गाउँ सहर

नेपालकाे तरल राजनीतिमा चीनकाे 'ऐँठन', भारतकाे 'नाेट'

गत आइतबार काठमाडौं ओर्लेकाे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय टोली बुधबार स्वदेश फर्किएको छ । एकता प्रक्रियाले पूर्णता नपाउँदै विभाजनमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटलाई पुनः एकतामा बदल्ने मिसनका साथ आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल सो ‘मिशन’ सफलता हात पार्न नसकी फर्किएको छ ।

काठमाडौं ओर्लेलगत्तै चिनियाँ टोलीले राजनीतिक भेटघाट सुरू गरेको थियो ।  सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको टोलीले सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो भने नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड-नेपाल)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै आन्तरिक किचलोले औपचारिक विभाजन मात्र हुन बाँकी रहेकाे बेला चिनियाँ राष्ट्रपति सी जितपिङको एकता सन्देश लिएर टोली आएको थियो । तर शान्त कूटनीति गर्दै आएको चीनले यसपटक खुल्ला रुपमा नेकपा र नेपालको राजनीतिमा हात हालेपनि मिलाउन सकेकाे देखिएन । 

त्यसाे त चीनलाई नेकपाकाे भन्दा पनि सुरक्षा चासाे प्राथमिकता हाे भनेर नकार्न सकिन्न । तथापी नेपालकाे राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका सन्देश सत्तारूढ र विपक्षी दलका नेताहरूलाई दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिएका बेला त्यसलाई उनीहरुले खण्डन गर्दै नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदान जस्ता विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको स्पष्ट पारेको छ । भन्नलाई जे भनेपनि भेटघाट गरेको टोलीले नेपालभित्र देखिएको राजनीतिक गतिरोध र चीनको सुरक्षा चासोको बारेमा कुराकानी गरेको थियो । सभामुख अग्नीप्रसाद सापकोटासँग पनि संसद सहमतिमा चलाउन सकिने विकल्पका बारेमा टोलीले जिज्ञासा राखेको थियो ।

यता संसद विघटनपछिको राजनीतिक परिदृश्य बुझ्न नेपालको उत्तरी छिमेकी चीनबाट एक प्रतिनिधिमण्डल नेपालमै आएर उच्चस्तरीय भेटघाटमा सक्रिय रहेका बेला दक्षिणी छिमेकी भारतले यो विषयलाई निकै चासोका साथ हेरेको छ । भारतले हाल विकास भएको नेपालको राजनीतिक घटनाक्रमलाई उसको आन्तरिक मामिलाको रूपमा 'नोट' गरेको छ । 

नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले बुधबार भारतीय अखबार द ट्रिब्युनमा एउटा लेखमार्फत दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको उल्लेख गरेका छन् । शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेपनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनले बताएका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् । नेपालकाे राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन् ।  ‘काठमाडौंमा अमेरिका र चीनको विचमा भइरहेको पावर प्लेमा नयाँदिल्लीचाहिँ साइड सो हुने खतरासमेत देखिएको छ’ भनेका छन् । एमसीसीको विरोध गर्नेहरु चीनको इसारामा चलेको बताइएको छ,’ शरणले लेखेका छन् ।

त्यसाे त चिनियाँ टोलीले नेकपाका दुवै पक्ष (ओली र दाहाल–नेपाल समूह) लाई दुवैलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको नेकपाकै नेताहरूले बताएका छन् ।यसबाट पनि यतिबेलाई नेपालको राजनीतिमा अस्थिरता सिर्जना हुने र राजनीतिक परिस्थिति कता जान्छ भन्ने ऐँठन भएकाे छ । जुन चासाे नाजायज पनि हाेइन् । एउटा असल छिमेकीका हिसाबले नेपालको लोकतान्त्रिक उपलब्धि र राजनीतिक स्थिरतामा खलल आउन नपाओस् भन्ने कुरामै उहाँहरूको चिन्ता हुनु स्वभाविकै मान्न सकिन्छ ।

चिनियाँ टोलीको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउन केन्द्रित भएको तर कुनै पनि हस्तक्षेपका लागि नभएको दाबी चीनले गरेको छ । बेइजिङमा सोमबार भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनले काठमाडौं भ्रमण मित्रता तथा सहकार्यका लागि विचार–विमर्श गर्न भएको बताएका थिए । नेपालस्थित चिनियाँ दूतावासले पनि चिनियाँ कम्युनिस्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त नअपनाउने दाबी गरेको छ ।

नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई भारतले प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा प्रतिनिधि संसद् विघटनपछि देखिएकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई भारतले 'नाेट' गरेकाे बताए ।

उनले भने, 'नेपालमा भएकाे पछिल्लाे राजनीतिक घटनाक्रममा हामीले ध्यान दिएका छाैँ । याे नेपालकाे आन्तरिक मामिला हाे, नेपालले यसबारेमा लाेकतान्त्रिक प्रक्रियाअनुसार फैसला गराेस् भन्ने भारत चाहन्छ ।'

मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भारतले सधैँ नेपाल र नेपाली नागरिकका बारेमा राम्राे साेच्ने बताए । 'नेपालका नागरिक शान्ति, समृद्धि र विकासकाे बाटाेमा अघि बढून् भन्नका लागि भारतले एक छिमेकीका रूपमा नेपालकाे समर्थन गर्नेछ ।'

चीनले चार सदस्यीय टोली नेपाल पठाएर नेपालकाे विकसित राजनीतिप्रति खुलेर देखाएकाे चासाे र भारतले याे नेपालकाे आन्तरिक मामिला हाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई भारतले 'नाेट' गरेर बसेका छाैँ भन्ने कुरालाई तत्कालका लागि सामान्य लागेपनि यस पछाडीका भित्री पर्दा भए बिस्तारै खुल्दै जालान् । जे भएपनि नेपालका दुई छिमेकी मुलुकले चासाे र चिन्ता अभिव्यक्त गर्नु अस्वभाविक भने हाेइन तर हस्तक्षेप भने अपाच्य छ । 

गाउँ सहर डेस्क

तपाईँको मत