दृष्‍टिकोण

राष्ट्रिय एकता र मेलमिलाप दिवस : किन अझै छ यसको सान्दर्भिकता ?

विश्वेश्वर प्रसाद कोइराला अर्थात वीपी कोइरालाको मेलमिलाप नीतिबारे कांग्रेसमा निरन्तर बहस भइ नै रहन्छ । हरेक वर्ष पुस १६ मा वीपीको योगदान र मेलमिलापको नीतिबारे चर्चा हुन्छ । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । 

के हो मेलमिलाप दिवस ? किन अझै छ यसको सान्दर्भिक ?

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

नेपाली राजनीतिक र साहित्यिक आकाशका उज्ज्वल नक्षत्र वीपी कोइराला आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा र राष्ट्रवादी थिए । उनले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनुप¥यो । आजीवन प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी थिए । उनी राणा शासक र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै झुकेनन्, राष्ट्रियता र प्रजातन्त्रप्रति निरन्तर आस्थावान रहे । उनले जीवनभर देश र जनताकै लागि संघर्ष गरिरहे । उनी निरंकुश शासकका सामु लत्रेनन्, बरु अटुट रुपमा सत्ताको विपरित धारमा उभिइरहे । नदीको प्रवाहको विपरीत धारमा टिक्न अत्यन्तै अप्ठेरो हुन्छ, तर उनी राज्यसत्ताको विरोधमा उभिरहे । 

वीपी साम्यवादी र पुँजीवादी दुबै प्रकारका राज्यव्यवस्थाका कडा आलोचक थिए । आज वीपीका अनुयायीहरु उनको आदर्शलाई पछ्याइरहेका छन् ? अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित सामन्तवाद र पूँजीवाद नेपालीका लागि सुहाउँदैन र एकदलीय तानाशाही साम्यवादको नेपाली कांग्रेसले कुनै पनि शर्तमा पक्षपोषण गर्न सक्दैन र गर्न हुँदैन भन्ने उनको स्पष्ट धारणा थियो । उनको विचारमा नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादबाट निर्देशित हुने राजनीतिक शक्ति हो ।

२०१५ साल फागुन ७ गते सम्पन्न नेपालको पहिलो आमनिर्वाचनबाट २०१६ साल जेठमा उनको नेतृत्वमा सरकार बन्यो । सरकार बनेपछि ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरु सहित क्रान्तिकारी बाटोमा अघि बढेपछि राजा महेन्द्रसँग उनको वैचारिक तथा सैद्धान्तिक मतभेद गहिरिँदै गयो । आफ्नो आरामदायक बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानुन पारित गरेपछि तत्कालीन नेपाली सेनामाथि द¥हो पकड भएको सम्भ्रान्त जमिनदार वर्गले वीपी कोइरालालाई शत्रु देख्यो र उनी सत्तामा बसिरहनुलाई खतरा देख्यो । राजा महेन्द्र परम्परावादी शक्तिको नेतृत्व गर्थे । दुई पक्षमा द्वन्द्व शुरु भयो– यो वास्तवमा बहुदलीय लोकतन्त्र र एकदलीय निरंकुशताबीचको टक्कर थियो ।

२०१७ साल पौष १ गते २००७ सालमा जनताको बलिदानबाट प्राप्त गरेको बहुदलीय प्रजातन्त्र राजा महेन्द्रको फौजी शासनको बुटमुनि थिल्थिलो भयो । संविधान निलम्बन गरियो, मन्त्रीपरिषद् र संसद भंग गरी राजाको प्रत्यक्ष शासन शुरु भयो । प्रजातन्त्रका लागि वीपी राजासँग झुकेनन्, बरु उनले प्रधानमन्त्रीको पद र आफ्नो जीवनलाई महत्व दिएनन् । उनलाई तरुणहरुको एउटा कार्यक्रममा भाग लिइरहेको अवस्थामा गिरफ्तार गरियो र कुनै मुद्धा नचलाई जेल हालियो । प्रजातन्त्रवादी एक महान नेतालाई बिना कानूनी उपचार एकान्त जेलमा सारा दुनियाँका आँखाबाट पुरै अलग गरेर राखे राजा महेन्द्रले र रोपे पञ्चायतको नाममा एकदलीय अप्रजातान्त्रिक व्यवस्था । लोकतन्त्रको खरानीमाथि अधिनायकवादको स्तम्भ खडा भो । वीपीका समर्थक शुभचिन्तकहरुलाई जेलमा कोचियो । कम्युनिष्टहरुले पनि राजाको समर्थन गरे । जस्तासुकै बिघ्नबाधा आए पनि कोइराला लोकतन्त्रको पक्षमा सतिसाल झैं ठिङ्ग उभिइरहे ।

राष्ट्रियता र प्रजातन्त्र दुबैलाई सँगै लिएर मात्र नेपालको साँचो अर्थमा रक्षा गर्न सकिने उनको निष्कर्ष थियो, जो आज पनि उत्तिकै सान्दर्भिक छ । तर, अहिले राष्ट्रिय मेलमिलापको मर्म र भावना अनुसार काम भइरहेको छैन ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका वीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै उक्त नीति सान्दर्भिक ठानिन्छ । त्यसो त वामपन्थी दलहरूसँगको सहकार्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्ममा कांग्रेसले योगदान गरिसकेको छ । 

अहिलेका नेताहरु पनि वीपीले अवलम्बन गरेका राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन् तर भाषणमा मात्र । अहिलेलाई वीपीको मेलमिलाप नीतिको अन्तर्यमात्र बुझेर अघि बढ्ने हो भने पनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने पक्का छ ।

राष्ट्रिय मेलमिलापको अर्थ मुलुकमा रहेका राजनीतिक शक्तिहरु बीचमा मुलुकको बृहत्तर हितका लागि मिलेका विषयहरुमा एकताबद्ध रुपमा अगाडि जाने परिवेश निर्माण गर्नु भन्ने बुझिन्छ । 

वैदेशिक शक्ति केन्द्रको मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरी आफ्नो स्वार्थ सिद्ध गर्ने र मुलुकलाई आफ्नो प्रभाव क्षेत्रमा पारिरहने दीर्घकालीन सोच अनुरुप चलखेल गर्ने सदियौंदेखिको प्रचलन रहेकै छ । 

अहिले नेपालले खोजेको अतिवाद होइन, राष्ट्रिय आत्मसमर्पणवाद पनि होइन, विखण्डनवाद पनि होइन, अलिकति सन्तुलित र मध्यमार्गी नेतृत्व देशले खोजिरहेको छ । अहंकारवादसहितको राष्ट्रवादको मानसिकता दुबैबाट मुलुकको समृद्धि र स्थायित्व सम्भव छैन ।

प्रजातन्त्रवादी र राष्ट्रवादी दुबै हुनुपर्ने राष्ट्रिय मेलमिलापको नीति र मर्मलाई नेपाली कांग्रेसले छाडेको हुनाले एउटा आडम्बरका रूपमा बाहिर देखाउन र लाज ढाक्न नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको देखिएको छ । 

वीपीको विचारमा राजासँग मेलमिलाप हुन राजा प्रजातन्त्रवादी हुनुपर्छ । यदि राजा प्रजातन्त्रवादी भएनन् भने राजतन्त्र सकिन्छ भनेर वीपीले भनेका थिए । मुलुकमा अधिनायकवादको उदय हुने सम्भावना देखाउँदै उनले भनेका थिए–त्यसबेला म पनि सकिन्छु, म सकिएँ भने विराटनगरमा खेतीपाती गर्न जान्छु, राजा जाने कहाँ ? 

जे भए पनि, यतिबेला लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति प्रतिबद्ध हुन राष्ट्रिय मेलमिलाप दिवसले प्रेरणा दिनेछ । राष्ट्रप्रति समर्पित रहेर लोकतान्त्रिक व्यवस्थाका पक्षमा चट्टानी दृढतासहित उभिने वीपीका असल र अनुशरणीय गुणबाट सिक्न सके आजको हाम्रो समाज, मुलुक र हरेक नागरिकको जीवनमा निश्चय नै सकारात्मक परिवर्तन आउने थियो भनी विश्वास गर्न सकिन्छ । उनको गरिमा र उनका विचारको महत्व घटेको छैन । भौतिक रुपमा आज उनी नभए पनि उनले छोडेर गएका लोकतन्त्रप्रतिको निष्ठा र स्वतन्त्रताप्रतिको उनको अविचलित आस्थाले सबै लोकतन्त्र पक्षधरलाई प्रेरणा दिइरहेछन् ।

समसामयिक अवस्थामा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व तथा संस्कारको दिगोपनका दिशामा हाम्रा सामु देखिएका अनगिन्ति समस्याहरुको समाधानका लागि सबै प्रमुख राजनीतिक दल तथा तिनका अग्रज नेताहरुले सुझबुझका साथ सहकार्य र मेलमिलापका क्षेत्रलाई अंगिकार गरेर राजनीतिक निर्णय गरिएको खण्डमा भोलीको नेपालले स्पष्ट दिशाबोध पाउन सक्नेछ ।

राष्ट्रिय मेलमिलाप नीतिको कुरा गर्दा वीपी कोइरालाकै पार्टी नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक व्यवस्थापन र पार्टीलाई साना हित गुट र उपगुटको संस्कृतिबाट माथि उठाएर सबल र लोकतान्त्रिक मियोको एकमात्र पार्टीका रुपमा पार्टीलाई स्थापित गर्नुमा आजको नेपाली कांग्रेसको नेतृत्वको चुनौती र अवसर पनि हो । पछिल्ला घटनाक्रमले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिको तरलताले सिंगो पार्टीको दिशाबोध, पार्टी विचार र नीतिको कार्यान्वयन तथा सरकारको भूमिकामा रहेको नेपाली कांग्रेसको जनमुखी भूमिकालाई कुशल व्यवस्थापन थप चुनौतीका रुपमा तेर्सिएको छ ।

यसका साथै मेलमिलाप र एकताको सन्देशलाई पार्टीको आन्तरिक राजनीतिमा चुस्त बनाउन सक्नुपर्दछ । जसको आम कांग्रेसीजन तथा लोकतान्त्रिक मूल्य र संस्कारलाई आत्मबोध गर्ने सबैको चासो र सरोकार पनि हुनसक्छ । जसका सकारात्मक परिणामलाई भविष्यको आशावादी संवाहकरुपमा लिन सकिन्छ । 

अबको प्राथमिक दायित्व भनेको जनप्रतिनिधिमूलक संस्थाहरुको स्थायित्व, संघीयताको सफलताको प्रतिविम्ब तथा आर्थिक सामाजिक रुपान्तरणका दिशामा प्रमुख राजनीतिक दल तथा तिनका नेतृत्व वर्गले एकता र सहकार्यका दिशामा आमजनतालाई महशुस हुने खालको परिवर्तनको गुन्जायस गर्न सक्नु हो । जनताले दीगो विकास तथा स्थायित्वको अभिलाषा राखेका छन् । अवको  गन्तव्य यिनै उपलब्धी हासिलमा निहित हुनुपर्दछ ।

वीपी कोइरालाको स्थान अरु कुनै नेताले लिन सकेन। सिद्धान्त, आदर्श, दृष्टिकोण, अडान कुनै हिसावमा पनि नेपाली राजनीतिमा वीपीसरहको नेता आजपर्यन्त जन्मेन । कांग्रेस आज पनि कतिपय सैद्धान्तिक दर्शनबाट पछि हटिरहँदा वीपीलाई नै बेच्न बाध्य छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शमा वीपीलाई हिजो हिलो छ्याप्नेहरू पनि आज खोट लगाउन सक्ने अवस्थामा छैनन् ।

मेलमिलाप दिवस यतिबेला कांग्रेसका लागि झन अपरिहार्य भएको छ । पहिलो, मेलमिलाप कांग्रेसले आफैँंभित्र गर्नु आवश्यक भएको छ । गुट/उपगुटका नाममा कांग्रेसलाई कमजोर बनाउन कांग्रेसहरू नै सक्रिय छन् । त्यसकारण कांग्रेसलाई एकताको सूत्रमा बाँध्नका लागि कांग्रेसभित्रको मेलमिलाप अपरिहार्य छ । कांग्रेस आफू सुदृढ भएको सन्देश दिन पार्टीभित्रका स्वार्थ समूहलाई कमजोर बनाउँदै एउटै स्वार्थका लागि कांग्रेसमा एकता भएको सन्देश दिनु मेलमिलाप दिवसको सान्दर्भिकता हुनेछ ।

तपाईँको मत