दृष्‍टिकोण

अर्नगल प्रचारको चेपुवामा बैंकिङ्ग क्षेत्र, समाधानका उपाय 

बैकिङ्ग क्षेत्र दिनहुँजसोको मिडिया र सामाजिक संजालमा आउने समाचारले त्रसित बन्न पुगेको अवस्था छ । कहिले हाम्रो बैंकको बारेमा कसले के लेख्ने हो भन्ने चिन्ताले सताएको देखिन्छ । बैंकको ऋण तिर्न बैंक कर्मचारीहरु कहिले मृगौला बेच भन्छन् भन्ने समाचार आएको छ त कहिले आर्थिक संकटले पचास शाखा बन्द गर्नुपर्ने भयो, कहिले अमुक बैंक डुव्दै छ बचतकर्ताले तुरुन्त पैसा निकाल्नुहोस, कहिले भाखा नाघेको कर्जाले सीमा नाघ्यो त कहिले बैंकको साँवा व्याज तिर्नुपर्दैन भन्ने यस्तै यस्तै समाचारले बैंकिङ्ग क्षेत्र अनर्गल प्रचारको चेपुवामा परेको छ ।

त्यसो त बैंक कर्मचारीमा केही कमी कमजोरी हुन सक्छ । वास्तविकता एकातर्फ हुन्छ भने सामाजिक संजाल र मिडियामा कतिपय समाचार बढाई चढाई अनर्गल प्रचार गरिएको हुन्छ । यस्ता अनर्गल बजार हल्लालाई बैकिङ्ग क्षेत्र एवं बैंकर्स एसोसियसन र सरकारले समेत कडारुपमा खण्डन गर्न ढिला भैसकेको देखिन्छ । एक बैंकलाई परेको समस्यामा सबै एकजुट भएर साथ दिँदै सर्वसाधरणको निक्षेप र हितको सुरक्षा एव गुणस्तरिय बैंकिङ्ग सेवामा ध्यान दिनुपर्दछ । स्मरणहोस् कुनै एक ठुलो वाणिज्य बैंकमा संकट आयो भने देशको समग्र अर्थतन्त्रमा संकट आउदछ भन्ने कुरालाई बेलैमा स्मरण गर्नु जरुरी छ । यस्तो खालको समाचारले दिन प्रतिदिन बैंकिङ्गर क्षेत्रको शाखमा गिरावट आउनुको.साथै पुँजी, नाफा र कर्मचारीको मनोवलमा समेत गिरावट आइ दिर्धकालीन असर पर्नेतर्फ संबन्धित निकायले बेलैमा सोच्नुपर्ने देखिन्छ । सर्वसाधरणले पनि समस्या परेको बेलामा बैंकिङ्ग क्षेत्रले आर्थिक सहयोग गरेको छ र हाम्रो सम्पतिकाे सुरक्षा गर्ने प्रमुख निकाय बैंक नै र बेला बखत बैंकले हामीलाई ठुलो गुन लगाएको छ भन्ने कुरालाई भुल्नु हुँदैन भने बैंकमा कार्यरत कर्मचारीले पनि ग्राहक भनेको भगवान हुन् तसर्थ उनीहरुलाई भरपर्दो र गुणस्तरिय सेवा दिनु पर्दछ र आफ्नो नीतिहरुमा यथासक्य लचकदार हुनु पर्दछ भन्ने कुरालाई कदापी भुल्नु हुँदैन । तवमात्र ग्राहक र बैकिङ्ग क्षेत्रबीच सन्तुलन कायम हुन सक्छ । 

पछिल्लो समय लघुवित्तको क्षेत्रमा विभिन्न समस्या देखा परेको हुँदा यसलाई छिटाे समाधान गर्नको लागि आवश्यक परे पूर्व मोडेललाई नै परिवर्तन गर्नु पर्ने हुन्छ । प्रयाप्त तरलता हुँदा हुँदै पनि कसरी स्रोतको व्यवस्थापन गर्ने भन्ने समस्या तिव्र देखिन्छ । एकातर्फ कर्जाको माग कम छ अर्कोतर्फ लिएको ऋण फिर्ता भएको छैन यसले थप संकट निम्ताएको छ । व्याजदरलाई आधार दरलाई बेस मानी निर्धारण गर्ने र ऋणीमैत्री बनाउन ढिला गर्नु हुँदैन एकातर्फ भने अर्कोतर्फ प्रविधिको प्रयोगमा ध्यान दिन ढीला भइसकेको छ । उपभोगमा भन्दा उत्पादनमा लगानी बढाउने नीति लिनु पर्दछ । ग्रामीण मोडेलले सामुदायिक संलग्नता र शसक्तिकरणलाई जोड दिएको भएता पनि बंगलादेशमा जस्तो नेपालमा हालको समयमा सामुहिक जमानी लगायतको ग्रामिण मोडेल सफल नभएको हुँदा र ऋण नतिर्ने प्रवृति बढेको हुँदा यो मोडलमा समय सुहाउदो परिवर्तन गर्नु पर्ने देखिन्छ । स्वार्थ समुहको भमलाई चिर्नका लागी वित्तिय चेतनामा बैकिङ्ग क्षेत्रले थप क्रियाशिलता देखाउन ढिला भइसकेको छ । 

अहिले लधुवित्त लगायत समग्र बैंकिङ्ग क्षेत्रको शाख गिराउन धेरै समुहले टार्गेट गरेको देखिन्छ । यदि बैकिङ्ग क्षेत्रले कर्जा लगानी र असुली लगायतमा नराम्रो काम गरेको हो भने नियामक निकाय नेपाल राष्ट्रबैंकले कारवाही गर्नुपर्दछ । तर केही मानिस सडकमा आएर भ्रम फैलाउँदैमा बैंकबाट लिएको ऋण मिनाहा हुँदैन भन्नेमा कुनै द्विविधा लिनुपर्ने ठाउँ छैन । बैंकमा राखेको निक्षेप सर्वसाधरणको हो भने सर्वसाधरण कै आर्थिक हित कायम गर्ने उद्देश्यले सो रकम लगानी हुने हो । स्रोत अभाव हुन नदिन निक्षेप संकलनको अधिकार सबै लघुवित्तलाइ दिनुपर्ने अवस्था देखिन्छ यसो भएमा व्याजदर कम गर्न सकिने अवस्था छ जसबाट सस्तोमा ऋण दिन सकिने हुँदा सर्वसाधरण र ऋणीबाट समेत बढी गुनासो खेप्न पर्दैन ।  बैकिङ्ग क्षेत्रले वित्तीय संस्थामा पहुँच नपुगेको व्यक्तिलाई समेत सानो सानो कर्जा दिएर आत्मनिर्भर बनाएका प्रशस्त सकारात्मक कार्यहरु छन । ग्रामीण महिलाहरुलाई आत्मनिर्भर बनाएको छ । रोजगारीको अवसर दिएको छ । यसले दुरदराजमा रहेका नागरिकलाई वित्तिय सहयोग गरेको हुँदा केही वित्तिय संस्थाले नराम्रा काम गरेको भएता पनि अधिकांशको राम्रो कामलाई सकारात्मक दृष्टिकोणले हेर्नु पर्दछ । खराब कार्य गर्ने वा नियमनकारी निकायको निर्देशनको पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकलाई कारबाही गरिरहेको देखिन्छ ।

बैंकिङ्ग जोखिमलाई कम गरि जनविश्वास कायम गर्ने अन्तर्राष्ट्रिय क्षेत्रले पालना गरेका उपायहरुमा निक्षेप बीमालाई विस्तार गर्ने, संस्थागत सुशासनलाई पालना गर्ने, ग्राहकको गुनासो सुनुवाई र सुझावको पालना, बैंकिङ्ग स्वास्थ्य अवस्थाको नियमित अनुगमन गर्ने, कर्मचारी र ग्राहकसँग विभिन्न समस्याको समाधानबारे नियमित बैठक र छलफल गर्ने लगायत छन् । यी कुरालाई नेपालको बैकिङ्ग क्षेत्रले पनि पालना गर्नु अपरिहार्य छ ।  बैंकिङ्ग क्षेत्रले अनर्गल प्रचारलाई चिर्नको लागी वित्तिय समावेशिता र साक्षरतालाई जोड दिँदै जनसाधरणलाई गुणस्तरिय सेवा प्रवाह गर्ने, संस्थागत शुसासनलाई पालना गर्ने, नेपाल राष्ट्र बैंकको निर्देशनलाई अक्षरस पालना गर्नु पर्ने, बैंकको वित्तीय अवस्था बारेमा साप्ताहिक पत्रकार सम्मेलन मार्फत जनसाधरणलाई जानकारी दिने, ग्राहकलाई हासेर सेवा दिने, जोखिमका क्षेत्रहरु पहिचान गरि समस्या समाधान गर्ने, लेखापरिक्षणले औल्याएका कैफियतहरुलाई सुधार गर्ने, जनसम्पर्कलाई बढाउने, गुनासोको उचित व्यवस्थापनमा ध्यान दिने, वित्तीय विवरणहरुलाई पारदर्शी बनाउने, नीति नियमहरुलाई समयानुकुल परिवर्तन गर्ने, अनुगमनलाई तिव्रता दिने, नेपाल राष्ट्र बैंकले समेत सबैं बैंक तथा वित्तीय संस्थाको सुक्ष्म रुपमा नियमित अनुगमनलाई बढाउने लगायतका कार्यले मात्र अनर्गल प्रचारको चुपुवाबाट मुक्त हुन सकिने कुरामा कसैको दुइमत नरहला ।

(लेखक बैंक तथा वित्तिय संस्थाका विज्ञ हुन् ।)

डा. दिबाकर बशिष्ठ

तपाईँको मत