बहुरूपी बीपी
- गाउँ सहर डेस्क
- ६ श्रावण शनिबार, २०८० | १५:४२:०० मा प्रकाशित

काठमाडौं । बीपी अर्थात् विश्वेश्वरप्रसाद कोइरालाको कुरा गर्दा उनलाई नचिन्ने कोही छैन। कसैले राजनीतिज्ञको नामले चिन्लान् त कसैले साहित्यकार सम्झेलान्। उनी दुवै हुन्, जसरी सम्झे पनि पाइन्छ। तर म उनलाई साहित्यकारका रूपमा विशेष चिन्छु। बीपीको साहित्य लेखन असाध्यै रसिलो लाग्छ। नेपालको राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक, साहित्यिक, सांस्कृतिक प्रवृत्ति सबै क्षेत्रमा युगान्तकारी जागरणका प्रेरणास्पद व्यक्तित्व लाग्छन्। जननायक उनलाई कसैले पनि बिर्सन सक्दैन।
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज ४१औँ स्मृतिदिवस विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ । उनको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्, भैरहेका छन् ।
उनको व्यक्तित्वको अनेक पाटा र सन्दर्भ छन् । यसर्थ उनको व्यक्तित्वलाई कतै न कतैबाट मन पराउने सचेत जमात उल्लेख्य भएको कुरा उनका बारे हुने गरेका र भएका शोध सामग्रीले स्पष्ट पार्दछ । धेरैले भन्छन् कि वीपीको व्यक्तित्वबाट राजा महेन्द्र प्रभावित थिए । उनी वीपीलाई सम्मान पनि गर्थे तर एउटा राजाको अघिल्तिर वीपी प्रजा मात्रै हुन् भन्ने ‘इगो’को कारण महेन्द्रले वीपीलाई बन्दी बनाएर अहम्को तुष्टि लिए ।
नेपालभित्र मात्रै होइन, दक्षिण एशियामा नै वीपीको लोकप्रियताप्रति नेताहरू भयभित थिए, जसको कारण २०१७ को राजा महेन्द्र ‘कु’लाई परोक्ष प्रत्यक्ष अन्तराष्ट्रिय वैधानिकता मिलेको थियो । इन्दिरा गान्धीसमेत वीपीको राजनीतिक लोकप्रियताले आफूलाई हीनताबोध गर्थिन् भन्ने अध्येताहरूको निश्कर्ष छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।
भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।
क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।
विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भयो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।
बिपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए ।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवम् मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बीपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरेकाे छ ।
सङ्ग्रहालयमा बीपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस