गाउँ सहर

दसैं आर्शिवादकाे महत्व : आयु द्रोण सुते, श्रीयं दशरथे...

काठमाडाैं । 

आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तीश्च नारायणे

अर्थ

आयु द्रोण सुते – द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घ आयु होस् ।

६४ कलाका जानकार अश्वत्थामा अष्ट चिरञ्जीवीमध्येका एक हुन् । उनको जस्तै आयु होस् भन्ने प्रतिकात्मक अर्थले सार्थक र चिर आयुको कामना यो पहिलो श्लोकमा गरिएको छ ।

श्रेयं दशरथे – दशरथ राजाको जस्तो मान-सम्मान फैलिइ रहोस् ।

दशरथ राजा अयोध्याका एक सूर्यवंशी राजा एवं भगवान श्रीरामका पिता थिए । आफ्नो यश र कीर्तिका कारण पूरा पृथ्वीमा चर्चित रहेकोले उनको श्रेयलाई आदर्शको रुपमा मान्ने गरिन्छ ।

शत्रु क्षेयं राधवे – शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस् ।

ऐश्वर्यं नहुषे – नहुष राजाको जस्तो ऐश्वर्य बनिरहोस् ।

नहुष पृथ्वी र स्वर्ग दुवैको एकैचोटि भोग गर्ने अवसर पाएका राजा हुन् । पौराणिक कहानी अनुसार भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भए । ब्रह्माजीबाट अत्रि, अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध र बुधबाट पुरूरवाको जन्म भयो । पुरूरवाबाट आयु, आयुबाट राजा नहुषको जन्म भएको थियो ।  पृथ्वीको भोग गरिरहेका नहुष वृत्तासुरको वधका कारण इन्द्रले ब्रह्महत्याको दोष हटाउन कैलाशमा तपस्या गर्न गएको बेलामा स्वर्गको समेत राजा भएका थिए ।

गतिश्च पवने – हावाको जस्तो तीब्र गति होस् ।

मानं च दुर्योधने – दुर्योधनको जस्तो मान प्रतिष्ठा होस् ।

दुर्योधन महाभारतका एक अभिमानी पात्र हुन् ।

शौर्य‌ं शान्त नभे – आकाश जस्तो शान्त र पराक्रमी होस् ।

बलं हलधरे – बलरामको जस्तो बल होस्।

बलभद्र या बलराम श्री कृष्णका सौतेनी दाइ थिए। जो रोहिणीको गर्भबाट उत्पन्न भएका थिए । बलराम, हलधर, हलायुध, संकर्षण आदि अनेक नामले यिनलाई चिन्न सकिन्छ ।

सत्यं च कुन्तीसुते – कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्।

युधिस्ठिर महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका जेठा भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनलाई सत्य, निस्ठा तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ ।

विज्ञानं विदुरे – विदुरको जस्तो विज्ञान होस् ।

विदुर कौरव र पाण्डवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए। तिनको जन्म एक दासीको गर्भदेखि भएको थियो। विदुरलाई धर्मराजको अवतार पनि मानिन्छ ।

कृतिश्च नारायणे- नारायणको जस्तो कृति होस् ।

भगवान नारायणको अवतारै अवतारका कारण उनी भगवानहरुमध्ये पनि कीर्तिमय भगवान मानिन्छन् ।

महिलाहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छ ।

श्लोक

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।

वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम् ।।

अर्थ

पद्माक्षी (लक्ष्मी) विष्णुकान्ता ‌(लक्ष्मी) घरबीच सजिऊन् सबै भरत वंशीयहरुको माझमा मौलाऊन बन्धुवर्गहरु सबै शत्रुहरु घोर पातालमा पुगुन्

श्लोक

देशे देशे च कीर्तिः प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा ।

जीव त्वं पुत्त्रपौत्त्रै स्सकलसुखयुतै र्हायनानां शतैश्च ।।

अर्थ

तिम्रा सत्कीर्ति (असल कीर्ति) राम्रा जग-मग फिँजिऊन् सुदिव्य देश-प्रदेशमा छोरा-छोरी बिचैमा रहनु र सुखले बाँचनू शताब्दी

श्लोक

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ।।

अर्थ

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध तिमीलाई नमस्कार छ

श्लोक

जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवी कालरात्री नमोकस्तुते ।।

अर्थ

देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी! तिम्रो जय होस्। हे कालरात्री तिमीलाई नमस्कार छ ।

 नेपालीहरुको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरु प्रतिकात्मक रुपमा पौराणिक पात्रहरुलाई आदर्श पात्र मानेर दिइएको आशिर्वादहरु हुन् ।

दसैंको टीकाकाे महत्व
दसैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट टिका लगाइद्न्छ जुन टिकाको पनि निकै महत्व छ । टिका जसलाई अक्षता पनि भनिन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्छ  ।  यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।

यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास गरिन्छ।  टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ ।

दसैंको जमराको महत्व

दसैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू)का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ । गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ ।

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको हिसाबले यो निकै पौष्टिक मानिन्छ । यसमा औषधिय गुण पनि हुन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

दसैंको दक्षिणाको महत्व

दसैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धनस वा द्रब्य नै दक्षिणा हो ।  सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ ।  त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत