दृष्‍टिकोण

के पुस्तान्तरणको पक्षमा मतदान गर्ने अवसर बन्ला त आगामी निर्वाचन ?

नेपाली राजनीतिक दलहरुमा सिद्धान्त हराएको अवस्था छ । नामका प्रजातन्त्रिक तथा नामका कम्युनिस्ट भएका कारण यो अवस्था आयो ।  कम्युनिस्टहरु बढि शाेषक तथा सामन्ती भए प्रजातन्त्रिक भनिने नेताहरुहरु अलोकतान्त्रिक चरित्रका भएका कारण यो अवस्था आएको हो । यहाँ न एमाले, माओवादीले कम्युनिस्टको चरित्र देखाएको छ, न त कांग्रेसले लोकतन्त्रको चरित्र देखायो । यहाँ कसैमा राजनीतिक सोच तथा संस्कार छैन । दलहरुसँग भएका विकास तथा समृद्धि एजेन्डाहरू पुराना भैसके । नेतृत्वमा पालैपालो आउँने दलहरुकै कारण देशमा संकट आएको, विदेशी चलखेल बढेको देश पिछडिएको हो, यसमा कुनैपनि दुइमत छैन ।

मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुसँग युवा नेताहरुको खडेरी लागेको छ जसकारण पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेको हो । विगतमा एमाले र माओवादीको गठबन्धनले नेकपा बनाए पनि आन्तरिक द्वन्द्व र शक्तिसंघर्षमै धेरै समय व्यतित् भयो । स्थायित्व र सुशासनका पक्षमा मतदान गरेका जनतालाई पूरै निराश तुल्याउने काम गरे । अदालतले नेकपालाई वैधता नदिएपछि माओवादी र एमाले पुनः छुट्टाछुट्टै दलको हैसियतमा फर्किए । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बन्न पुग्यो भने माओवादीका केही नेताहरू एमालेमै समाहित भए । एमाले र माओवादी कमजोर भएपछि कांग्रेसले सत्ताको नेतृत्व गरिदिनुपर्ने अवस्था उत्पन्न भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन माओवादी नेता प्रचण्ड र एकीकृत समाजवादी नेता माधव नेपालले बारम्बार आग्रह गर्नुपर्‍यो ।

कांग्रेसले माओवादी केन्द्र लगायतका अन्य साना राजनीतिक दलहरूसँग गठबन्दन गरी एमालेलाई एक्ल्याउने र बहुमतसहितको ठूलो दल बन्ने बाटोमा छ । गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पाँचदलीय सत्तारूढ गठबन्धनले राम्रै सफलता प्राप्त गरेकाले वैचारिक र सैद्धान्तिक भिन्नताका बावजुद गठबन्धन अघि बढाउन सत्तारूढ दलहरू तयार भएका हुन् । जन सचेतता हुन समय अवश्य नै समय लाग्छ । हाल नेपालमा दलहरु जेष्ठ नागरिकको नेतृत्वमा छ र देशको नेतृत्व पनि तिनैको हातमा छ  । अबको समय हो पुस्तान्तरणको ।  निर्वाचन एउटा अवसर पनि युवालाई छानेर पुस्तान्तरणको पक्षमा मतदान गर्ने ।

दलहरु पुस्तान्तरणको बाटोमा हिँडेको भए जनताको आशा अलिकति भएपनि रहन्थ्यो होला । यो नेपालको राजनीतिक खराब पक्ष हो किनभने यहाँ सबै व्यवस्थालाई सवल बनाउने सोच कसैमा पनि छैन । युवाहरु राजनीतिमा आए पनि पुस्तान्तरणको कुरोलाई पार्टीहरुले जोड दिएका छैनन् । राजनीति दलप्रति मानिसहरुको घृणा बढे पनि भोट हाल्न दलका उम्मेदवारभन्दा अरु विकल्प पाउँदैनन् । बालेन शाह र हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारको काम गराई हेर्ने हो भने नेपालको राजनीतिमा पुस्तान्तरणको आवश्यकता देखिन्छ र निर्वाचनले नै पुस्तान्तरणको बाटो खोल्छ  ।

संजीब ढुंगाना

तपाईँको मत