गाउँ सहर

वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार

काठमाडाैं । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले २०८२ सालको ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ रविन्द्र लामिछानेलाई प्रदान गर्ने भएको छ ।

धनगढी कैलालीका ३९ वर्षीय लामिछाने झण्डै डेढ दशकदेखि विकास तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय छन् । वातावरण संरक्षण अभियानमा लामो समयदेखि काठमाडौंमा कार्यरत क्लिनअप नेपाल संस्थामा हाल प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत लामिछानेले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा सफा नेपाल अभियानमा कलमसमेत चलाउछन् र हाल पिएचडीसमेत गर्दै छन् । क्लिनअप नेपालले विकास गरेको ’सफा नेपाल एप’ प्रवद्र्धन अभियानमा पनि उहाँ सक्रिय छन् ।

सम्मानपत्रका साथ, पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । स्मरणीय छ, नेपानका पूर्व अध्यक्ष स्व. डा. भोला दाहालको अमूल्य योगदानको सम्मान गर्दै नेपान सदस्यहरू तथा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनको एमफिल तह (२०१६–१८ ब्याच) मा अध्ययनरत केही विद्यार्थीहरूको व्यक्तिगत सहयोगको आधारमा रु. दुई लाख रुपैयाँको अक्षयकोष राखी त्यसको ब्याजबाट पुरस्कार प्रदान गर्नेगरी नेपानमा २०७८ सालमा स्थापित ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ पहिलोपटक २०७९ सालमा चितवनका विकासकर्मी विश्वास प्रजा (चेपाङ) लाई,  दोस्रोपटक २०८० सालमा गुल्मीकी लक्ष्मी कुँवरलाई र तेस्रोपटक गोरखाका किरण बरामलाई प्रदान गरिएको थियो ।

यस वर्षको पुरस्कार प्रदान गर्ने कार्यक्रम यही असोज ४ गते शनिवार नेपानको ३१औं वार्षिक साधारणसभाको अवसर पारेर काठमाडौंको सुविधानगरमा हुने भएको छ । सोही दिन ‘प्रसिद्ध कणेल विकास लेखन पुरस्कार–२०८२’ बाट नेपालकी वरिष्ठ लेखक सुलोचना मानन्धर धिताल पनि सम्मानित हुँदैछन् । यो पुरस्कारको राशी पनि १० हजार रुपैयाँ नै रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत