गाउँ सहर

अब नेपालको क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर

काठमाडाैं । संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएको छ । यो नक्सा पारित भएसँगै अब नेपालको क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर भएको छ ।

भारतद्धारा अतिक्रमित भू-भागको क्षेत्रफल ३३५ वर्गकिलाेमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

२०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकि दुई सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सबै भू-भाग नेपालको हो ।

गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ ।  यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्गकिमि क्षेत्र बढेको देखिन्छ । नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्र एक लाख ४७ हजार एक सय ८१ थियो । 

नापी विभागका पूर्वमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिलो प्रकाशन गरेको १ः १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्रसमेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिब एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि देखिन्छ ।  जुन हालको क्षेत्रफलभन्दा ७ सात सय ६९ वर्गकिमि बढी हुन्छ ।  

शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ । प्रतिनिधिसभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संविधानको दोस्राे संशोधन विधेयक २०७७ पारित गरेको हो ।  प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्‍ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

सरकारले यसअघि जेठ ७ गते भारतले हडपेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको थियो। उक्त नयाँ नक्सलाई नेपालको निशान छापममा समावेश गर्न सरकारले संशोधन प्रस्ताव अघि बढाएको थियो ।

सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो । संसदमा उपस्थित २५८ जना सांसदले नै संशोधनको पक्षमा मतदान गरेपछि दुईतिहाइ बहुमतका साथ विधेयक पारित भएको हो ।

बैठकको सुरुमा नै समाजवादी पार्टीकी सांसद सरिता गिरिले बैठक बहिष्कार गरि बाहिरिएकी थिइन् । नेपालको नयाँ नक्साविरुद्ध जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी एकजना मात्रै उभिएकी थिइन् ।

यसअघि भारतले गत नोभेम्वरमा नेपालको ठूलो क्षेत्रफल समेटरे नक्सा जारी गरेको थियो । पछिल्लो पटक भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र नेपालको लिपुलेक जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको थियो । भारतले नेपाली भूमि हुँदै मानसरोवर जान सडक उद्घाटन गरेपछि दुई देशबीच तनाव बढेको थियो । तर भारतले नेपालले जारी गरेको नयाँ नक्सालाई नस्वीकार्ने जनाउँदै वार्ताका लागि भने इच्छुक रहेको उल्लेख गरेको थियो ।  यही तनावकाबीच नेपालले गरेको वार्ता प्रस्ताव भारतले अस्वीकार गरेपछि नयाँ नक्सा जारी गरेर संविधान संशोधन नै गरिएको हो ।

संविधान संशोधनका पक्षमा सत्ता र विपक्षी पनि एकै ठाउँमा उभिएका छन्। मधेसवादी दलहरु राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी संसदीय दलले नयाँ नक्साको पक्षमा उभिन सांसदहरुलाई ह्विप नै जारी गरेका थिए ।
 

संजीब ढुंगाना

तपाईँको मत