प्रत्येक नेपालीकाे टाउकाेमा ऋणको भार ७६,१७६, याे वर्ष नै २ खर्ब माथि थपियाे
- गाउँ सहर डेस्क
- ८ श्रावण सोमबार, २०८० | ०९:४६:०० मा प्रकाशित

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ) का अनुसार आर्थिक वर्ष २०७९/८० सम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस अवधिसम्म आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्र थियो ।
सार्वजनिक ऋणको पछिल्लो तथ्यांकअनुसार अब प्रतिव्यक्ति ऋणको भार ७६ हजार १७६ रुपैयाँ पुगेको छ । नेपालको २२ खर्ब २१ अर्ब रुपैयाँ सार्वजनिक ऋणलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जनाले भाग गर्दा सो ऋणभार देखिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो रकम नेपाल सरकारले यस वर्ष भुक्तानी गरेको ऋण घटाएर थपिएको खुद सार्वजनिक ऋण हो ।
१ वर्षको अवधिमा सरकारले ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । जसमध्ये २ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण हो । १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ बाह्य लिएको छ ।
एक वर्षमा सरकारले १ खर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ भने साँवा भुक्तानी गरेको छ । यस अवधिमा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ आन्तरिक ऋणको र ३४ अर्ब ६१ करोड रुपैयाँ बराबर बाह्य ऋणको साँवा भुक्तानी भएको छ । जसले गर्दा एक वर्षमा सवा २ खर्ब रुपैयाँ ऋण थपिएको हो ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा थप साढे ४ खर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । यस आवमा आन्तरिक ऋण २ खर्ब ४० अर्ब र बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ लिने लक्ष्य सरकारले बजेटमार्फत लिएको छ ।
यस वर्ष सरकारले विकास सहायतालाई राष्ट्रिय हित, आवश्यकता र प्राथमिकताको आधारमा उच्च प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गर्ने भनेको छ ।
विगत ५ वर्षकाे तथ्यांक हेर्ने हाे भने ऋणकाे दायरा निरन्तर उकालाे लागेकाे छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस