ब्लग

पूराना स्थापित केहि नेताहरूलाई संसदकाे ढाेका बन्द

चुनावको हालसम्मकाे नतिजाले नयाँ अनुहारहरु अग्नीपरीक्षामा होमिएका छन भने धेरै पूराना अनुहारलाई मतदाताले राम्राे पाठ पढाएका छन् । वर्षौंदेखि धेरै पटक मन्त्री भइसकेका थुप्रै नेताहरुका लागि संसदको यात्रा रोकिएको छ । धेरै स्थानको मत परिणाम आइसकेको छ भने बाँकी स्थानमा मत गणना जारी छ । मतगणनामा दलमा स्थापित धेरै अनुहारहरु आगामी पाँच वर्षसम्म संसद बाहिरै रहनेछन् । दलमा महत्वपूर्ण भूमिका पाएकाहरुका लागि जनमतले पत्याउन सकेन । अहिलेसम्मको मतपरिणामले केन्द्रीय राजनीतिमा वर्चस्व जमाएका उल्लेख्य नेताहरुहरुलाई पाखा लगाइदिएको छ ।

झापा ३ बाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला यसपटकपनि संसद बन्न पाएनन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भए । सुजता काेइराला हारिन् । वर्तमान गृहमन्त्रीले पनि जित्न सकेनन् । साेही पार्टीबाट उमाकान्त चाैधरी, डिना उपाध्याय र भिष्म आङदेम्बेले चुनाव हारे । एमाले नेता अग्नी खरेलले चुनाव जित्न सकेनन् ।यस्तै काठमाडौं क्षेत्र नम्बर ५ बाट एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मतदाताबाट अस्वीकृत भएका छन् । ०७४ सालमा सोही क्षेत्रबाट अभूतपूर्व मत ल्याएर निर्वाचित पोखरेलका लागि निर्वाचन परिणाम अप्रत्याशित भएको छ । यसैगरी एमाले महासचिव शंकर पोखरेल आफ्नै माटो र मुटु जोडिएको दाङमा पराजित भए । अघिल्लो संसदमा प्रमुख सचेतक र सचेतकको भूमिकामा रहेका एमालेका विशाल भट्टराईका लागि यस पटक संसद यात्रा कठिन बन्यो । एमालेभित्र छुट्टै खालको प्रभुत्व जमाउन सफल महेश बस्नेतलाई यसपटक भक्तपुरे मतदाताले विश्राम दिएका छन् । उता मकवानपुरमा विराेध खतिवडाले हार खाए ।

नेताको छवि बनाएका लालबाबु पण्डित पनि एमाले सांसदको रुपमा गणनामा परेनन् उनी काँग्रेस नेता डा. शेखर कोइरालासँग पराजित हुनु भयो । सफल अर्थमन्त्रीको पगरी गुथेका सुरेन्द्र पाण्डेका लागि पनि संसद यात्रामा यस पटक ब्रेक लाग्यो । कोमल ओलीको प्रत्यक्ष सांसद बन्ने सपना पनि चकनाचुर भयो । दाङका जनाताले संसदमा पठाउन पत्याएनन् । ओलीको सट्टा काँग्रेसका दीपक गिरीलाई दंगाली जनताले संसद पठाएका छन् । त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि यसपटक संसद छिर्न सकेनन् । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई भोजपुरे मतदाताले पाँच वर्षका लागि मतमार्फत छुट्टी दिएका छन् ।

कम्युनिष्ट आन्दोलनमा सम्मानित इतिहास रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालका लागि यो चुनाव महंगो भएको छ । मतगणनामा खनाल एमालेका उम्मेदवार भन्दा पछि परेका छन् । बाबु सूर्यबहादुर थापाको विरासत त्यागेर कांग्रेसको राजनीतिमा समाहित सुनील थापाका लागि यो चुनाव फापेन उनि धनकुटा बाट संसद छिर्न सकेनन् । सांसदको जनादेश पाउन उपसभामुख त्यागेर चुनावी मैदानमा पुगेकी पुष्पा भुसाललाई अर्घाखाँचीका मतदाताले रुचाएनन् । विश्वविद्यालयमा पढाउँदा पढाउँदै राजनीतिमा हेलिएका भीमसेनदास प्रधानको तेस्रोपटक सांसद बन्ने दाउ पूरा भएन । मधेशी जनताको मठाधीश भएर वर्षौंदेखि राज्यका महत्वपूर्ण पदमा हालीमुहाली गर्दै आएका मधेशी नेताहरुका लागि यो चुनाव दुर्भाग्यपूर्ण सावित भएको छ । उपेन्द्र यादवका लागि यो चुनाव महँगो सावित भएको छ ।

माओवादी नेतृत्वका लागि पनि यो चुनाव उर्जाशील रहेन । महासचिव देव गुरुङ, सचिव पम्फा भुसाल, ओनसरी घर्तीको हैसियत पूर्व सांसदमा अनुवाद भएको छ । सूर्य चुनाव चिन्ह लिएर उठेका कमल थापाकाे सांसद बन्ने रहर मकवानपुरबासी पूरा गरिदिएनन् ।

संजीब ढुंगाना

तपाईँको मत