गाउँ सहर

अचाक्ली मूल्यवृद्धि, उपभोक्तामा चरम निराशा, सरकारले देखाएन तदारूकता

काठमाडाैं । सामान्य खर्च र आम्दानीले जीवन धान्नै धौं–धौं हुने अवस्था आएको छ । दिनानुदिन महङ्गाई बढ्दै गएको छ । खाद्यान्नदेखि हरेक बस्तुको मूल्य तिव्रगतिमा र अत्यधिक वृद्धि भएको छ । जनताका दैनिक आवश्यकता तथा जिविकाेपार्जनका लागि अत्यावश्यक पानी, चामल, दाल, तेल, तरकारी लगायतका बस्तुको पनि निरन्तर उच्च वृद्धिले गरिब, न्यून आय भएका तथा निम्न वर्गका जनतालाई छाक टार्नै गाह्राे भएको छ।

मूल्यवृद्धिले मध्यम वर्ग र निम्न वर्गीय परिवारका लागि ठूलो समस्या सिर्जना गरेको छ । पेट्रोल र डिजेलको मूल्यवृद्धिले सर्वसाधारणको अर्थतन्त्रमा ठूलो विपत्ति ल्याएको छ । सर्वसाधारणको तलब बढेको छैन तर दिनप्रतिदिन वस्तुको मूल्य बढिरहेको छ ।

यतिखेर बजारमा वस्तु र सेवाको चरम मूल्यवृद्धि भइरहेको छ । उत्पादक, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले अस्वाभाविकरूपमा मूल्यवृद्धि गर्दा उपभोक्ता मारमा परिरहेका छन् । दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, तेल, घीउ, चिनी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थलगायत सम्पूर्ण वस्तुमा चर्को मूल्यवृद्धि भइरहेको छ ।

गएकाे आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गएकाे आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो । गएकाे आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा सात दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो ।

अघिल्लो आवको तुलनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४ दशमलव ४२, मरमसलाको १२ दशमलव ५०, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव ७०, सुर्तीजन्य पदार्थको नौ दशमलव ८८ र दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव २३ प्रतिशत छ ।

साथै गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३ दशमलव ५०, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव १८, स्वास्थ्यको १० दशमलव ०१, शिक्षाको आठ दशमलव ७९ र घरायसी उपयोगका वस्तुको आठ दशमलव ६५ प्रतिशत छ ।

गएकाे आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति छ दशमलव ६२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष याे समूहको मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशत थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।

गएकाे आवमा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति आठ दशमलव ६२ प्रतिशत रहेको छ । अघिल्लो आव याे समूहको यस्तो मुद्रास्फीति छ दशमलव ८३ प्रतिशत थियो । गएकाे असार महिनामा मात्र गैरखाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ४८ प्रतिशत देखिएको छ । जबकि २०७९ असार महिनामा याे समूहको यस्तो मुद्रास्फीति नाै दशमलव ०३ प्रतिशत थियो ।

गएकाे आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाण्डाै उपत्यकामा सात दशमलव ५५, तराईमा आठ, पहाडमा सात दशमलव ५६ र हिमालमा सात दशमलव १२ प्रतिशत छ । अघिल्लो आव यस क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः पाँच दशमलव ७३, छ दशमलव ४१, छ दशमलव ८७ प्रतिशत र छ दशमलव ०७ प्रतिशत थियो ।

यसरी विपन्न वर्गले खपत गर्ने दैनिक उपभोग्य सामग्रीको मूल्य अनियन्त्रितरूपमा बढेर जीवनयापन नराम्ररी प्रभावित बनेको छ । बेलगाम बढेको मूल्यवृद्धिको मारमा विपन्न तथा निम्नमध्यम वर्गीय परिवार मात्रै होइन, शहरी क्षेत्रका मध्यम वर्गीय परिवारलाई यसले नराम्ररी पिरोलेको छ । तर सरकारले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने र नेपाली बजारलाई उपभोक्तामैत्री बनाउनेतर्फ कुनै चासो देखाउन सकेको छैन ।

हप्तैपिच्छे विनाकारण खाद्यान्नमा मूल्यवृद्धि हुनु र त्यसलाई नियन्त्रण गर्नुका सट्टा सरकार मूकदर्शक भएर बस्नुले आम उपभोक्तामा चरम निराशा छाएको छ । सामान्यतया मूल्य बढ्नुमा आर्थिक कारण जिम्मेवार हुन्छ । जस्तै उत्पादन घट्नु, बजारको माग अनुरूप आपूर्ति गर्न नसक्नु, कालोबजारी र व्यवसायीको बढी नाफा लिने प्रवृत्ति नै मूल कारण हो ।

गाउँ सहर डेस्क

तपाईँको मत