खेल

नेपालमा हुने १३ औं सागमा खेल्ने खेल र खेलाडीकाे टुङ्गाे, भारत र पाकिस्तानले क्रिकेट नखेल्ने


काठमाडौं । नेपालमा मंसिर १५ देखि २४ गतेसम्म हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ३ हजार २ सय ९ खेलाडी सहभागी हुने भएका छन्।

नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको संख्या अनुसार सबै भन्दा धेरै आयोजक नेपालका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

तर सागमा भारत र पाकिस्तानले क्रिकेट नखेल्ने भएका छन् । नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।

विश्व क्रिकेटका दुई ठुला चीरप्रतिद्वन्दी राष्ट्र साग क्रिकेटमा सहभागी नहुने भएका हुन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै फुटबल स्पर्धामा बंगलादेशले नखेल्ने भएको छ । बंगलादेश बाहेकका राष्ट्रले फुटबल स्पर्धामा सहभागीता जनाउन टिम दर्ता गराएका छन् ।

ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार आयोजक नेपालले मात्र सम्पुर्ण २७ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

मार्सल आर्ट नपाएपछि अफगानिस्तान नखेल्ने भएकाे छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि अफगानिस्तानले पनि सहभागिताका लागि पहल गरिरहेको जनाएको थियो। तर, मार्सल आर्ट बिधामा नेपालले अफगानिस्तानलाई सहभागी हुन नदिने भएपछि अफगानिस्तान कुनै पनि खेलमा सहभागी नहुने भएको छ।

एसियन ओलम्पिक काउन्सिलले समेत अफगानिस्तानलाई सागमा सहभागी गराउन दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई आग्रह गरेको थियो ।

 

संजीब ढुंगाना

तपाईँको मत