प्रेरणा

कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ

हिन्दु धर्मावलम्बीको प्रमुख पर्वहरूमा राम नवमी पनि एक महत्त्वपूर्ण पर्व हो । हिन्दु धर्मग्रन्थ अनुसार चैत शुक्लपक्षको नवमी तिथिमा भगवान् श्रीरामको जन्म भएको मानिन्छ । त्यसैले यस दिनलाई श्रीराम जन्मोत्सव वा राम नवमी भनिएको हो । 

राम शब्द रवि शब्दको समानार्थक हो । यसको अर्थ स्वयं प्रकाश हुनु वा आपूm भित्रको ज्योति जगाउनु भन्ने बुझिन्छ । यही कारणले मनुष्य जन्मदेखि अन्तसम्म राम नाम पुकारी रहेको हुन्छ । यद्यपि आत्मप्रकाश नै राम नाम हो ।

भगवान् राम भगवान् विष्णुको अवतारमध्ये एक हुन् । पौराणिक कथा अनुसार धर्तीमा फैलिएको अन्याय, अत्याचार र असुरहरूको विनाशका लागि भगवान् विष्णुले सातौँ अवतार लिँदा रामको रूपमा जन्म लिएका थिए । वास्तवमा भन्ने हो भने धर्म, सत्य, न्याय र निष्ठाका लागि रामले जन्म लिएका थिए । 

वास्तवमा रामराज्य भनेको के हो ? रामराज्य कस्तो थियो ? यो सबैको जिज्ञासाको विषय हो । राजनीतिकर्मीहरू रामराज्य बनाउँछु भनेर भाषण गर्छन् तर कस्तोलाई रामराज्य भन्ने यस सम्बन्धमा महर्षी वाल्मीकिले भनेका छन्–‘अयोध्याका राजा रामले चलाएको राज्यलाई रामराज्य हो जहाँ धर्म, मर्यादा र नीतिमा राज्य चलेको थियो ।’

कुनै पनि देशको खुसी या विस्मात्मा राजा वा राज्य जिम्मेवार हुनुपर्छ । त्यसैले जस्तो राजा त्यस्तै प्रजा भन्ने युक्ति चलेको पाइन्छ । 

रामराज्य एक पूरकतामा आधारित राज्य हो । यसमा सबै प्राणी एक–अर्काका पोषक हुन्छन् । यहाँ कोही शोषक हुँदैन । सबै एक–अर्काका रक्षक हुन्छन् । कोही कसैका विरुद्ध ह्रिसंक हुँदैन । सबै एक–अर्काका शुभ चिन्तक हुन्छन् । भनिन्छ, बाघ र बाख्रीले एउटै पोखरीको पानी खाने वातावरण र परिस्थिति नै रामराज्य हो । यस्तो व्यवहार, नैतिकता र जिम्मेवारीबाट राजा, प्रजा, शासक र शासित सबैको कल्याण हुन्छ । यहाँ नै रामराज्यको ज्वलन्त नमुना झल्किन्छ ।

धार्मिकग्रन्थ रामायणमा श्रीरामलाई मर्यादा पुरुष भनिएको छ । श्रीरामको माता तथा पिताप्रतिको मर्यादा, गुरुभक्ति, भ्रातृप्रेम, पत्नीप्रतिको निष्ठा र आफ्नो राज्यका प्रजाजनहरूप्रति गरिएको सम्मान अनुकरणीय छ । मनुष्य जीवनका कर्तव्य कसरी पूरा गर्ने त्यो श्रीरामको जीवन चरित्रबाट सिक्न सकिन्छ । श्रीरामका तीन भाइले पनि आफ्ना सीमामा रहेर यही मर्यादा दर्शाएका थिए । नारीको मर्यादा के हो ? यो आदर्शनारी सीताबाट सिक्न सकिन्छ । 

आज हामी र हाम्रो देश पनि सुधारिएको शासन व्यवस्थामा रमेका छौँ । एकतन्त्रीय, एकदलीय व्यवस्थालाई समाप्त पारेर बहुदलीयको अन्तिम पद्यति गणतन्त्रमा प्रवेश गरेका छौँ । यसभन्दा अर्को शासन प्रणालीमा जाने हाम्रो आधार कतै छैन । यो व्यवस्थाले हामी सबैलाई सुखी, समृद्ध बनाउने कल्पना व्यवस्थाका सञ्चालकको रहेको थियो । तर आजको अवस्था भिन्न बनेर आयो । जनताले पाउने स्वतन्त्रता पाएका छन् । स्वतन्त्रताका नाममा पाउने सबै व्यवस्थाका आधारलाई हामीले पूर्णरूपमा अवलम्बन गर्न सकेनौँ । गणतन्त्रका दुईवटा निर्वाचनमा बालिक मताधिकारको प्रयोग भइसकेको छ । मताधिकारको प्रयोगबाट जनप्रतिनिधि चुनिएर आएका छन् ।

ती जनप्रतिनिधिले शासन व्यव्सथाका हरेक पक्षमा आफूलाई उभ्याएका छन् । आफू त उभिए तर जनताका सबै अधिकारको संरक्षण र सम्बर्धन गर्न सकिरहेका छैनन् । आफूलाई मात्र केन्द्रमा राखेर गरिएका यी कामले नेपालीले सुख पाउने अवस्था देखिएको छैन । दशरथको जस्तो शासनको कल्पना नेपालीको सोच र आधार होइन । देशमा रोजगारी मिलोस्, अध्ययनका लागि विदेश जानु नपरोस् । काम, माम र दामको व्यवस्था राज्यले गरोस् । स्वाथ्यसेवा सहज रूपमा उपलब्ध होस् । यही चाहना हुन् हामी सबै नेपालीका । यी जनताका भावनालाई सम्बोधन गर्न सके त्यही नै हुनेछ हाम्रा लागि रामराज्य । 

गाउँ सहर डेस्क

तपाईँको मत