दृष्‍टिकोण

‘हामी त सबै यस्तै हाे ब्राे, हम कभी नहीं सुधरेंगे’

राज्यकाे नीति हाे राजनीति । राजनीति राज्य, जनता र समाजका हितमा काम गर्ने नीति हो । राजनीतिले दर्शन, विचार र दूरदृष्टि तथा गन्तव्यको निर्धारण गर्छ ।राज्यमा त्यो विषय त्यस देशको संविधानका रूपमा अगाडि आएको हुन्छ जुन राजनीतिले नै नेतृत्व गरेकाे हुन्छ । हरेक आन्दाेलन, क्रान्ति, युद्धले नयाँ साेच र फरक ढंगबाट व्यवस्था व्यवस्थित गर्नकाे लागि ढाेका खाेल्दछ । आन्दाेलनले समाजका नराम्रा र कसिंगरलाई सफा गर्छ । तथापी ती सामाजिक, राजनीतिक फाेहाेर एकै आन्दाेलनले निमिट्यान्न हुन्छ भन्ने हाेइन । समय लाग्न सक्छ । तर कुचाे लगाउने नाइकेहरूकाे मनसाय फाेहाेरी भयाे भने उनीहरू नै पुन: फाेहाेर गर्न थाल्छन् र त्यसमा अरूले पनि थपिदिन्छन् ।

भन्नलाई हाम्रा राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य दलहरू, बुद्धिजीवी, नागरिक समाज सबैकाे एउटै शब्द पछ्याइरहेका छन्- समृद्धि । तर समृद्धि प्राप्त गर्न क-कसले के कस्ता कार्य राज्य र जनताका लागि गर्ने, ती कार्य के-कस्ता पद्धति अपनाएर सम्पन्न गर्ने भन्ने विषयको याेजना कार्यन्वयन भने कागजमा मात्र छ । समाज परिवर्तनसँगै हुने स्वभाविक प्रक्रिया बाहेक । 

भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था नै समृद्धि हो । यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तरनिहित हुन्छ । विकास भनेको भौतिक संरचना निर्माण मात्र होइन । यो खास समाजभित्र रहेको समुदायहरूको समानुपातिक विकाससँग जोडिएको अर्थराजनीतिक सवाल हो । यसमा व्यक्तिको सबै पक्षहरूको विकास अंश हो भने समुदाय वा मुलुकको विकास समग्र हुन्छ । भौतिक पूर्वाधार विकास एकल हो भने राजनीतिक, आर्थिक, प्राविधिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, चिन्तन र चेतनागत विकास समग्र हो । विकासको सबैभन्दा उन्नत र विकसित रूप नै समृद्धि हो । सामान्य अर्थमा भन्दा गाँस, बास कपास जस्ता आधारभूत र स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता मानव विकासका न्यूनतम् विषयमा आफूले चाहे जसरी खर्च गर्न सक्ने हैसियत कायम रहनु र यी क्षेत्रमा गरेको खर्चले अन्य व्यवहारलाई प्रभावित नपार्नु नै हाम्रो सन्दर्भको समृद्धि हो । राजनीति यिनै विषयहरूलाई एकमुष्ट डोर्‍याउने प्रणाली हाे । 

यहि समृद्धिकाे नारा जपेर मत बटुलेकाे कम्युनिष्ट पार्टी सत्तामा छ । तर उसले चुनावका बेला घाेषणापत्रमा उल्लेख गरेकाे समृद्धि सिंहदरबार, बालुवाटार,  बालकाेट, शितलनिवास, खुमलटारमै सीमित भएकाे छ । बितेका डेढ दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । ०४६ पछिकाे तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडीकाे निरन्तरता लाेकतान्त्रिक गणतन्नमा झन् फस्टाएकाे छ । जसले गर्दा 'समृद्ध नेपाल सुखी नेपाली' विकासको भिजन बोकेर हिँडेको सरकारले अहिले त्यहि निबन्ध पनि पढ्नु फुर्सदमा छैन । 'समृद्धि अझै नेपालका लागि सपना छ । अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यास नहुँदासम्म याे केवल चुनावी नारा र प्रधानमन्त्री ओलीलगायत गीतकार रहेको गीति एल्बम 'समृद्ध नेपालसुखी नेपाली' बाहेक केही हाेइन । 

जनतामा ठूलो निराशा पैदा

मुलुकमा अहिले नेकपाकाे झण्डै दुई तिहाइकाे स्थिर सरकार छ । जसकाे नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे छन् । पूर्व एमाले र माओवादीको एकतापछि नेकपामा ओली र प्रचण्ड दुई अध्यक्ष छन् । एक जनाले सत्ताकाे बागडाेर सम्हाल्ने अर्काेले पार्टीकाे । तर यही सत्ता र पार्टीकाे बागडाेरमा एकले अर्काेलाई विश्वास गर्न नसक्दा र हस्तक्षेप गर्दा मनमुटाव मात्रै हाेइन लिखित आरोप प्रत्यारोपसहित फुटको संघारमा पुगेको छ । 

नेकपाकाे पछिल्लाे किचलाेप्रति पार्टीका कार्यकर्तालाई जस्ताे सामान्य नागरिकलाई च्वास्सै बिजाइहालेकाे छैन । केवल चासाे मात्र रहने हाे । उनीहरूलाई दैनानुदिनकाे जीवनयापन, पेशा, व्यवसाय र आधारभूत विषयसँग अलि बढि सराेकार छ । उनीहरूलाई पार्टीका बिवादमा केवल मनाेरञ्जन मात्र ।  

देखिनेचाहिँ सरकारकाे कार्यशैली र नेकपाकाे गिजलिँदाे राजनीतिले नागरिकमा निराशा पैदा भयाे भन्याे भने प्रधानमन्त्री केपी शर्मा ओली पत्याउँदैनन् । जनताको म्याण्डेटबाट आफू विचलित नभएको, आर्थिक वृद्धिदर राम्रो भइरहेकाे बेला काेराेनाभाइरसले ब्रेक लगाइदिएकाे र सरकारकाे बिराेध गर्नेहरूलाई चिहानमा गएर हड्डी फुकेर प्रतिगमनकारीले बेमौसमको बाजा बजाएको उल्टै आरोप लगाउँछन् । उनी अरूका कुरा सुन्न तयारै छैनन् । सुन्ने धैर्यता पनि राख्दैनन् । 

सरकारको काम प्रभावकारी छैन । नेकपाभित्र खिचडी पाकिरहँदा नागरिकमा पार्टीप्रति सद्भाव भन्दा पनि बिरोध र आक्रोशका स्वरहरू सुनिन थालेका छन् ।एकताबाट आशा भन्दा निराशा बढी देखिन थालेकाे छ । दुई तिहाई नजिकको शक्ति सरकारमा भएपछि देशमा उद्योग र कल कारखानाहरु खुल्ने, बैदेशिक रोजगारीमा जान बाध्य भैरहेका नेपाली युवाहरुलाई देशभित्रै रोजगारी सृजना गर्ने काम हाेला र राहत महसुस हुन्छ भन्ने अपेक्षा थियाे । तर नेताहरुले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएपछि जनतामा चरम निराशाको अवस्था सृजना भएको छ । विस्तारै जताततै सरकार र सरकारी दलका नेताहरुप्रति घृणा र आक्रोश चुलिन थालेकाे छ । पार्टी जतिसुकै ठूलो र सरकार दुई तिहाइभन्दा बढि नै भएपनि नागरिकका लागि कुनै पनि काेणबाट खुशीको कारण हुन सकेन । सधैंँभरि केवल कुर्सी र पदको भागबण्डाको झगडामा मात्र नेताहरु केन्द्रित रहँदा वर्तमान सरकारको मात्र नभएर वर्तमान शासन ब्यवस्थाकै बिकल्पका लागि आक्रोश बिष्फोटक नबन्ला भन्न सकिन्छ । प्रधानमन्त्रीले बालुवाटार र बालकाेटका चाेटाकाेठाका भारदारलाई हेरेर मेरा जनता, मतदाता खुशी छन् भन्नुकाे के तुक ?

पार्टीमा पछिल्लो समय देखिएको बिवाद पनि सैद्धान्तिक र बैचारिक छैन । पदीय भागबण्डा र कुर्सीको दौड बाहेक अरु बिषयमा बिवाद केन्द्रित देखिदैन । तर पनि नेता र नेता निकट कार्यकर्ताहरुबीच स्पष्ट ध्रुविकरण बनेको छ र एक आपसमा अत्यन्तै असहिष्णुतापूर्ण गाली गलौजमा उत्रिने काममा प्रतिष्पर्धा नै भैरहेको देखिन्छ । यस्तो घिनलाग्दो ध्रुवीकरणले पार्टी र व्यवस्थाप्रति बितृष्णा ल्याउनु स्वभाविकै हाे । 

हम कभी नहीं सुधरेंगे

कार्यकर्ताहरू हत्तपत्त आफ्ना नेता बिरूद्ध बोली हाल्दैनन् । नेताका बारेमा नराम्राे बाेल्ने रहर पनि सायदै हाेला । अहिले कार्यकर्ताले आत्तिनु पर्ने र आफ्नै नेतृत्वमा रहेका, कयौँ योगदान दिएका नेताहरूको कुरा काटेर बसेका देख्न थालिएको छ । पहिले पहिले आफ्नै नेताहरू बिरूद्ध कार्यकर्ताहरू हत्तपत्त मुख खोलिहाल्दैनथे । अब पार्टी, कार्यकर्ता, जनता, देश सबैको नजरअन्दाज गरी गलत कदम उठाउने नेतालाई हेरेर चुप नबस्न जनमत बढ्दै गएकाे देखिएको छ । एउटा सचेत कार्यकर्तामा नेताका विगत र उसका कार्यशैली मुल्याङ्कन गर्ने र नेताकाे चरित्र नियाल्ने खबरदारी गर्ने चेत देखिएकाे छ । तर त्याे समूह सानाे छ ।

राजनीतिलाई पेशा व्यवसाय बनाउने, जनहितलाई पूर्णतः बेवास्ता गर्नेहरूले नै राजनीतिलाई झन्झन् धमिल्याउने, प्रदूषित गर्ने काम मात्रै गरिरहेका छन् । राजनीतिलाई जीवनभरको व्यवसाय बनाउने चलनै भइसकेकाे छ । आन्दोलनमा भाग लिनु, जेलमा बस्नु, सशस्त्र युद्ध गर्नु, कुनै दलमा संलग्न हुनु आदि क्रियाकलापबाट राजनीतिमा पस्ने गरेकाहरू नै कालान्तरमा स्वार्थी, अक्षम र विदेशीका दलालकाे रूपमा चित्रित हुन पुग्दछन् । पैसा र शक्तिको कुटिल धन्दामा चुर्लुम्म डुबेका, राजनीतिक दललाई निजी कम्पनीमा रूपान्तरण गरेका नेताहरूबाट रोगभोकले त्रसित नागरिकले के अपेक्षा गर्नु र ?

देशको मुक्तिको लागि, प्रजातन्त्र, स्वतन्त्रता, निरंकुशताको समाप्तिको लागि, तानाशाह अन्त्यको लागि लडेको, मरेको, जेल बसेको, सास्ती खाएको, परिवार लथालिंग भएको, धनसम्पत्ति नास भएको नेताहरूमा ठूलो त्याग र बलिदानकाे सट्टा लाेभ, माेह, अहंकार, भ्रष्टाचार, अकुत सम्पत्ती आर्जन गरी अनैतिक कृयाकलापमा संलग्न हुने, व्यभिचार, निरंकुशता किन आएकाे हाेला ? 

कुनै पनि पार्टी वा तिनका नेताले जनताको टाउको माथि टेकेर धेरै पटक–पटक राजनीतिक दलले राजनीति गरी ब्यक्ति स्थापित हुने, जनताको लागि राजनीति गरेपछि  राज्य नेतृत्वकर्ताले आफ्नो दायित्व बहन गर्न पर्दैन ? राजनीतिलाई व्यवसाय बनाएर मुनाफा लैजाने ध्ययले नेतृत्व सम्हाल्नेबाट मिलीजुली खाने काेटरीकाे मात्र निर्माण गर्दछ ।  सत्ता र शक्तिको भरमा नागरिकमाथि गरिएको राजनीतिले नागरिकले धेरै दुःख पाईरहेका छन । नागरिकलेले इमानदार निष्ठाको राजनीति गर्ने राजनीतिक दल पाएनन् । सत्ताको संयन्त्रले जब नागरिकमाथि जसरी शक्ति प्रदर्शन गर्न खोजिन्छ, त्यसबेला नागरिकले त्यो शक्ति प्रदर्शनलाई सहन सक्दैनन् ।

दम्भ देखाउन थाले पार्टी मात्र हाेइन परिवार पनि चलाउन सकिन्न । राष्ट्रका जल्दाबल्दा समस्याप्रति सत्तादारी दलकाे बेवास्ता त छँदैछ प्रमुख प्रतिपक्षी पनि काेभिडलाई कारण देखाएर पन्छिरहेकाे छ । कांग्रेस, नेकपा, जसपा, राप्रपाभित्रका छताछुल्ल विवाद, किचलाे, अव्यवस्थापन, नेताहरूकाे आचरण, कार्यकर्ताहरूकाे बेचैनी, अविश्वास, आक्राेश, असन्ताेष प्रतिक्रिया र भद्रगाेल स्थिति सबैकाे सामू छर्लङ्गै छ । 

दलकाे महत्व नै घटाउने गरि नेताहरूकाे अत्याधिक सत्तामाेह, पारिवारिक र नातामाेह, आफूभित्र हुर्कँदै गरेकाे घमण्ड, अहंकार र कुसंस्कारले पूर्व राजा ज्ञानेन्द्र शाहकाे पक्षमा सडकमा नारा लगाउनेहरूकाे यसै चुरीफूरी बढ्दै गएकाे देख्न सकिन्छ । आफ्नो आङमा भैँसी नदेख्ने अर्काको आङमा जुम्रा देख्ने ओली, प्रचण्ड, देउवाको प्रवृत्तिले राजनीतिलाई अपराधिकरण, भ्रष्टिकरण, कम्पनीकरण मात्र गरेको छैन यही प्रकारको राजनीतिले उनीहरूकै पालमा उनीहरूले नै ल्याएकाे गणतन्त्रकाे भविष्य असुरक्षित भइरहेकाे छ । हाेइन भने आम नागरिकले खबरदारी गरिरहँदा सुध्रन र चेत्न नसकेका नेताहरूबाट नागरिकहरू कति दु:खी छन् । प्रजातान्त्रिक आन्दाेलनका लागि विभिन्न आराेह अवराेह भाेगेका, देखेका नेताहरू संघीय लाेकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा जनताप्रति चिन्तित, जवाफदेही हुनुकाे सट्टा आफ्नै आसेपासे, नातागाेता, व्यापारी, ठेकेदार  र चाकडीबाजहरूलाई काखी च्याप्ने, सार्वजनिक पदहरकाे राजनीतिक नियुक्तिमा माेलमाेलाईमा बिक्री बितरण गर्ने अभ्यास प्रखर र संस्थागत रूपमै विकास हुँदै गइरहेकाे डर लाग्दाे अवस्थामा पनि नागरिक खुशि देख्नु निभ्न लागेकाे दीयाेकाे झ्याप्प उज्यालाे मात्र हाे । यस कार्यमा साना-ठूला सबै दल र तिनकाे नेताहरूकाे संलग्नता र जिम्मेवार रहेका छन् । 

नेताहरू, खाली कुर्चीका लागि तँछाडमछाड गर्ने, देश र जनताको उन्नती गर्नुभन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने कामबाहेक केही गरिरहेका छैनन् । हिजोसम्म सबै एकै मञ्चबाट भाषण गर्ने नेताहरू अब त एउटै पार्टीभित्र पनि सबै नेता एकजुट छैनन् । खान नपाएसम्म एकजुट खानपाएपछि छुटाछुट, कुटाकुटको प्रवृत्तिले नेताहरू कहिले सुध्रने छाँटकाँट देखिन्न । ‘हामी त सबै यस्तै त हाे नि ब्राे, हम कभी नहीं सुधरेंगे’ त व्यवहारले देखाइनै सके अब सार्वजनिक रूपमा भन्न मात्र बाँकी छ ।  

शिवराज खड्का

prabin khatiwada लेख्नुहुन्छ ७ मङ्सिर, २०७७ १०:१२ pm

‘हामी त सबै यस्तै हाे ब्राे, हम कभी नहीं सुधरेंगे’ headline nai man paryo.

prithivi karki लेख्नुहुन्छ ७ मङ्सिर, २०७७ १०:११ pm

'समृद्ध नेपाल, सुखी नेपाली' काे गीत गाएर हुने भए दुर्गेस थापा छदैछ नि । देउवा, प्रचण्ड र अाेली किन चाहियाे ।

Purna Paudel लेख्नुहुन्छ ७ मङ्सिर, २०७७ १०:०८ pm

सबै पैसा थुपार्नै व्यस्त छन् । यिन्लाइ मर्नु पर्दैन कि क्याे ब्राे ?

मन्जिल पाण्डे लेख्नुहुन्छ ७ मङ्सिर, २०७७ १०:०६ pm

काले काले मिलेर खाउँ भाले । सबका बस फटाहा हुन् ।

Mahesh Darlami Magar लेख्नुहुन्छ ७ मङ्सिर, २०७७ १०:०५ pm

Hami yastai ta ho ni bro

तपाईँको मत