चाहे विद्यार्थीको लागी होस् वा जागिर सम्बन्धि प्रतियोगितात्मक परीक्षा नै किन नहोस् कुनै पनि परीक्षामा उतिर्ण हुन निम्न कुरातर्फ ध्यान दिनु पर्ने हुन्छ । बैंकिङ्ग सम्बन्धित परीक्षा दिनेहरुले अर्थात निजामती सेवा वा अन्य सेवा जे भएपनि  नियमित रुपमा हरेक २४ घण्टामा ३ घण्टा कम्तीमा पनि विभिन्न पत्रपत्रिका, किताबहरु र बैंकिङ्ग सम्बन्धित तथ्यांकहरु, आर्थिक लेखहरु, नेपाल राष्ट्रबैंकको र बैंकिङ्ग क्षेत्रको वेबपेजहरुको अध्ययन र विश्लेषण गर्ने । योजना आयोगका बुलेटिन, नेपालको भुगोल, इतिहास, अर्थशास्त्र, जस्ता विषय वस्तुहरुको गहन अध्ययन गर्ने, आपसमा विषय वस्तुको सम्बन्धमा निरन्तर छलफल चलाउने बानी बसाल्ने, पूर्व तयारीका अध्ययन सामग्री जस्तै किताब, पत्रिका र अन्य कुराहरुलाई जतनका साथ राख्ने बानी बसाल्ने,  नेपाली वा अंग्रेजी विषयम प्रकाशित आर्थिक पत्रिका नियमित अध्ययन गर्ने । सम्बन्धित विषयमा विषयगत वा वस्तुगत रुपमा विगतमा सोधिएका प्रश्नहरुको संगालो बनाउने र समाधान खोज्ने बानी बसाल्ने ।

उत्तर पुस्तिकामा चाहिँदो भन्दा बढि पटक्कै नलेख्ने । उत्तरपुस्तिकाको दुरुपयोग नगर्ने अर्थात एक साईटमा लेख्ने अर्को साईड खाली राख्ने कार्य नगर्ने, परिक्षार्थीलाई दिईएको समयको र हस्तलेखनमा निकै ख्याल गर्ने । कुनै पनि प्रश्नहरु नछुटाउने, आफुले सहजै समाधान गर्न सक्ने प्रश्नको सबभन्दा पहिला उत्तर दिने, सोधिएका प्रश्नहरुको समय दिएर राम्रो अध्ययन गर्ने जसले प्रश्न बुझी उत्तर लेख्न मद्त गर्दछ । उत्तर दिँदा छोटो, यथार्थ, आफ्नै शैली र मिठासको संयोजन गर्ने । हस्त लिखित प्राक्टिस गर्ने । दिनमा कम्तिमा पनि २ पन्ना लेख्ने बानी गर्ने ।

सामान्य ज्ञानको खातिर नयाँ कुरा सुन्दा वा पढ्दा  भेट्यो कि कपीमा टिपी हाल्ने । साथमा कपी, कलम नटुटाउने । परीक्षाको विषय सूचिलाई अक्षरश पालना गर्दै अध्ययनलाई अगाडी बढाउने । ऐन कानुनको हकमा विशेष कानुनलाई उच्च प्राथमिकतामा राख्न जोड दिने पाठ्यक्रम हेर्दा कति धेरै रहेछ कसरी पढ्ने होला । कसरी पास गर्ने होला भनेर मनमा त्रास उव्जिन सक्छ ।

तथापी, उच्च मनोवलका साथ अध्ययन गर्ने बानी बसाल्ने । सानो कक्षादेखि नै अंग्रेजी माध्यमबाट अध्ययनमा लागेका परीक्षार्थीहरुले अंग्रेजी माध्यमबाट परीक्षा दिने सुविधा छ तथापी हाम्रो लागी नेपाली भाषा मातृभाषासमेत भएको हुँदा यो भाषामा पनि दक्षता प्राप्त गर्नु अनिवार्य हो भन्ने भावनालाई बिर्सनु हुँदैन । अंग्रेजी माध्यमको बाेर्डिङ्ग बेसमा अध्ययन गरेका कतिपय व्यक्तिमा नेपाली भाषाको राम्रो ज्ञान देखिँदैन । कतिपयमा सामान्य एक वा दुई भनेको पनि नबुझ्ने अनि वान अथवा टु भनिदिनु पर्ने अवस्था देखिन्छ । यस्तो प्रवृत्तिमा सुधारको लागी नेपाली भाषाको पनि गहन अध्ययन जरुरी छ । तबमात्र लोकसेवाका परीक्षाहरुमा सहज ढंगबाट सफल हुन सकिने आधार तयार हुन सक्छ ।  मिहेनतका साथ निरन्तर लागेमा एक दिन सफल भईन्छ नै भन्ने उच्च मनोबलका साथ खटेमा कुनै पनि कुरा वा सफलता हात पार्न कठिनाई हुने छैन भन्नेमा कसैको विमति नरहला । (लेखक पूर्व बैंकर र लोकसेवा तयारी कक्षाका शिक्षकसमेत हुन् ।) 

डा. दिबाकर बशिष्ठ

तपाईँको मत