ब्लग

नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिऊँ कि छाडी जानेलाई श्रद्धाञ्जली !

 महामारीले मानवीय संकट व्यहोरिरहेको बेला जब राज्य सञ्चालकका प्राथमिकता बरालिन्छन्, तब नागरिकले अकालमा मर्नुको विकल्प रहँदैन ।

काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरेकाे आज १६ औँ दिन भएको छ । शरीर काेठेबन्दी भएपनि मन स्थिर छैन । माेबाइल नचलाऔँ, ल्यापटप नखाेलाैँ भन्याे पेशाले पनि के भइरहेछ भन्ने अपडेट भइनै रहनुपर्ने । छिन-छिनमै माेबाइल र ल्यापटप खाेल्याे- समाचार उही 'राजनीतिक किचलाे', 'अक्सिजन नपाएर बिरामीहरूकाे मृत्यु', 'निजी अस्पतालद्वारा चर्काे शुल्क असुल' यस्तै यस्तै । सामाजिक सञ्जालमा हेर्‍यो भने झन् डरलाग्दा पाेष्टहरू देखिन्छन् । 'हार्दिक श्रद्धाञ्जली' का पाेष्टहरूले भरिएका छन् । उपचार भइरहेकाकाे 'शिघ्र स्वास्थ्य लाभका कामना' हरू । शुभ समाचार केही छैनन् । पछिल्ला तथ्याँक हेर्ने हाे भने ‘एक मिनेटमा ६ जना’ भन्दा बढि काेराेना संक्रमण भइरहेका छन् भने सात मिनेटमा एक जनाले ज्यान गुमाइरहेका छन् । याे संख्या अझ धेरै छ । एउटा परिवारका एउटै लक्षण देखिएपछि एकजनाकाे परीक्षण गरेर अन्यकाे नगर्ने संख्या कयाैँ छन् । 

झण्डै एक महिना लामाे राजनीतिक दाउपेच र रस्साकस्सीपछि शुक्रबार (आज) खड्गप्रसाद (केपी) शर्मा ओलीले तेस्राेपटक प्रधानमन्त्रीकाे सपथ लिएका छन् । त्याे पनि इश्वर हाेइन जनताकाे नाममा सपथ । आजदेखि प्रधानमन्त्रीसहित पुरानै २५ जनाकाे जागिर पुनस्थापित भएकाे छ । राष्ट्रपति निवासमा २४ जनाकाे सपथ चलिरहँदा मुलुकभर पछिल्लाे २४ घण्टामा २०३ जनाले ज्यान गुमाएकाे खबर तयार हुँदै थियाे । राष्ट्रपति निवासमा प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूकाे पद पुनर्जिवित भइरहँदा ती नागरिक अक्सिजन वायु नपाएर विलिन हुन पुगे । खुशीकाे सलामी पाइरहँदा आर्यघाटहरूमा मलामीसमेत नपाइ नागरिक जलिरहेका, जमिनमा पुरिनुपरेकाे छ । शितल निवासमा सलामी धुन बजिरहँदा काेभिडले ज्यान गइरहेका नागरिकले शंख फुक्ने मलामी पाइरहेका थिएनन् । देशकाे तिताे यथार्थ यही हाे ।

“मर्दाकाे मलामी पर्दाकाे जन्ति” भन्ने नेपाली लाेकाेत्ति यतिबेला व्यवहारमा चरितार्थ छैन । मलामी पाइने अवस्था छैन । आर्यघाटहरूका दृष्यहरू हेर्दा मन बेचैन हुन्छ । मृत्यु शास्वत सत्य हो, तर मृत्युको पीडा असैह्य हुन्छ । अकाल त्याे पनि अस्पतालमा पुगेर पनि अक्सिजन नपाएर छटपछाएर भएका मृत्यु भयङ्कर पीडादायी छन् । अस्पतालकाे बेडमा, बेडमा पनि के भन्नु, पिँढीमा बिरामी छाेडेर आफन्तहरू अक्सिजन सिलिण्डर खाेज्न अक्सिजन उद्याेगहरूमा सुक्क सुक्क गर्दै लाइन बसिरहेका छन् । अक्सिजनकाे सिलिण्डर भागमा पर्ने हाे हाेइन थाहा छैन, लिएर अस्पताल नपुग्दै बिरामीकाे ज्यान पाे जाने हाे कि भन्ने त्रासदीपूर्ण परिदृष्य छ ।

स्वास्थ्य मन्त्रालय काेभिड संक्रमणले मृत्यु भएकाहरूकाे शव गणना गर्दै तथ्याँक सार्वजनिक गरिरहँदा मुलुकको राजनीतिक क्षेत्रको प्राथमिकता बहुमतको सरकार बनाउने र बनाउन नदिनेमा केन्द्रित थियो । विपक्षी दलहरू पनि एकआपसमा मिलेर बहुमतको सरकार बनाउने प्रयासमा थिए । अर्थात् कोरोना संक्रमणले यति ठूलो संख्यामा नागरिकको जीवनहरण गरिरहँदा मुलुकको सरकार र राजनीतिक नेतृत्वको प्राथमिकता अर्कै थियो ।

त्यसाे त मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश नपढेपछि राष्ट्रपतिले पुनः वाक्य दोहोर्‍याउँदा 'यो पर्दैन' भन्नुले तपाईँलाई आशंका गर्न मिल्छ कि मिल्दैन ? देशकाे कार्यकारी प्रमुखले सार्वजनिक रूपमा पद तथा गोपनीयताको सपथ खाइरहँदा मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु भन्ने हिम्मत किन जुटेन । अब तपाईँले गर्ने कामप्रति अब नागरिकले प्रश्न उठाउन पाउने कि नपाउने ? 

काठमाडौंसहित विभिन्न ठाउँका अस्पतालहरूले अक्सिजनको अभाव देखाउँदै बिरामी भर्ना गर्न छोडेका छन् र भएका बिरामीलाई पनि धमाधम घर फर्काउँदै छन् । जनता संक्रमणका कारण मृत्युशय्यामा छटपटाइरहँदा अक्सिजनसमेत दिन नसक्ने कस्तो सरकार ? यसको जिम्मा सरकारले लिनुपर्छ कि पर्दैन ? होम आइसोलेसनमा बसेका हजारौँ संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ र ती के गर्दै छन् भन्नेबारे सरकार बेखबर छ । अस्पतालमा शवहरूको चाङ लाग्न थालिसक्यो । घाटमा शव जलाउने ठाउँको अभाव हुन थालिसक्यो । सरकार अझै कति दिन जनताको शव गनेर बस्ने ?

अब अस्पताल, बेड, डाक्टर, औषधी, अक्सिजन, भेन्टिलेटर, खोपदेखि चिहानसम्मकाे जाेहाे र खाेज नागरिक आफैँले गर्नुपर्ने भएपछि सरकार किन चाहियाे ? महामारीका कारण मानवीय संकट व्यहोरिरहेको बेला जब राज्य सञ्चालकका प्राथमिकता बरालिन्छन्, तब त्यस्तो देशमा बस्ने नागरिकले अकालमा मर्नुको विकल्प रहँदैन । आँखा अघिल्तिर त्यस्तो भयानक मानवीय त्रासदीको चित्र प्रस्तुत गरिरहेको छ, जुन हेरेर सबैको आङ सिरिंग हुँदै छ । राज्य सब ठीकठाक झैँ मानेर दलहरू बेसरम सत्ता र पदीय भागबण्डामा छन् ।

अक्सिजनको अभावमा तड्पिएका बिरामीहरू, बन्दाबन्दीमा दिन–रातको सन्नाटा चिर्दै साइरन बजाउँदै कुदिरहेका एम्बुलेन्सहरू, अस्पतालमा बेड पाउन हारगुहार गरिरहेका आफन्तहरू अथवा रेम्डिसिभिर औषधिका दुई भाइल पाउन सहयोग मागिरहेका मानिसको कोलाहल यत्रतत्र छरिएको छ । तर, मानिसको चीत्कारमा मुनाफाको महल ठड्याउन अझै पनि केही समूह, व्यापारी, दलाल यतिसम्म सक्रिय छन् कि उनीहरूले मानवीयताका सामान्य नियमलाई पनि कुल्चिँदै गइरहेका छन् । 

त्यसाे त राष्ट्रिय सभाको उपनिर्वाचन गृहमन्त्री रामबहादुर थापा बादल सरकारी खर्चमा हेलिकाेप्टर चढेर निर्लज्ज काठमाडाैंबाट हेटाैँडा पुगे । यहाँभन्दा हाकाहाकी सरकारी सम्पत्तिमा भ्रष्टाचारकाे प्रमाण के हुनसक्छ र ? 

विवश बिरामी र तिनका झन् विवश आफन्तहरूले यस्तो वेलामा अभिभावकका रूपमा सरकारलाई खोजिरहेका छन् । यस्तो वेलामा पनि सरकारले आफू भएको आभास दिन सकेन भने योभन्दा दुःखद र लज्जास्पद अर्को केही छ र ? 

प्रदेश सरकार र जनप्रतिनिधि त सामाजिक सञ्जालमा रमाइरहेका छन् वा राजनीतिक तिकडममा, संघको चाकडीमा डुबेका छन् । सरकार नै सतर्कता प्रोटोकल जारी गर्ने, अर्कातिर सरकार प्रमुखले आफैँ हजारौँको भीड जम्मा गरेर रामसीताका मूर्तिको रथयात्रा गराउने, धरहरा उद्घाटन गर्नेजस्ता कार्यकृत्य गरेका कारण आज राजधानी उपत्यका कोरोनाको हटस्पट बन्न पुगेको छ ।

प्रधानमन्त्री नियक्तिलगत्तै बालुवाटारबाटै भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटन गर्नुभयाे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आलोचना गर्नेहरू माथि टिप्पणी गर्दै विकासकाे गति र उद्घाटन/शिलान्यासका कामहरु भएका भयै देखेर मान्छेहरू आत्तिएकाे पनि भन्न भ्याउनुभयाे । निर्माणसम्पन्न नहुँदै हत्तार हत्तारमा शिलान्यास गरेर नाम लेखाउने रहर कहिलेसम्म पलाउने हाे तपाईं नै जान्नुहाेस् ।  

लकडाउन वा निषेधाज्ञा भनेको राज्यले अरू तयारी गर्न नभ्याइएको अवस्थामा समय जोहो गर्ने उपाय हो । संक्रमणको शृंखला तोड्न पनि यो सहयोगी हुन्छ भनेरै हाे । याे संक्रमणको शृंखला तोड्ने एक मात्र प्रभावकारी उपाय भनेको संक्रमित पहिल्याउने र उसलाई आइसोलेट गर्ने हो । यसबीचमा अस्पताललगायत स्वास्थ्य संस्था र अस्थायी उपचार केन्द्रलाई बलियो बनाउनेतर्फ सरकारले ध्यान केन्द्रीत हुनुपर्दथ्याे त्याे भएन । 

अब त तपाईँहरुको पार्टीभित्रकाे विग्रहकाे परालको आगो निभ्याे होला कि । अब पद, मान, सम्मान शक्ति, हिसाबकिताब मिलेको भए जनताको ज्यानको रक्षा गर्न लाग्नुस् । सरकार र राजनीतिक क्षेत्रको ध्यान महामारीतिर नियन्त्रणमा लगाउनुस् । 

यस्ताे बेला सरकारले राजनीति गर्ने होइन, अन्य दलसँग मिलेर महामारीसँग जुध्ने हो । तर विडम्बना, यो संकेत अझै देखिँदैन । सरकार मात्र होइन, प्रमुख प्रतिपक्ष वा प्रतिपक्षमा रहेकाहरूले पनि स्थानीय तहहरूमा रहेका आफ्ना नेतृत्वलाई यो महामारी नियन्त्रणमा काम गर्न निर्देशन दिन आवश्यक देखिन्छ । यो महामारी दलहरूका लागि परीक्षा पनि हो । 

संघदेखि स्थानीय तहसम्म निर्वाचित र कामकाजी सरकार छन् । निर्वाचित संसद् छन् । सेवा प्रवाह गर्ने निजामती प्रशासनका एकाइहरू वडा तहसम्म फैलिएका छन् । स्वास्थ्य सेवाका संस्था र संरचना पनि वडा तहसम्म नै छन् । झन्डै दुई लाखभन्दा धेरैको सैन्य जनशक्ति छ । सहकारी संस्था, विद्यालय, राजनीतिक दलहरू र सामाजिक संघसंस्थाहरू छन् । हरेक नागरिक कुनै न कुनै सामाजिक, राजनीतिक र प्रशासनिक सञ्जालमा संगठित छन् । साथै सरकारले खर्च गर्न नसकेर थन्केको बजेट छ । यस्तोमा सरकारले चाहँदा यी सबै संरचनासँग सहकार्य गरेर महामारीलाई परास्त गर्न ठोस नीतिसहित काम गर्न सक्छ । समय घर्किदैछ नत्र हामीसँग पछुतो गर्नुबाहेकको विकल्प रहनेछैन । अब पटक्कै ढिला नगरौँ, नत्र इतिहासले धिक्कार्नेछ ।

यतिबेला नैतिक–अनैतिकको सीमा भत्केको छ । सरकार ढाल्न र बनाउन गरिने खेल र त्यसका पात्रहरूको चलायमान दृश्यले आममानिसमा राजनीतिक दल, नेताहरूप्रति मात्र होइन, व्यवस्थामाथि पनि एक प्रकारको वितृष्णा जागेको छ । यसबाट उम्कने उपयुक्त समय पनि हाे याे । तर सरकारका गतिविधि देख्दा बालुवाटारबाट बाहिर निस्कने लक्षण देखिँदैन । 

जनतालाइ बेसारपानी गार्गल गर्नु भनेर आफूचाहिँ काेभिडविरूद्धका भ्याक्सिन लगाउने बेला आफैँले दिएकाे अभिव्यक्ति शरम् लाग्याे कि लागेन तपाईँ नै जान्नुहाेस् । अब खाेप ल्याउन पहलकदमी, अपीललाई विभिन्न कुटनीतिक माध्यम प्रयाेग गरेर नागरिककाे ज्यान बचाउने कार्यकमा हुनुहाेला वा अल्पमतकाे सरकार बचाउने र पार्टीभित्रकै नेता-कार्यकर्ता मनाउनेमै समय खर्चनुहुन्छ तपाईँकै जाे मर्जी ।

अन्थमा तेस्राेपटक प्रधानमन्त्री हुनुभएका खड्गप्रसाद (केपी) ओली मेराे/हामी सबैकाे प्रधानमन्त्री हाे । माफ पाऊँ प्रधानमन्त्री ज्यू ! काेभिडले दैनिक सयाैँकाे संख्यामा नागरिकले ज्यान गुमाइरहेकाे शाेककाे बेला मैले तपाईँलगायत नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन सकिन । काेभिड संक्रमित भइ समयमै औषधोपचार नपाइ अकालमै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारमा गहिराे समवेदना व्यक्त गर्दछु ।

तपाईँको मत