दृष्‍टिकोण

मतदाताकाे प्रश्न : मंसिर ४ गते भोट किन हाल्ने ?

जनताका आधारभूत सेवा समेत विगतका वर्षहरूमा प्रदान नगर्ने र चुनावकाे मुखमा विकासमूलक र आकर्षक उम्मेदवारकाे योजनामा कसकाे विश्वास हुन्छ । अतः मंसिर ४ गते भोट किन हाल्ने भन्ने प्रश्न मतदातामा छ ।

मतदातामा निराशा छ । नेतृत्वले जनता खुसी छैनन् भन्ने नबुझ्नुले पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेको छ । हाल दलहरुमा सिद्धान्त नभएको अवस्था छ । नामका प्रजातन्त्रिक तथा नामका कम्युनिस्ट भएका कारण यो अवस्था आयो ।  कम्युनिस्टहरु बढि शोशक तथा सामन्ती भए प्रजातन्त्रिक भनिने नेताहहरु अलोकतान्त्रिक चरित्रका भएका कारण यो अवस्था आएको हो ।

ग्रामीण भेगमा चुनाव जित्ने आधार भनेको गरिब, विपन्न समुदाय हो । अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीले मतदाताले यस पटक उम्मेदवारका योजना र मुद्दालाई त्यति महत्व दिएका छैनन्, भाेट हाल्ने कि नहाल्ने भन्ने अन्याेलताका छन् मतदाता ।

यो नेपालको राजनीतिक प्रणालीका लागि दुर्भाग्यको कुरो हो किनभने यहाँ व्यवस्थालाई सवल बनाउने सोच कसैमा पनि छैन । नेतृत्वमा सत्तामाेहका कारण पनि यस्तो अवस्था आएको हो । दलसँग विकास तथा समृद्धिका एजेन्डाहरू छैनन्  ।

विगतमा एमाले र माओवादीको गठबन्धनले नेकपा बनाए पनि आन्तरिक द्वन्द्व र शक्तिसंघर्षमै धेरै समय व्यतीत भयो । स्थायित्व र सुशासनका पक्षमा मतदान गरेका जनतालाई पूरै निराश तुल्याउने काम गरे । अदालतले नेकपालाई वैधता नदिएपछि माओवादी र एमाले पुनः छुट्टाछुट्टै दलको हैसियतमा फर्किए । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बन्न पुग्यो भने माओवादीका केही नेताहरू एमालेमै समाहित भए । एमाले र माओवादी कमजोर भएपछि कांग्रेसले सत्ताको नेतृत्व गरिदिनुपर्ने अवस्था उत्पन्न भयो । कांग्रेसले माओवादी केन्द्र लगायतका अन्य साना राजनीतिक दलहरूसँग गठबन्दन गरी पुरानै राजनीतिकाे खेलमा हाेमिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पाँचदलीय सत्तारूढ गठबन्धनले राम्रै सफलता प्राप्त गरेकाले वैचारिक र सैद्धान्तिक भिन्नताका बावजुद चुनावी गठबन्धन अघि बढाउन सत्तारूढ दलहरू तयार भएका हुन् ।

गाउँघरमा यतिबेला विभिन्न राजनीतिक दलका उम्मेदवार मत माग्न दिनहुँजसो पुगेकै छन् । निर्वाचनमा उमेदवारले केही गर्छन् भन्ने आशामा मतदान हुन्छ र  विकासमा छिट्टै फड्को मार्ने महत्वकाङ्क्षा बोकेर मत खसालिन्छ तर नेतृत्वमा पुगेका व्यक्ति सत्ताको मोहमा अलमलिने, आफ्ना कार्य क्षेत्रमा नफर्कने, विकासमा चासो नदिने प्रवृत्तिप्रति अहिले मतदाताले खुलेर विरोध गरिरहेका छन् । मतदातामाझ ठूला सपना र योजना बाँड्नुभन्दा पनि आधारभूत समस्याको निकास गर्ने नेतृत्व चाहिएको छ । गरिब, विपन्न नागरिकले सामान्य औषद्योपचार गर्न नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ यस्ता समस्या समाधान गर्ने नेतृत्व नै आजको आवश्यकता हो ।

जनताले विकास र समृद्धि दिलाउने योजनाभएका उम्मेदवारलाई पछ्याउँदै अहिलेसम्म मतदान गरे, तर गाउँको विकास र समृद्धि दलका नारामा मात्रै सीमित रह्यो, जनताले महसुस गर्नै पाएनन् । खानेपानी, बाटो, औषधोपचारकै समस्या अहिले पनि जनताका मुख्य समस्या नै हुन्  तर समस्या समाधान गर्न नसक्ने उमेद्वारलाई मंसिर ४ गते भोट किन हाल्ने भन्ने भन्छन् जनता ।

संजीब ढुंगाना

तपाईँको मत