ब्लग

त्रिभुवन विश्वविद्यालयमा अबको नेतृत्वबाट समयानुकुल परिवर्तनकाे जनअपेक्षा

त्रिभुवन विश्वविद्यालयले २०८० पौष २३ गते सुचना निकाल्दै मुख्य नेतृत्वदायी पद उपकुलपतिको लागी १५ दिनभित्र आवेदन दिने म्याद तोकेको कुरा जनजाहेर नै छ । पहिलो पटकको नियुक्ति प्रक्रियामा २०८० पौष २० मा निकालेको विज्ञापनको जनस्तर, विद्यार्थी र प्राज्ञिक क्षेत्रबाट व्यापक विरोध भएपछि दोस्रो पटक पुन: विज्ञापन आव्हान गरेको थियो । विश्व विद्यालयको प्रमुख समस्या भनेको सुशासन र छिटोछरितो सेवा एवं शैक्षिक गुणस्तर नै हो भन्नेहरुको बाहुल्यता छ त्यसो त अरु सयौँ समस्याहरु यथावत नै होलान् जसको समाधान आगामी नेतृत्वले गर्ला भन्ने आश गर्नु पर्दछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका श्यामराज ओझाले सामाजिक संजाल फेसबुकमा शेयर गर्नुभएको एक सर्वेक्षणका अनुसार ४९.६ प्रतिशत विद्यार्थीको राय हेर्दा परिक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट मात्र निकाल्नको लागी १ महिना भन्दा बढि लाग्दछ । अरु बेथिती त अथाह होलान् । अनि विद्यार्थी भनेको भगवान हुन् जसलाई विश्वविद्यालयको ग्राहकको रुपमा हेर्नु पर्दछ के यस्तो बेथिती कायम रहेमा विद्यार्थी रुष्ट भई आन्दोलन गर्नुको विकल्प हुन्छ र ? विश्वविद्यालयको वि.सं. २०७७ को तथ्यांकलाई आधार मान्ने हो भने कुल विश्वविद्यालय ११, आंगिक कलेजहरुको संख्या चिकित्सासहित करिब १४४१ देखिन्छ भने करिब ४ लाख ५० हजार विद्यार्थी अध्ययनरत देखिन्छन् तर हाल सर्वेक्षण गर्ने हो भने के यो संख्यामा विद्यार्थी होलान् र भन्नेहरुको कमी छैन ।

हालै विश्वविद्यालयमा उपकुलपति पद खालि रहेको छ सोही सन्दर्भलाई लिएर त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस संवन्धि कार्यविधि २०८० ले विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागी दरखास्त आव्हान गर्दै उम्मेदवारमा चाहिने न्युनतम योग्यता तोकेको छ जसमा स्नातोकत्तर उपाधि हासिल गरेको, प्राध्यापक पदमा नियुक्ति भई अनुभव हासिल गरेको, विश्वविद्यालयको स्वार्थसँग नबाझिएको, नेपाली नागरिक भएको, राजनीतिक दलको सदस्यता नलिएको लगायतको अलावा दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरुमा प्राध्यापकमा कार्य गरेको अनुभवमा प्रतिवर्ष २ अकं भनिएको छ जसमा अधिकतम अंकभार १० ल्याउन ५ वर्ष प्राध्यापक भै सकेको हुनुपर्ने, विद्यावारिधी उपाधिको ५ अकं, स्वदेशी तथा विदेशी विश्वविद्यालयमा पदाधिकारि भै कार्य गरेको अनुभवमा ४ अंक, अनुसन्धानमुलक पुस्तक एकल रुपमा प्रकाशन वापत ५ अंक, प्राज्ञिक अनुसन्धानमुलक परियोजनाहरु सम्पन्न गरेबापत ६ अंक, विश्वविद्यालयको सोच पत्र र ४ वर्षे व्यावसायिक कार्य योजना वापत ३५ अंक, प्रस्तुतिकरण वापत २० अंक र अन्तर्वार्ता वापत १५ अंक भार निर्धारण गरेको देखिन्छ । तथापी विश्वविद्यालयको सोचपत्र र कार्ययोजना, प्रस्तुतिकरण र अन्तर्वार्तामा अंकभार दिँदा खेल्ने ठाउँ भएको हुँदा निष्पक्षता होला र यस्तै चर्चा चिया पसलमा समेत सुनिन्छ । 

हाल त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त दिनेहरुको संख्या ४३ रहेको देखिन्छ । हालैको विद्यार्थी आन्दोलनपश्चात त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले २०८० माघ १५ देखि ट्रान्सक्रिप्ट लगायत सेवा अनलाईनबाट दिने घोषणा गरिसकेको अवस्था छ । विगतमा गुपचुप नियुक्ति हुने यो पद विश्वविद्यालयको एकातार्फ शैक्षिक अवस्था थप बिग्रँदो र अर्कोतर्फ चरम राजनीतिक हस्तक्षेप ले जनस्तर र विद्यार्थीहरुमा विरोध र धर्ना एव वुलन्द आवाजका कारण हाल त्रिभुवन विश्वविद्यालयको उपकुलपति को र कस्तो व्यक्ति हुने त भन्ने वहस दिनहु राजनीतिक तथा बाैद्धिक जगतमा जोडतोडले चलेको देखिन्छ । 

प्रधानमन्त्री र मन्त्रिहरुलेसमेत त्रिविवि सुधारको लागी उपकुलपति निष्पक्ष छनोट गर्नु पर्ने कुरामा जोडतोडले लागेको देखिएता पनि नेपालका राजनेताहरु जनपक्षीय कुरा बाेल्ने सस्तो लोकप्रियता एकछिनको लागी हासिल गर्ने तर कार्यान्वयन गर्दा परम्परावादी सोच अर्थात हाम्रो जति राम्रो भन्ने आधारमा विगतमा नियुक्ति गरिएको हुंँदा यो पदमा पनि निष्पक्ष नियुक्ति होला भनेर भन्न सकिँदैन भन्नेहरु मनग्य छन् । बाैद्धिक पलायन रोक्न नसकिएको, विद्यार्थी विदेश पढ्न जानेको लर्को लागेको, शैक्षिक क्यालेण्डर बनाई कार्य नगरेको, गुणस्तरिय शिक्षा नभएको, व्यावसायिक सिक्षामा जोड नभएको हुँदा विश्वविद्यालय किन चाहियो र भन्ने आवाज दिन प्रतिदिन उठ्नुले आम शिक्षा प्रेमिलाई चिन्तित बनाएको देखिन्छ । मेरो व्यक्ति आए विश्वविद्यालय सुधार हुन्छ अन्य आए हुँदैन भन्नेहरु पनि देखिन्छन । विश्वविद्यालयको समग्र प्रणालीमा सुधार हुनु पर्दछ भन्नेहरुको संख्या पनि मनग्य देखिन्छ । 

समग्रमा हेर्दा कुनै पनि विश्वविद्यालयको सफलता त्यहाँ कार्यरत कर्मचारी, प्राध्यापक र विद्यार्थीको एकताले मात्र संभव छ त्यस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक हस्तक्षेप बन्द गरि मेरो होइन कि हाम्रो भन्ने सोचको आधारमा निष्पक्ष छनोट गर्न सकेमा सुधार र सफलता भन्ने कुरा टाढा छैन । विश्वविद्यालयको प्रणालिगत सुधारको लागी कुनै एक्लै व्यक्तिवाट संभव हुँदैन तर उपकुलपतिको नेतृत्वमा आउने व्यक्तिले । प्रशासनिक पद रेक्टर, त्रिविवि सेवा आयोग, विद्यार्थी संगठनहरु, प्राध्यापक, कर्मचारी, लगायतलाई एकिकृत गरि आफ्नो प्रगतिशील सोच र लक्ष्य एवं योजनालाई अल्पकालिन, मध्यकालिन र दिर्धकालिन रुपमा विभाजन गरि प्रविधिमा जोड दिँदै दृढ इच्छा शक्तिका साथ कार्यान्वयनमा जान सक्यो भने मात्र विश्वविद्यालयको सुधार हुनेछ भन्नेमा कसैको दुइमत नहोला । 

आज विश्वविद्यालयमा कसैको दवाब र प्रभावले काम गर्ने व्यक्ति भन्दा पनि निष्पक्ष र दक्ष व्यक्तिको खाँचो छ । भागबण्डाले विश्वविद्यालय थिलो थिलो बनाएको छ । तसर्थ विश्वविद्यालयको खास समस्या केहो ? विद्यार्थीको आकर्षण किन घटेको ? उपकुलपति कस्तो व्यक्ति हुनु पर्ने त ? भन्ने विषयमा समाजका बाैद्धिक वर्गमा चर्चा हुनु स्वभाविक मानिन्छ । नेपाली र विश्व बजारले कुन विषय र दक्षता खोजेको छ ? परिक्षा प्रणालीमा किन सुधार हुँदैन ? नतिजा किन ढीला ? दल प्रति झुकाव भएको व्यक्ति नै किन ? खुला प्रतिस्पर्धामा निष्पक्षता हुने कि नहुने ? दक्ष प्राध्यापक र कर्मचारीमा नैराश्यता किन ? राइट म्यान राइट प्लेसको अवधारणा किन लागु हुँदैन ? विश्वविद्यालय र कलेजहरु किन रित्तिएका ? विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुन किन नसकेको ? विश्व र्‍याङकिङ्गमा किन पछि पर्दै गएको ? विश्वविद्यालयको प्रचार प्रसार किन नभएको ? विदेशी सम्बन्धनका कलेज किन विस्तार भएको र त्यहाँ विद्यार्थी संख्या किन बढेको ? त्रिविवि प्रति विश्वास बढाउन के गर्ने  ? विश्वविद्यालयमा हुने बारम्बारको तालाबन्दी, आन्दोलन र तोडफोडलाई रोक्न के गर्ने ? अधिकार भने खोज्ने तर कर्तव्यको पालना नगर्ने कर्मचारी तथा शिक्षकलाई के कस्तो दण्ड दिने ? विश्वविद्यालय परिसरमा विद्यार्थीसँग प्रश्न बुझ्दा यी र यस्तै प्रश्नहरुको उत्तर दिन सक्ने काविल व्यक्ति जसले उपरोक्त समस्याको  समाधान गर्न समेत सक्छ त्यही व्यक्ति अबको उपकुलपति हुनु पर्दछ भन्ने आम विद्यार्थीवर्गको धारणा पाईन्छ । 

उपकुलपतिको पहिलो कार्य विश्वविद्यालयको समग्र छवि सुधार गर्नु पर्ने, तलव तथा सुविधालाई परिमार्जन गर्ने, सेवा आयोग र उपकुलपतिबीचमा समन्वय स्थापीत गर्ने, राजनीतिक आस र त्रासलाई हटाउनुपर्ने, बेथिति र विसंगतिलाई हटाउनु पर्ने, विद्यार्थी एवं कर्मचारीमैत्री नीति नियमको निर्धारण र सहभागितामुलक व्यवस्थापनको अवधारणा अघि सार्ने, दोहोरो संचारको नीति लिने, पारदर्शिता अपनाउने र भ्रष्टाचार अन्त्य एवं विश्वविद्यालयमा हाजिर गरेर नीजि कलेजमा पनि कक्षा लिई तलब भत्ता बुझ्नेजस्ता कार्यलाई दण्डनीय बनाउने, सेवा आयोगलाई पारदर्शी र निष्पक्ष बनाउने तदनुरुप कर्मचारी एवं प्राध्यापकको नियुक्तिको व्यवस्था गर्ने,  प्राध्यापकहरुको गुणस्तर बढाउने, उपकुलपति पदकोको गरिमालाई बढाउन राजनीतिक भागवण्डाको परिवेशमा नफस्ने, विद्यार्थी संख्या र उनीहरुको शैक्षिक गुणस्तर वढाउन तत्काल योजना बनाउने, सोध र अनुसन्धानमा जोड दिने, समकक्षता निर्धारण एवं त्रिविविका सवै प्रशाशनिक कार्यहरु विना झन्झट छिटो छरिता संपादन हुने व्यवस्था मिलाउने, अनुसासन र शुसासनलाई निर्मम भई पालना गर्ने गराउने, सोधग्रन्थ अर्थात थेसिसको गुणस्तर कायम गर्ने, पाठ्यक्रममा समयानुकुल परिवर्तन गरि विद्यार्थीले अध्ययन गर्न विदेश जान नपर्ने गरि परिमार्जन गर्ने, विदेशी विद्यार्थीलाई आकर्षण गर्ने योजना बनाउने, नेपाललाई शैक्षिक पर्यटनको हब बनाउन महत्वपूर्ण भुमिका निवार्ह गर्ने, कर्मचारीको र विभिन्न पदमा रहनु भएका शिक्षकको कार्य सम्पादन मूल्यांकन, वृति  विकास, उत्प्रेरणा जस्ता कुरामा तत्काल नीति परिमार्जन गरि कार्यान्वयन गर्ने, विश्वविद्यालय र आंगिक क्याम्पसमा मुस्कान सहितको सेवालाई जोडतोडका साथ अघि बढाउने, विद्यार्थी विश्व विद्यालयको भरपर्दो ग्राहक भएको हुँदा उनीहरुसँग मैत्रिपुर्ण व्यवहार गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिने, आफ्नो भौतिक संपक्तिको संरक्षण गर्दै विश्वविद्यालय परिसरलाई प्रविधिमैत्री र प्राकृतिक सुन्दरताको लागी गार्डेनिङ्ग गर्ने लगायतका कार्यले मात्र विश्वविद्यालयको गुणात्मक सुधार हुन्छ भन्नुमा कुनै अत्युक्ति नहोला ।

तसर्थ विश्वविद्यालयका उपकुलपति, सेवा आयोग, रेक्टर, रजिष्टार, परिक्षा नियन्त्रक र अन्य विभागिय प्रमुखहरुको बिचमा साप्ताहिक अन्तरक्रियाको व्यवस्था गरि विश्वविद्यालयको नीति निर्धारण, आधुनिकीरण, नयाँ प्रविधिको विकास एव विस्तार, स्रोत र साधनको समन्वयतात्मक परिचालन, शैक्षिक गुणस्तर सम्बन्धमा विद्यार्थी प्रतिनीनिहरुसँगको निरन्तर संवाद, विद्यार्थीको विदेश पलायन रोक्न के गर्ने भन्ने सवालमा शिक्षाविदहरुसँगको अन्तरक्रिया, सरकार र अन्य स्टेक होल्डरसँगको छलफल, स्वदेशमै रोजगार विस्तार गर्न कस्तो जनशक्ति उत्पादन गर्ने र कसरी रोजगारिको सुनिश्चितता गर्ने जस्ता सवालमा नियमित बहस गर्न सकेमा मात्र व्रेनड्रेन र विद्यार्थीको विदेश पलायनलाई रोक्न सकिन्छ त्यस्तै उपकुलपतिले विद्यार्थी, कर्मचारी, प्राध्यापक लगायतलाई दोष दिँदै मैले भनेको कसैले सुन्दैन म के गरु ? भन्ने र अधिकार खोज्ने कर्तव्यको पालना नगर्ने व्यक्तिलाई पुन उपकुलपति नियुक्ति गर्ने अवस्था आयो भने  विश्वविद्यालयको लागी त्यो भन्दा अनिष्ट के होला र भन्ने कुरामा कसैको विमति नरहला । (लेखक विश्वविद्यालय आंगिक क्याम्पसका शिक्षक र पूर्व बैंकर हुन्।) 

डा. दिबाकर बशिष्ठ

तपाईँको मत