गाउँ सहर

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

  • १ भदौ शुक्रबार, २०८० | १०:०८:०० मा प्रकाशित

काठमाडौं । सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर विभागले संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो ।

प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

तपाईँको मत