स्वास्थ्य

के हो चिनीरोग ? जीवनशैलीमा ध्यान दिए सामान्य नत्र खतरनाक !

काठमाडाैं । रगतमा चिनी (सुगर) को मात्रा धेरै हुनुलाई मधुमेह अर्थात् डाइबिटिज भनिन्छ।  रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग पनि भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।

परिवर्तनशील जीवनशैलीका कारण बढी मात्रमा सहरी क्षेत्रका नागरिक यो रोगबाट प्रताडित छन् । मधुमेहकै कारण शरीरको महत्त्वपूर्ण अङ्ग मुटु, मिर्गौला, आँखा, खुट्टा र नशामा विभिन्न किसिमका समस्याहरु बोकेर अन्तिम अवस्थामा मात्रै धेरै अस्पताल धाउने गरेका छन्

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा चिकित्सक पुकार श्रेष्ठका अनुसार शरिरमा चिनीको मात्रा आवश्यक मानिन्छ । तर आवश्यकभन्दा बढी भएमा मुटु, मिर्गौला र आँखालाई यसले असर पु¥याउँछ ।
 
चिकित्सकका अनुसार चिनी रोग दुई प्रकारका हुन्छन् । छिन् छिनमा पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने चिनीरोगका लक्षण हुन् । 

नेपालमा कति चिनीरोगी रहेका छन् भनेर हालसम्म कुनै अध्ययन भएको छैन । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले कूल जनसङ्ख्याको चार प्रतिशतमा चिनीरोगको समस्या हुनसक्ने प्रक्षेपण गरेको छ । तीमध्ये आधा पनि उपचारको पहुँचमा आएका छैनन् । 

“चिनीरोग दुई प्रकारका हुन्छन् । टाइप एक र टाइप दुई । टाइप एक विशेष गरी २० वर्षमुनि र टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने गर्दछ ।” चिकित्सक श्रेष्ठ भन्छन् । यस वर्षको चिनीरोगको नारा ‘चिनीरोग र परिवार’ रहेको छ । चिनी रोगबाट बच्न विशेषगरी खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । 

मधुमेह रोग विशेषज्ञ ज्योति भट्टराईले नेपालमा कम उमेरमै मधुमेह हुने बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउँछिन्।

उनका अनुसार खानेकुरामा सानै बेलादेखि ध्यान नदिँदा र पर्याप्त व्यायाम नगर्दा पनि यो रोग लाग्न सक्ने जोखिम बढ्न सक्छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा मधुमेहका बिरामीको सङ्ख्या ९.१ प्रतिशत देखिएको भन्दै यसबारे सचेत रहनुपर्ने अवस्था आइसकेको उनले बताइन्। 'भारतमा पनि ८.४ प्रतिशत जनसङ्ख्यामा मधुमेह देखिएको छ, अमेरिकामा पनि लगभग त्यस्तै छ। हाम्रोमा चाहिँ बढी हुनु भनेको आफैँमा ठूलो समस्या हो,' डाक्टर भट्टराईले भनिन्।

पछिल्लो समय कम उमेरमै मधुमेहका बिरामीको सङ्ख्या धेरै हुन थालेकाले त्यसबाट जोगिनको लागि बालबालिकालाई 'जङ्क फूड' को साटो प्राकृतिक कुरा खान दिने र मोबाइल तथा कम्प्युटर कम चलाउन दिनुपर्ने बताइन्।

त्यसबाहेक बच्चालाई धेरै खानेकुरा कोच्याएर खुवाउने गरिएकाले पनि पछि गएर मधुमेहको जोखिम रहने उनले बताइन्।

उनी भन्छिन्, 'तीस वर्षपछि अनिवार्य वर्षमा एक पटक लक्षण नै नभए पनि डाक्टरलाई देखाउनुपर्छ। त्यसबाहेक मुख सुक्खा भएमा, आँखा धमिलो भएमा, वजन घट्दै गएमा, पिसाब लागिरहने समस्या भएमा, घाउ निको नभएमा उपचार गर्न जानुपर्छ,' डाक्टर भट्टराईले भनिन्।

बेलैमा उपचार नभए मधुमेहका कारण आँखा नदेख्ने, मिर्गौला रोग, मुटुरोग लाग्ने, पक्षाघात हुने, खुट्टा काट्नुपर्ने जस्ता जटिलताहरू आउने उनले बताइन्।

डा. जया प्रधानका अनुसार हर्मोनको कार्यमा गडबडी हुनाले, औषधिका कारण र प्यान्क्रियाज ग्रन्थिमा सङ्क्रमण हुँदा पनि मधुमेह हुनसक्छ ।
यस्ता व्यक्तिलाई मुधुमेह हुने बढी सम्भावना हुन्छ । परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा । शरीरको तौल बढी भएमा वा बी.एम.आई. (शरीरको तौल, केजी, उचाइ (मिटर) २) २२.९  भन्दा कम बढी भएमा ।

त्यसैगरि कम्मरको गोलाई पुरुषको ९०. से.मि (३५.५) र महिलाको ८० से.मि (३१.५) भन्दा बढी भएमा । निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा । गर्भवती अवस्थामा मधुमेह भएमा । रगतमा चिल्लोको मात्रा बढी भएमा । उच्च रक्तचाप भएमा । मानसिक तनाव एवम् चिन्ता भएका व्यक्तिहरूलाई मधुमेहको रोग लाग्ने सम्भावन बढी हुने डाइबिटिज नेपालकी कोषाध्यक्ष जया प्रधानले बताइन् ।

लक्षण तथा चिन्हहरु :

  • पिसाब बढी लाग्ने (एक रातमा तीन वा सोभन्दा बढी पटक) ।
  • तिर्खा बढी लाग्ने ।
  • भोक धेरै लाग्ने ।
  • तौल घट्ने (टाईप वान डाईबेटिज)
  • गुप्ताङ्ग चिलाउने ।
  • केटाकेटीमा रातमा बिस्तारामा बढी पिसाब गर्ने ।
  • थकाई धेरै लाग्ने ।
  • घाउ ढिलो निको हुने ।
  • आाखा धमिलो देख्ने ।
  • हातखुट्टा झम्झमाउने ।
  • रगतमा केटोन बडीज अत्याधिक बढेर रोगी बेहोस हुने र समयमा उपचार नभए रोगीको ज्यान समेत जान सक्छ । (टाईप वान डाईबेटिज)

उपचार तथा रोकथाम :

  • खानपान : मधुमेहका रोगीले चिकित्सकको सल्लाहअनुसार दिनमा ६ पटक (३ चोटी खाना र ३ चोटी स्न्याक्स) लिनुपर्छ । यसरी खाँदा हरेकचोटि मात्रा मिलाएर खानुपर्छ ।
  • व्यायाम :  मधुमेहका रोगीले हरेक बिहान कम्तीमा ३० मिनेट ब्यायाम वा मर्निङ्गग वाक गर्नुपर्छ ।
  • चिकित्सकको सल्लाहअनुसार औषधी चक्की वा इन्सुलिन लिनुपर्छ ।
  • बशांणुगत मधुमेह छ भने सन्तानहरुलाई हुने सम्भावना बढी हुने हुादा जीवनशैलीमा विशेष ध्यान दिनुका साथै प्रत्येक वर्ष ग्लूकोजको जााच गर्नुपर्छ ।
  • मधुमेहका रोगीले चोटपटक र घाउबाट बच्नुपर्छ किनभने यी रोगीहरुमा घाउ ढिलो निको हुन्छ ।
  • खोप: इनफ्लूएन्जा भ्याकसिन, न्युमोकोकल र हेपाटाईटिस भ्याकसिनसबै मधुमेहका बिरामीहरुमा दिनुपर्छ ।
  • मदिरा, सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।
  • मानसिक रुपमा स्वस्थ रहनुपर्छ जसको लागि ध्यान गर्न सकिन्छ ।

संजीब ढुंगाना

तपाईँको मत