गाउँ सहर

नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा-आराधना गरी मनाईंदै

काठमाडौं । नवरात्रको छैटौं दिन आज कात्यायनी देवीकोे पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

 

हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कात्यायनीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको छैटौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ ।

छैटौं दिन कात्यायनीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ । यस दिन सात वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ।देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ । कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

गाउँ सहर डेस्क

तपाईँको मत