गाउँ सहर

१५ दिनसम्म मनाइने बडादसैंकाे पहिलाे दिन आज घटस्थापना, जमरा किन र कसरी राख्ने ?

काठमाडौं। हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आइतबारदेखि सुरु हुँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ । 

घटस्थापनामा घडाको पूजा गरी जौ, मकै, गहुँलगायतको बिउ छरेर जमरा राखिन्छ । यस पटक घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नौ दिनसम्म देवीलाई विभिन्न रूपमा पूजा गरेर दशमीको दिनमा विसर्जन गरी घडाको जलले अभिशेष गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा रहेको छ । नौ दिनसम्म हरेक दिन दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले ती दिनलाई नवरात्रिका रूपमा पनि मनाइन्छ ।

दशमीको दिनलाई विजया दशमीका रूपमा मनाइन्छ । यसरी टीका लगाउने क्रम कतै एक दिन मात्र हुन्छ भने कतै पूर्णिमासम्म नै लगाइन्छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।

दसैँको पहिलो दिन ‘शैलपुत्री’ नामकी देवीको पूजा गरिन्छ । आ-आफ्नो क्षेत्रमा रहेका शक्तिपीठहरूमा दर्शन गर्ने र पञ्चबलि दिने परम्परा रहेको छ । विभिन्न कोतमा सरकारका तर्फबाट नै बलीको व्यवस्था गरिँदै आएको छ ।  

जमरा किन र कसरी राख्ने ?

घटस्थापनाको दिनमा विधिपूर्वक भगवतीको आवाहन गरेर घटस्थापना गरिन्छ । साइतमा राखिएको जमरा दशमीको दिन आर्शीवादको रुपमा ग्रहण गरिन्छ । भगवतीको उपासना गरी दुर्गा भवानीमा विशेष तरिकाले जमरा राख्ने प्रचलन छ । केही ठाउँमा जौसँगै गहुँ, मकैलाई पनि जमरा उमार्न छर्ने गरिन्छ ।

नजिकको नदी, जंगल वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएकोे जमराघर वा दसैँघरमा जमरा राख्ने गरिन्छ । त्यसपछि मात्रै स्थापना गरिएको कलश राखेर देवीलाई घडामाथि थाली राखेर दुर्गा यन्त्र अष्टाजन लेखेर घटस्थापना गरिन्छ । र घडाको वरिपरि राखिएको शुद्धमाटोमा जमरा छरिन्छ । नवरात्रभर भगवती दुर्गाका नौ स्वरूपको पूजा घडामा अवस्थित थालीमा गरिन्छ ।

यसरी छरिएको जमरामा बिहान बेलुका नित्य पूजा गरेर ९ दिन ९ रात चोखो पानी हाल्नुपर्छ । र विस्तारै जमरा पहेँलो हुन थाल्छ ।

जमरा जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न मानिन्छ । जमरालाई दुर्गादेवीको प्रसादका रुपमा विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

दुर्गा भवानीलाई सबैभन्दा मनपर्ने अन्नको रुपमा लिइन्छ जौलाई । दुर्गाको पूजा गर्दा जमरा आवश्यकता पर्ने भएकाले र अन्नहरुमा सबैभन्दा पहिले जौको उत्पति भएकाले पनि दसैंमा जौको जमरा राख्ने प्रचलन छ ।

जौ ६० दिनमा नै फल्छ । अनिकाल लाग्दा छिटो फल्ने अन्न भएकाले पनि यसको विशेष महत्व छ ।

शास्त्रमा पनि जौँको निकै महत्व रहेको छ । जौँलाई एकदमै पौष्टिक आहारको रुपमा लिइन्छ । घिउमा मिसाएको जौले हवन गर्दा वातावरणमा रहेको विषालु पदार्थ नष्ट हुनुको साथै पानी पार्नसमेत यसले मद्दत गर्दछ । यसलाई पछिल्लो समय वैज्ञानिकले पनि पुष्टि गरेका छन् ।

जमरा आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । स्वास्थ्यको लागि पनि सुपाच्य, भोक लगाउने भएकाले जमरालाई महत्वका साथ लिइन्छ ।

दुर्गाको पूजा भएको बेला दसैँमा मात्र नभएर अरु बेलामा पनि हामीले भगवतीको पूजा आरधना गर्दा जमरा राख्ने गर्छौ ।

गाउँ सहर डेस्क

तपाईँको मत