फोटो

कुशेश्वर महादेव मन्दिर दुम्जामा बत्ति बाल्ने र शतबीज छर्नेको घुइँचो

तस्बिर: तिलक श्रेष्ठ

सिन्धुली । हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सिन्धुलीको दुम्जास्थित आदिलिङ्गेश्वर कुशेश्वर महादेव मन्दिरमा बत्ति बाल्ने र शतबीज छरिएको छ ।

हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चाेक, भक्तपुरलगायत विभिन्न ठाउँबाट भक्तजनहरु कुशेश्वर महादेव मन्दिर दुम्जा आएका छन् । 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै कुशेश्वर महादेव मन्दिर वरपर शतबीज छर्ने गरिएकाे स्थानीय तिलक श्रेष्ठले बताए ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले कुशेश्वर महादेव मन्दिर दुम्जाको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

काठमाडौं उपत्यकाबाट नजिककाे तिर्थस्थल

सडक सञ्जाल विस्तारले आउजाउ सहज भएसँगै दर्शन तथा पूजा गर्न आउनेको संख्या बढेको हो । कुशेश्वर महादेव मन्दिर बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोसी गाउँपालिकाको दुम्जामा पर्छ । मन्दिरमा काठमाडौं उपत्यका, आसपासका जिल्ला तथा मधेशबाट समेत दर्शनार्थीहरू आउने गरेका छन् । दर्शनार्थीहरु दैनिक गाडी रिजर्भ गरेर आउने गरेको स्थानीय तिलक श्रेष्ठ बताउँछन् ।

शिव पुराणको हिमवतखण्डमा सो महादेव मन्दिर र पारिपट्टि रहेको रामेछापको खाँडादेवी गाउँपालिकास्थित विश्वामित्र गुफाको बारेमा पनि चर्चा गरिएको छ । त्यसैले महादेव मन्दिरलाई ऐतिहासिक महत्वको तीर्थस्थल मानिन्छ । सुवर्णकौशिकी अर्थात् सुनकोसी र रोशी खोलाको दोभानमा महादेव मन्दिर छ । हिमवतखण्डमा वर्णित ६४ शिवलिङ्गमध्ये सबैभन्दा पहिलो कुशेश्वर महादेवलाई मानिन्छ । त्यसैले यसलाई आदिलिङ्ग भनिने श्रेष्ठ बताउँछन् । हिमवतखण्डका अनुसार ब्रह्माजीले विश्व सृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले पनि यसलाई आदिलिङ्ग भनिएको हो ।

शुम्भ, निशुम्भ लगायतका राक्षसले दुःख दिएपछि कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्दा अष्टादश भुजाधारी जलदेवी दुर्गा प्रकट भएकी थिइन । उनले राक्षसको वध गरी देवताहरूको उद्धार गरेर सुनकोसी नदीमा खाँडो पखालेर खाँडादेवीमा गाडेर कालिञ्चोक गई अन्तध्र्यान भएको धार्मिक मान्यता पनि छ । त्यसैले कुशेश्वर मन्दिर र विश्वामित्र गुफासँगै रहेको घाटलाई दुर्गा घाट भन्ने गरिन्छ ।

आदिलिङ्ग कुशेश्वर महादेवको पूजा दर्शन र हवन गरेमा तथा पितृको श्राद्ध गरे पितृ उद्धार र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । सुवर्ण कौशिकीको स्नानपछि कुशेश्वरको दर्शन गरेर कुष्ठरोग निको भई विरुपाक्ष पशुपतिनाथको दर्शन गर्न गएको वर्णन पनि धर्मशास्त्रमा छ । 

काठमाडौं उपत्यकाका नेवार समुदायकाे कूल देवता

भक्तपुर लगायतका काठमाडौं उपत्यकाका नेवार समुदायले कुशेश्वर महादेवलाई कूल देवताको रूपमा पुज्ने गर्दछन् । नेपाल संवत् ८९१ मा भक्तपुरका राजा जगज्जय मल्लले कुशेश्वरको भक्तिभावले राज्य पाएको कहावत छ । राजा भएपछि जगज्जय मल्लले कुशेश्वर महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत झाँगाझोली खहरेको खेत तथा फलफूल बारीको व्यवस्था गरिदिएको इतिहासमा छ । राजा जगज्जयले झाँगाझोली सन्यासी गाउँको बारी र पाखोसमेत गुठी राखी ताम्रपत्रसमेत गरी दिई सो ताम्रपत्र बमोजिमको गुठी कमाई नित्यपूजा चलाउन बलभद्र गिरीलाई जिम्मा लगाइदिएका थिए । भूमिसुधारको समयमा फलफूल बारी बलभद्रका सन्तानले आफ्नो नाममा दर्ता गरे ।

कुशेश्वर मन्दिरको नाममा रहेको धेरै खेत रोशी खोलाले बगाइदियो । अहिले गुठीको केही जग्गा बाँकी नै छ । तर त्यो व्यवस्थित हुन सकेको छैन ।

भक्तपुरका मल्ल राजाले पनि ढुंगाको खम्बामाथि ढुंगाकै बसाहा राखी कुशेश्वर महादेवस्थानमा अर्पण गरेका थिए । उनले चाँदीका मुकुट र गहना चढाएका थिए । तिनै राजाले मन्दिरको वरिपरि गिर्जा र सानो धर्मशाला पनि बनाएका थिए ।

विक्रम संवत् १८३६ मा श्री ५ राजेन्द्र लक्ष्मीदेवी शाहले श्री कुशेश्वर नाथमा दुमजेश्वरी अंकित चाँदीको बेलपत्र र धतुरा पुण्यको माला पनि चढाएको शिलालेखमा उल्लेख छ । श्री ५ पृथ्वीवीरविक्रमकी बुबुधाई दुम्जाकी बिर्तावाला जनककुमारीले विसं १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठूलो चँदुवा र तामाको जलहरी चढाई एउटा धर्मशाला बनाइदिएको अभिलेख पनि छ ।

तस्बिरहरू-गाउँसहर

तपाईँको मत