दृष्‍टिकोण

पार्टीका कार्यकर्ता यति छन् र यति भोट पक्का भनेर अबकाे राजनीति चल्दैन

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कांग्रेस गठबन्धन र एमालेका उम्मेदवारलाई ५ गुणाभन्दा धेरै मतले पछि पार्दै विजयी भए ।लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भए । आइतबार सम्पन्न उपचुनावको नतिजाले पुराना स्थापित राजनीतिक शक्तिहरूप्रति जनतामा विकर्षण थप बढ्दै गएको प्रस्ट देखाएको छ । प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै पाए । लामिछानेले प्राप्त गरेको मत कुल सदरमतको ६९ प्रतिशत हो र यो गत मंसिरमा प्राप्त गरेकोभन्दा बढी मत र मतान्तर हो ।

कांग्रेसको किल्लाजस्तै मानिएको तनहुँ–१ मा तीन साताअघि मात्र कांग्रेसबाटै रास्वपा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले निकै फराकिलो मतान्तरले जिते । निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा झन्डै १५ हजार बढी मत ल्याएका वाग्लेले गत निर्वाचनका विजेता वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको भन्दा पनि ९ हजार ६ सय बढी मत पाए । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाए । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याए । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । अरु उम्मेदवारले एक हजा मत कटाउन सकेनन् ।

बारा–२ मा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपासहितको समर्थनमा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई एक्लै प्रतिस्पर्धामा रहेको जनमत पार्टीले कडा टक्कर दिएको थियो । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरे । यादवले २८ हजार ४ सय १५ मत ल्याए भने निकटतम् प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरे । पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे । उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उपनिर्वाचनकाे याे परिदृष्यले लामो आन्दोलन, भूमिगत र जेल जीवनका कथा दोहोर्‍याउने पुराना पुस्ताको नेतृत्वमा रहेका दलको सट्टा युवा पुस्ताको नेतृत्वमा रहेका नयाँ दलप्रति मतदाताको आकर्षण देखिएको छ ।

त्यसाे त समाजले आफ्नै हैसियतअनुसारको नेता पाउँछ भन्ने भनाइमा कहीँ न कहीँ सत्यता छ । कुनै पनि समाजलाई नेतृत्व गर्ने नेता त्यही समाजबाट आउने हो । उसको आचरण त्यही समाजको प्रतिबिम्ब हो । आदर्श राजनीतिक दल र आदर्श नेताको परिकल्पना गरिरहँदा हामीले आफ्नो खराब आचरण र व्यवहारलाई सधैँ नजरअन्दाज गरिरह्यौँ । आफ्नो आचरण जस्तो भए पनि हामीलाई नेतृत्व गर्ने नेताचाहिँ सर्वगुण सम्पन्न चाहिएको हुन्छ । लोकतन्त्रमा सरकार शोषक र मालिक होइन, सेवक हुनुपर्छ । त्यस्तो सरकार निर्माण नागरिकको विवेकपूर्ण मतदानबाट मात्र सम्भव हुन्छ । त्यसैले, जवाफदेही नेतृत्व पाउन नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्छ । 

आम नागरिकलाई खल्तीको गोटी ठानेर निर्वाचनलाई ‘प्राविधिक वैधता’ हासिल गर्ने संयन्त्र मात्र बनाउन पल्किएका राजनीतिक दल र नेताहरूलाई मतदाताले गत आम चुनावमै पाठ सिकाइसकेका थिए । जनताले परम्परागत शक्तिहरूलाई खुम्च्याएर नयाँ राष्ट्रिय र क्षेत्रीय शक्तिहरू स्थापित गर्नुको अर्थ बुझेर ठूला दलहरूले यसबीचमा आफूलाई सुधार्नुपर्ने थियो; आफ्नो सान्दर्भिकता जोगाइराख्न जनतासित कसरी जोडिने भनेर गृहकार्य गर्नुपर्ने थियो । तर आम चुनावपछि पनि ठूला दलहरूको प्रवृत्ति कत्ति सुध्रिएन । सरकार गठनदेखि राष्ट्रपति चयनसम्म अपत्यारिला राजनीतिक गठबन्धनका गाँठाेहरू कसिए । सत्ता गठबन्धन बन्ने, भत्कने तथा फेरिने हुँदा छोटो अवधिमै प्रधानमन्त्रीले प्रतिनिधिसभामा दुई–दुई पटक विश्वासको मत लिनुपर्‍यो । र, नागरिकले महसुस गर्ने गरी सुशासन कायम राख्नु त कता हो कता, यतिन्जेल मन्त्रिपरिषद्ले पूर्णतासमेत पाएको छैन । यस्तो राजनीतिक खिचातानीलाई नियालिरहेका मतादाताले फेरि पुरानै दललाई जिताउनुपर्ने कुनै कारण थिएन, जिताएनन् ।

उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा कांग्रेसलाई ठूलो धक्का पुगेको विश्लेषण नेताहरूले पनि गर्न थालेका छन् । तर, यसको कारण आफैंभित्र खोज्न भने उनीहरू तयार छैनन् । कांग्रेस सभापति देउवाले मंगलबार संसदीय दलको बैठकमा ‘पुराना दलप्रति सोसल मिडियामा भएको आक्रमणको परिणामस्वरूप चुनाव हार्नु परेको’ भन्दै चिन्ता प्रकट गरेका छन् । बिपीले जमानामा यसो भन्थे भनेर गौरवगान गर्ने नेतालाई अबका तन्नेरीले किन विश्वास गर्छन् ? दश वर्षको महान् जनयुद्ध गरेका थियौं भन्नेहरूप्रति अबका नवयुवालाई के चासो ? उपनिर्वाचनमा भएको क्षतिले ठूला पार्टीलाई समग्रमा सच्चिने ठूलो मौका दिएको छ । यो मौकालाई सदुपयोग गरेर पार्टी परिवर्तनको दिशामा नलाग्ने हो भने आसन्न निर्वाचनमा कांग्रेस, एमाले र माओवादी पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । 

सत्ताका लागि भइरहने गठबन्धनलाई पनि मतदाताले मन नपराएको सन्देश दिएका छन् । परम्परागत दलमा जनसेवाभन्दा सत्तामोह हावी भएकाले जनतामा वितृष्णा जागेको बुझाइ माओवादी नेताहरूको पनि छ । पुराना दलहरूको आफ्नै कार्यशैली र व्यवहारका कारण नयाँ शक्ति उदाएको हो । निर्वाचनमा करोडौं खर्च गरेर जितेका नेताहरूले त्यो खर्च उठाउन उद्यत रहँदा जनता निराश हुने अवस्था आएको हो । ढुंगा हान्ने र जेल जाने कुरा अब राजनीतिक एजेण्डा रहेन । युवाहरू माक्र्स वा बीपीको नाम भजाएर राजनीति गर्नेहरूसँग आजित छन् । आन्दोलनबाट वा ढुंगा मुडा गरेर नेता भएकाहरूवाट आश गर्नु बेकार छ भन्ने बुझाइ देखियाे । सिस्टम, प्रविधि वा अर्थतन्त्र बुझेकोले मात्रै वेरोजगारी जस्ता समस्या समाधान गर्न सक्छन् भनेर बुझाइ मतदाताहरूले मतमार्फत पाेखेकाे देखियाे । 

जनताले छानेका नेता र प्रतिनिधि बढी अधिनायकवादी, व्यक्तिवादी, भोगवादी प्रवृत्तिमा लिप्त भएका कारण गणतन्त्रको अभ्यासमा ह्रास आउन थालेको चिन्ता सबैतिर व्याप्त छ । राजनीति पेसा वा व्यापार होइन भन्ने मान्यता क्रमशः गलत सावित हुँदै आएको छ हामीकहाँ । तस्कर, व्यापारी र भ्रष्टहरूसँगको मिलोमतोमा अकूत सम्पत्ति आर्जन गर्नु नै राजनीतिको अभीष्ट भएको छ नेपाली नेताका लागि । यो अत्यन्त घीनलाग्दो, लाजलाग्दो र अविवेकी कार्य बनेको छ । जताततै विकृति र विसङ्गतिका चाङ छन् । यीबाट मुक्त हुन यसबीचका कुनै पनि सरकार र राजनीतिक दलले कुनै पहलकदमी लिएनन् बरु सत्ताको लुछाचुँडीमा समय बर्बाद पारे । 

देशको आर्थिक अवस्था एकदम जर्जर भइसकेको छ । खाद्यान्न, तेल, इन्धनको मूल्यवृद्धिले सीमा नाघेको छ, तैपनि सब ठिकठाक छ जसरी नागरिक चुपचाप छन् । महँगीले ढाड सेकिएको र बेथितिले पिरोलेको सबै थाहा छ सबैलाई । बेथितिको कारण भनेको अहिले राज्यसत्तामा भएका व्यक्ति हुन् भन्ने पनि थाहा छ । त्यही पनि फेरि निर्वाचन आएपछि पेट्रोल र खाजाको आसमा तिनै भ्रष्टको ‘र्‍यालीमा गइरहेकाे, पैसाको लोभमा तिनैलाई भोट दिएर जिताएकै हाे । नागरिकमाथि अत्याचार गर भनेर नागरिक विवेकको चाबी तिनैलाई दिन्छन् । अलि पछि तिनै नेतालाई सराप्छन् । तर, यसपटक मतदाताहरूले पार्टीको आबद्धता बिर्सिएर उम्मेदवारको योग्यता वा क्षमता हेर्दै अरुलाई मतदान गरे । कांग्रेस, एमालेहरूको भोट घण्टीका उम्मेदवारले पाए भन्ने कुरा जगजाहेर छ । पार्टीका कार्यकर्ता यति छन् र यति भोट पक्का भनेर सोझो हिसावले राजनीति अब चल्दैन ।

बहुदलीय व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष दलहरू बिच स्वस्थ प्रतिस्पर्धा नै हो । चुनावका बेला यो सुन्दर पक्ष चम्किलो बनेर सबैतिर प्रस्फुटित बन्छ पनि । चुनावी माहौलमा नेता र राजनीतिक दलले गर्ने वाचा जनताका लागि सुनौलो सपना बन्छन् । तर, चुनावपछि त्यो वाचा सम्झिने फुर्सद शायद कमै नेतालाई हुन्छ । उपचुनावले चरित्र सुधार्न घचघच्याएकाे छ । अब यो देशमा कोही राजा र कोही रैती पनि छैनन् । देश चलाउँछु भन्ने दल समेत जनताप्रति उत्तरदायी बन्नु पर्छ भन्ने आवाजकाे प्रतिबिम्ब हाे । जनताले अहिले मेट्रो ट्रेन र फ्लाइओभरको सपना देखेका छैनन् । सपना देखेका छन् त बसु, हिँड्न लायक सडक, फोहर मैलाको सही व्यवस्थापन, धारामा पानी, सस्ताे र गुणस्तरीय स्वास्थ्य र शिक्षा । जनताले देश हाँक्ने जनादेश दिएका दल र नेताले अझै पनि म नै मालिक हुँ भन्ने जमिन्दारी सोच कायम राख्ने हो ढिलो चाँडो सबैले भाेग्ने बाटाे चाहिँ पतनकै हाे । घोषणा पत्र बनाउने र सुनाएर मत माग्ने दिन अब सकिए । उपचुनावले पुराना राजनीतिक नेतृत्वलाई ऐना देखाइदिएको छ । सबै उपाय अवलम्बन गर्दागर्दै पनि उच्च राजनीतिक चेत रहेका जिल्लामध्ये मानिने तनहुँमा पुराना दलहरूको धरातल नै गर्ल्यामगुर्लुम हुनु, चितवन र बारामा समेत पुराना दलको प्रस्तुति निकै कमजोर देखिनु उनीहरूकै निम्ति ‘सरप्राइज’ भएको छ । अब कामकाे परिणाममा चाहिएकाे छ । अब सुध्रिने अन्तिम मौका हुनेछ । नेताज्यूहरू, अब त अति भयो मति नसुध्रिए खती हुने बेला भयो । चेतना भया ।

तपाईँको मत