गाउँ सहर

आज दर खाने दिन, यी कुरा ख्याल नगरे तपाइँकाे तीज खल्लाे हाेला नि

काठमाडाैं । आजभोली तीजको दर तीजभन्दा महिनौं अघिबटै शुरु भइसकेको हुन्छ तथापि परम्परागत रुपमा तीजको एकदिन अगाडि बास्तविक दर खाने चलन छ ।

हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई आजलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोलि पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुग्धबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् ।

शताब्दीऔंदेखि महिलाहरुको शौभाग्यकालागि बसिने यो तीजका आयामहरु आजभोली समयसङ्गै आधूनिक हुँदै गएको छ, महिनौ अगाडिदेखि दरखाने चलन, तडकभडक र सामाजिकिकरणको नाममा अतिरञ्जीत गर्दै भड्किलो संस्कार र चलनहरु हामीले देख्दै आएका छौं । तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रुपमा मात्र लिइन जरुरी छ र यो चाडलाई गरिब-धनी सबैको पहुँचमा आउने गरि मनाइन जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ, स्वास्थ्यलाई विशेष ख्याल गर्न जरुरी छ, धेरै चिल्लो पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनको अधिक्तम सेवनले थप बिरामी गराउन सक्दछ तसर्थ दर खाने क्रममा यी कुराहरुप्रति धेरै ख्याल गर्न जरुरी छ ।

निराहार तथा निर्जला रही तीज मनाउनाले फल प्राप्त गरिन्छ भन्ने धारणा सत्य हैन, अविवाहीताकालागि असल पति र विवाहिताको पति अनि परिवारको स्वास्थ्य एकदिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एकअर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्नसक्छ । यस दिन पुरुषहरुको पनि उत्तिकै दायित्व छ, हाम्रा आमा, दिदी-बहिनी अनि पत्निहरुको हामीप्रतिको यो सहृदयताकालागि हामीले पनि जिम्मेवारी उठाउन जरुरी छ, आजको दिन वहाँहरुलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ ।

भोलीको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ किनभनें भोलीको व्रत केवल व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी सबैजना नारीहरु एकैठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मिठा मिठा परिकारहरु खाने चलन नै दर हो ।

दरको कुरा गर्दा पकवानहरुमा सामान्यतया ढकने, आलुदम, आलु-कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरु सेवन गर्ने चलन छ । अझ बिवाहित चेलीकालागि त दरको महत्व बास्तवमैं अगाढ स्नेहमयी हुन्छ । माईतीको निम्तोमा दर खान पुगेका चेलीहरु आजको दिन आमा, हजुर या भाउजुहरुको स्नेहमा लुटपुटिदैं उपरखुट्टि लगाएर घरको कुनै सुर्ता नराखि खाने, रमाउने चलन छ । तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरुकालागि भनेजस्तो राम्रो जीवनसाथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरु हुन् । दर खाने दिनका याद गर्दै माईत जान नपाएका चेलीहरुको वेदना पनि गहभरि आँशुसंगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।

यसपाला तीजमा यस्तै भयो आमा
अर्कोपाला तीजमा खोलाले नछेके


यस्ता कैयन भाकाहरु छन् जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिएको छ, शदियौंदेखि नेपाली समाजमा ।

यसपालाको बाढिपहिरोले धेरै चेलीका घरहरु अनि धेरैका माईतहरु बगाएको छ अनि संगसंगै तिनीहरुको सपना र आकांक्षाहरु पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरु पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यसबर्ष सबैतिर समान छैन्, यता नाचगान हुँदैगर्दा उता रुवावासी हुँदैछन्, यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दैगर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मिठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरु उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसंग मेल नखान सक्छन् । यस तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा थलोको निर्माण गरौं ।

तीज एउटा संस्कारमात्र नभई सभ्यता हो, हेर्नेले यसलाई नारीवादी चाडका रुपमा हेर्दछन तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भनें तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरुको साझा चौतारीका रुपमा तीजलाई लिन सकिन्छ ।

वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादि पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेलाभई नाचगान गर्दै रमाइलो गर्ने चलन रहि आएको छ ।

आज राति प्राय घरमा दर पाक्छ । विवाहित नारीहरु माइतमा गइ दर खाने गर्दछन् । भोलि बस्ने तीज व्रतको अघिल्लो दिन महिलाहरुले राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिने भएकाले त्यही शक्ति पाउन आज रात परेपछि दर खाने चलन छ ।

दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्‍याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ । त्यसैले दर खाँदा ध्यान पुर्‍याउनुपर्छ। 

धेरै नखाने
नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने खाद्य प्राविधिज्ञ मदन चापागाईं सुझाव दिन्छन् । 

स्वच्छ खाने 
मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।  

भारी नखाने 
दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य प्राविधिज्ञ चापागाइँ बताउँछन् । तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने उनी बताउँछन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् । 

पोषिलो खाने 
पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञ चापागाइँको सुझाव छ । शरीरका लागि ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा उनी सुझाउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ।

व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ ।  त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । 
दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ। 

गाउँ सहर डेस्क

तपाईँको मत