दृष्‍टिकोण

राजनीतिक अस्थिरताले कर्मचारीतन्त्र तरङ्गित

वर्तमान सत्ता समिकरणमा बदलावसँगै को मन्त्रि आउने हुन् र कस्तो व्यवहार देखाउने हुन् भनेर कर्मचारीतन्त्र तरङ्गित बनेको छ । नयाँ सत्ता समिकरणले कर्मचारीतन्त्रमा पर्ने प्रभाव र असरका बारेमा कर्मचारीबीच व्यापक छलफल चलिरहेको छ । राजनीतिक तहमा के-के कुरा मिल्दैन अनि पटक पटक सरकार परिवर्तन हुन्छ त्यसको असर कर्मचारीलाई पर्दछ र सबैको गोटि कर्मचारी हुनुपर्ने संस्कृतिको विकास भएको छ ।

सरकार परिवर्तनपिच्छे आउने मन्त्रिले आफ्नो दुनो सोझ्याउनको लागी आफुले भनेको मान्ने कर्मचारीको जाहो गर्ने परम्परा विगतदेखिनै चल्दै आएको छ । सरकार परिवर्तनपिच्छे अबको कहाँ सरुवा हुने हो भन्ने मानसिकता सचिवदेखि पियनसम्म हुने गरेबाट सबभन्दा बढि असर सेवा ग्राहीलाई पर्ने गरेको बताउँदछन् एक जना भुक्तभोगीले । सुरु सुरुमा नयाँ मन्त्रिले नयाँ जोब र जाँगर देखाउने र सस्तो लोकप्रियताको नारा लगाउने कारण कर्मचारीतन्त्रमा भाग दौड नै मच्चिने गरेको छ । वि.स. २०४६ को जनआन्दोलन र गणतन्त्र पश्चात कुनै पनि सरकार स्थिर रुपमा चल्न सकेको छैन । त्यसैले पनि नेपाललाई राजनीतिक अस्थिरताको देश भनेर भन्नेहरु पनि मनग्य छन् । उक्त अवधिदेखि नै अधिकांश मन्त्रालय र कार्यालयमा सिस्टमले भन्दापनि राजनीतिक हस्तक्षेपले काम गर्ने गरेको छ जसको कारण कार्यालयको काममा निणर्य प्रक्रियामा कुनै त्रुटि भयो भने मन्त्रिले उन्मुक्ति पाउने तर कर्मचारी भने बलीको बाेका हुने अवस्थाबाट कर्मचारी आजित भैरहेको यथार्थ जनजाहेर नै छ । पटकै पिच्छे हुने सत्ता परिवर्तनले विकास निर्माण र गौरवका आयोजनाहरुलाई थप पछि धकेल्ने देखिन्छ । कर्मचारी तन्त्रमा बढ्दो दलगत राजनीतिले विगतदेखि नै कार्यालयको काम भन्दा पनि होटल वा क्यान्टिनमा बसेर अधिकांश कर्मचारी राजनीतिकै बारेमा बढि गफिने संस्कृतिको विकास भएको देखिन्छ । 

सही समयमा सही व्यक्तिलाई सही ठाउँमा भर्ना गरि संगठनको क्रियाकलापहरुलाई प्रभावकारी रुपमा संचालन गर्न तय गरिएको व्यवस्थापकीय क्षेत्रलाई मानव संशाधन भन्ने गरिन्छ । संगठनको उद्देश्य प्राप्त गर्ने कुशलता र कार्य क्षमता भएका व्यक्तिहरुको समुह नै कर्मचारीतन्त्र हो यो मुलुकको स्थायी सरकार पनि हो । यसलाई नियम कानुनको पालना गर्ने गराउने गरि विना हस्तक्षेप स्वतन्त्र ढंगले काम गर्न दिनुपर्दछ । त्यस्तै कर्मचारी योजना, छनोट, दक्षता र योग्यता अभिवृद्धि, उत्प्रेरणा, तालिम, वृतिविकास लगायत का कार्यद्वारा संगठनको उद्देश्य हासिल गर्नु लाई नै कर्मचारीतन्त्रको पहिलो आवश्कता हो । भर्ना, छनोट, सरुवा बढुवा, घटुवा, अवकास, तालिम तथा विकास, उत्प्रेरणा, पारिश्रमिक, स्वास्थ्य एवम् सुरक्षा जस्ता कर्मचारीसँग सम्बन्धित क्रियाकलापहरुलाई विना हस्तक्षेप राजनीतिक प्रभावबाट मुक्त राखि व्यवस्थापन व्यवस्थापन गर्न सक्यो भने मात्र कार्यालयको उद्देश्य प्राप्त हुनेमा कसैको दुइमत नहोला । साधनहरुको प्रभावकारी प्रयोग, संगठनप्रति कर्मचारीको लगाव वृद्धि, संगठनमा संस्कृतिको व्यवस्थापन गर्न लक्ष्य मिलान, कर्मचारी अनुशासन र नैतिकता, परिवर्तन व्यवस्थापन गर्ने, संगठनको प्रणालीलाई लचकदार बनाउने लगायतका कार्यहरु कर्मचारीतन्त्र भित्र पर्दछन् । 

कर्मचारीतन्त्रको मुख्य उद्देश्य संगठनमा उपलव्ध स्रोत र साधनहरुको प्रभावकारी प्रयोग गर्दै जनशक्तिको भर्ना योजना बनाउने, छनोट गने र भर्ना भएका कर्मचारी लाई संगठनको बारेमा सामाजिकीकरण गर्ने हो । संगठनका कर्मचारीलाई तालिम दिने, उत्प्रेरणा जगाउने र संगठनप्रति गतिशील बनाउने जसलाई कर्मचारीको विकास पनि भन्ने गरिन्छ । कर्मचारीलाई उनीहरुको योग्यता र दक्षता र चाहाना एव संगठनको लक्ष्य अनुरुप काममा लगाउने र कामको मूल्यांकनसमेत समय समयमा गरिराख्नु पर्दछ । कर्मचारीको काम, पद र योग्यताको एवम् कार्य संपादन मूल्यांकनको आधारमा पुरस्कार, तलव र दण्ड सजायको साथै अवकासपछि पाउने सुविधा समेतको व्यवस्था गर्ने । समय परिवर्तन भएअनुसार कर्मचारीको सीप र दक्षतामा परिवर्तन गर्दै जाने र उचित तालिम तथा वृति विकासद्वार उनीहरुको विकास गर्ने साथै कर्मचारीलाई उचित सम्मान तथा सन्तुष्टी र दिने कार्यसमेत कर्मचारीतन्त्र वा मानव संसाधन व्यवस्थापनले गर्नु पर्दछ । संगठनको लक्ष्य प्राप्तिको लागी कर्मचारीको अनुशासन र उत्पादकत्व वृद्धि पनि उत्तिकै जरुरी पर्दछ । 

बारम्बारको सत्ता परिवर्तनले कार्यालयको वातावरणमा पनि असर गरेको देखिन्छ । कार्यालय वातावरण भनेको कर्मचारीको काम गर्ने सेरोफेरो तथा वरिपरीको वातावरण अर्थात भौतिक वातावरण मात्र नभइ गैरभौतिक वातावरण पनि कर्मचारीको उत्पादकत्व बढाउन उत्तिकै जिम्मेवार हुन्छ । मन्त्रालयको मन्त्रिले दिने निर्देशन र बनाउने नीति त्यस्तै कुनै पनि कार्यालय प्रमुखले दिने निर्देशन र उसको कर्मचारीप्रतिको व्यवहार लगायतले कर्मचारीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । कार्यालय जतिसुकै राम्रो तरिकाले सुसज्जित र रुपांकन गरिएको भएतापनि मन्त्रि र कर्मचारी वा मन्त्रिद्वारा नियुक्त कार्यालय प्रमुख र कर्मचारी विच राम्रो समन्वय नहुँदाको कष्ठ सेवाग्राहीले नै बढि भोग्नु पर्नेमा कसैको विमती नरहला ।

भौतिक वातावरण कार्यालयको जीवन भएतापनि कर्मचारीको सुखद, आरामदायक र काम गर्न उपयुक्त वातावरण सिर्जना गर्ने प्रमुख दायित्व मन्त्रालयमा मन्त्रिको हो भने कार्यालयमा कार्यालय प्रमुखको हो । पछिल्लो समय मन्त्रालय, विभाग, विभिन्न संघ सस्था तथा कार्यालयको नीतिगत निणर्यमा मन्त्रिस्तरीय संलग्नता भएतापनि अनुगमनकारी निकाय लगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत कर्मचारीकै दोष देखाउने र अदालतले पनि भ्रष्टाचारमा राजनीतिक तहलाई उन्मुक्ति दिने र कर्मचारीलाई दोषि ठहर गरि संजाय दिने प्रवृति मौलाउँदै गएकोबाट आम कर्मचारीमा डर र त्रास सिर्जना भई बढि दोष आउन सक्ने विभाग वा कार्यालयमा सरुवा भएतापनि कर्मचारी हाजिर हुन नजाने प्रवृति बढ्दै गएको देखिन्छ । यसले आम कर्मचारीको उत्पादकत्वमा ह्रास आई विकास निर्माण र सेव ग्राहीको कार्यमासमेत असर पर्ने कुरामा कसैको दुइमत नरहला । (उल्लेखित कुराहरु लेखकका नीजि विचार हुन् ।)

डा. दिबाकर बशिष्ठ

तपाईँको मत